बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

चैत्र २७, २०७६

होम कार्की

काठमाडौँ — बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ ।

मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको देखिएको हो । राजदूत पदम सुन्दासले केही समय अगाडि सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताए । 

यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो । ३ जना भने अन्य क्याम्पमा बस्ने नेपाली थिए । राजदूत सुन्दासका अनुसार उनीहरूको स्वास्थ्य अवस्था स्थिर छ  । 

बुधबारसम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । संक्रमित ३ सय ४९ जनाको उपचार जारी छ । ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ४ सय ६७ जनालाई निको भइसकेको छ । 

दूतावासले ७ अप्रिलदेखि डिसेम्बर ३१ सम्म अवैधानिक कामदारलाई स्वदेश फिर्नका लागि आममाफी दिएको जनाएको छ ।

कोरोना भाइरस

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully