मेडिकल सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

चैत्र १९, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि चीनबाट मेडिकल सामग्री खरिद गरिएको भन्दै पौडेलले अख्तियारमा उजुरी दिएका हुन् । विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेका र भर पर्न नसकिने खालका र्‍यापिड टेस्टिङ किट बढी मूल्यमा किनिएको भन्दै पौडेलले छानबिनको माग गर्दै उजुरी दिएका हुन् । 

पौडेलले अख्तियारको वेबसाइटमार्फत उजुरी दिएको विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले जानकारी दिएका छन् । 

सरकारले चीनबाट खरिद गरी मगाएको ७५ हजार थान र्‍यापिड टेस्टिङ किट अहिले गोदाममा थन्‍किएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले हालसम्म यो किटलाई मान्यता नदिएकोले यसको उपयोग नहुने भएको हो।


‘कोभिड–१९ परिक्षण गर्न द्रुत परीक्षण किटको उपयोग गर्न डब्लुएचओले सिफारिस गरेको छैन,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले कान्तिपुरसँग भनिन्, ‘किनभने यसको परीक्षण परिणाम सतप्रतिशत विश्वसनीय छैन।’

सम्बन्धित समाचार

सरकारले किनेको ७५ हजार थान कोभिड परीक्षण किट उपयोग भएन 

कान्तिपुर

Link copied successfully