कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

गुणस्तर प्रमाणित नभई चीनबाट ल्याइएका कीट प्रयोगमा आउँदैनन् : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने कीट गुणस्तर निर्क्योल भएपछि मात्रै प्रयोगमा आउने जनाएको छ ।

गुणस्तर प्रमाणित नभई चीनबाट ल्याइएका कीट प्रयोगमा आउँदैनन् : स्वास्थ्य मन्त्रालय

सरकारले ल्याएका कीट विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको र बढी मूल्यमा किनिएको भन्दै सर्वत्र आलोचना भएपछि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारेमा स्पष्ट पारेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले कीटको गुणस्तर जाॅच्‍न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ला‍ई अनुरोध गरिएको बताए । कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सरकारले खरिद गरेको कीटको गुणस्तर जाॅच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्रै मात्र प्रयोगका लागि वितरण गरिने हो ।’


साथै बजारमा अवैध ढंगले र्‍यापिड कीट भित्र्‍याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भएको उल्लेख गर्दै नेपाल सरकारको अनुमति नलिइ त्यस्ता र्‍यापिड कीटको प्रयोग नगर्न निर्देशन दिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सरकारले चीनबाट खरिद गरी ल्याएका कीट चीन सरकारले प्रमाणित गरेको पनि डाक्टर कार्कीले दाबी गरेका छन् । नेपालमा महामारी फैलिइहाले पीसीआर मेसिनले मात्रै धान्न नसक्ने भएकाले र्‍पापिड टेस्टिङ कीट मगाइएको उनले बताए ।

यो पनि


केही दिनअघि मात्र सरकारले परीक्षणको दायरा बढाउन चीनबाट ७५ हजार थान र्‍यापिड किट खरिद गरी ल्याएको थियो । तर गुणस्तरहीन भएको भन्दै यसको सर्वत्र आलोचना भएको छ ।

स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति

प्रकाशित : चैत्र १९, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?