जेरुसेलम — इजरायलले कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ । समाचार संस्था रोयटर्सका अनुसार इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको हो ।
प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आदेशअनुरुप इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिन र उपचारका बारेमा अनुसन्धान थालेको थियो । मुलुकमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि हुनुपूर्व नै प्रधानमन्त्री नेतान्याहुले आईआईबीआरलाई भ्याक्सिन र औषधिबारे अनुसन्धान गर्न निर्देशन दिएका थिए । त्यही निर्देशनअनुसार नै इजरायलको नेस जिओनामा रहेको प्रयोगशालाले भ्याक्सिनको निर्माण र परीक्षण सुरु गरेको हो ।
प्रधानमन्त्री बेन्यामिनको कार्यालयमार्फत जारी गरिएको वक्तव्यमा आईआईबीआरका निर्देशक श्मुएल शापिराले भ्याक्सिनको निर्माणमा र परीक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको र छिट्टै नै जनावरमा परीक्षण गरिने जानकारी दिएका छन् ।
रोयटर्सका अनुसार आईआईबीआरले मुसा जातिको जनावरमा भ्याक्सिनको परीक्षण सुरु गरिसकेको छ । तर मुसा जातिको कुन जनावरमा परीक्षण सुरु गरिएको हो भन्नेबारे भने आईआईबीआरले केही जानकारी दिएको छैन ।
विदेशी सञ्चारमाध्यमहरुका अनुसार आईआईबीआर जैविक र रासायनिक हतियारमा निर्माणमा संलग्न रहेको छ । इजरायले भने यसबारेमा खण्डन र स्वीकार केही गरेको छैन । मार्च महिनाको दोस्रो हप्तामै इजरायली सञ्चारमाध्यम हाअरेत्जले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा इजरायलले ब्रेकथ्रू गरेको समाचार प्रकाशित गरेको थियो । तर त्यतिबेला भने आईआईबीआरले त्यो समाचारको खण्डन गरेको थियो । त्यतिबेला इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलता हात नपारेको बताएको थियो । साथै आईआईबीआरले आफ्नै कार्यतालिकाअनुसार चल्ने र कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउन समय लाग्ने बताएको थियो ।
गत हप्ता भने आईआईबीआरका आविस्कार अधिकारी इरान जाभीले कोरोना भाइरस संक्रमणको उपचारका बारेमा इन्स्टिच्युटले तीन समूहमा काम गरिरहेको बताएका थिए । त्यसमा एउटा समूह कोरोना भाइरसको भ्याक्सिन निर्माण र रोगको कारक पत्ता लगाउन तथा अरु समूहले उपचार पद्धतिका बारेमा अनुसन्धान गरिरहेको उनले जानकारी दिएका थिए । साथै जाभीले कोरोना भाइरसको भ्याक्सिनको परीक्षण जनावरमा गर्नु निकै चुनौतीपूर्ण कुरा भएको बताएका थिए । विश्वव्यापी महामारी रुप लिएको कोरोना भाइरसको असर जनावरमा नदेखिएको उल्लेख गर्दै उनले यसको परीक्षण चुनौतीपूर्ण भएको बताएका थिए । साथै इजरायलले आफूले निर्माण गरेको भ्याक्सिन मानिसमा परीक्षण गर्न भने समय लाग्ने बताएको छ ।
गत हप्ता विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्ध अहिले कम्तीमा पनि २० वटा भ्याक्सिनको निर्मण भइरहेको बताएको थियो । कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक मार्च १६ मा मानिसमा परीक्षण गरिएको हो ।
ह्वाइट हाउसका चिकित्सा सल्लाहकार तथा अमेरिकाका सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले कुनै पनि भ्याक्सिन औपचारिक रुपमा प्रयोगमा आउन १२ देखि १८ महिना लाग्ने बताएका थिए ।
इजरायलमा बुधबार दिउँसोसम्म ५ हजार ५ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि इजरायलमा सर्वसाधारणको आवतजावतमा कडाइ र धेरै ठाउँमा लकडाउन गरिएको छ ।
कोरोना संक्रमितको सम्पर्कमा रहेका इजराली प्रधानमन्त्री नेतान्याहु र सेना प्रमुख अभिभ कोहाभी यसै हप्तादेखि सेल्फ आइसोलेसनमा बसेका थिए । प्रधानमन्त्री नेतान्याहुको सोमबार आएको स्वास्थ्य परीक्षण रिपोर्टमा नेगेटिभ देखिएको छ । सेनाप्रमुखको भने रिपोर्ट आउन बाँकी नै छ ।
