टाउको जोडिएका दुई बालकलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी

न्युयोर्क — टाउको जोडिएका जुम्ल्याहालाई छुट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टी गूडरिचको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । उनी ७३ वर्षका थिए ।

टाउको जोडिएका दुई बालकलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना संक्रमणबाट मृत्यु

सन् २०१६ मा २७ घण्टा लामो अपरेसनपछि टाउको जोडिएका जेडन र एनियस म्याडोनाल्डलाई छुट्याउने डाक्टर गूडरिचको कोरोना भाइरसको संक्रमणका कारण सोमबार मृत्यु भएको सीएनएनले जनाएको छ । ‘डाक्टर गूडरिच हाम्रो अस्पतालका नक्षत्र थिए, हामी उनलाई कहिल्यै बिर्सन सक्दैनौँ,’ मोन्टेफियोरे मेडिसिनका सीईओ डाक्टर फिलिप ओ ओजुआले भने ।

सन् २०१६ को अक्टोबर १४ मा डाक्टर गूडरिचको नेतृत्वमा रहेको ४० जना चिकित्सकको टोलीले २७ घण्टा लामो अपरेसनपनि जेडन र एनियसलाई अलग गरेका थिए । मोन्टेफियोरे अस्पतालमा अपरेसन भएका बेला जेडन र एनियस १३ महिनाका थिए । जेडन र एनियस को शारीरिक विकास एउटै क्रममा भइरहेको बताइन्छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार जेडनले पिक्चर बुकहरु पढ्न थालेका छन् । उनले ‘माई’, ‘हि’, ‘शि’ लगायतका शब्द उच्चारण गर्न सक्ने भएका छन् । साथै उनी वाकरको सहायतमा हिँड्ने पनि गर्छन् । उनको तुलनमा एनियसमा भने पछिल्लो समय केही समस्या देखिएको छ । उनलाई विशेष प्रकारको ह्विलचेयरको व्यवस्था गरिएको छ । उनको चाल र बोलीमा भने केही समस्या देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाका प्रसिद्ध पेडियाट्रिक न्यूरोसर्जन डाक्टर गूडरिचले ब्रोंक्स अस्पतालमा पेडियाट्रिक न्यूरोसर्जरी विभागमा ३० वर्षभन्दा बढी बिताए । त्यस्तै अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा पनि उनले लामो समय न्यूरोलोजिकल सर्जरी, पेडियाट्रिक्स तथा प्लास्टिक सर्जरीका विषयमा प्राध्यापन गरेका थिए ।

अस्पतालका अनुसार उनी ओरेगनका स्थायी बासिन्दा थिए । साथै भियतनाम युद्धका बेला उनी अमेरिकी जलसेनामा पनि आबद्ध भएको अस्पतालले जनाएको छ । उनको श्रीमती र ३ छोरी रहेका छन् ।

पछिल्लो समय अमेरिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिले भइरहेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार एक सय ६५ पुगेको छ भने एक लाख ६४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?