कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाखमा सीमित राख्‍न सके निकै राम्रो : ट्रम्प 

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाखमा सीमित राख्‍न सके निकै ठूलो उपलब्धि हुने बताएका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाखमा सीमित राख्‍न सके निकै राम्रो : ट्रम्प 

राष्ट्रपति कार्यालय ह्वाइटहाउसको रोज गार्डनमा बोल्दै ट्रम्पले ‘भाइरसका कारण मृत्यु हुनेको संख्या एक लाख भन्दा कममा राख्न सक्नु आफ्नो प्रशासनको सफलता हुने’दाबी गरे ।


हिँडडुल तथा सामाजिक क्रियाकलापमा गर्दै आएको देशव्यापी कडाई एक महिनाका लागि बढाइएको घोषणा गर्दै ट्रम्पले भने,‘जुनको सुरूसम्ममा स्थिति सामान्य भइसक्छ ।’


यसअघि ट्रम्पले इस्टर (अप्रिल १२) को खुशीयालीसँगै कोभिड–१९ को संक्रमण हट्ने बताएका थिए । उनले अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आगामी दुई साता बढ्ने र त्यसपछि क्रमशः घट्दै जाने दाबी गरे । ट्रम्पका अनुसार अबका दुई सातामा अस्पतालहरूले संक्रमितको संख्या धान्नै नसक्ने अवस्था हुनसक्छ ।


स्वाथ्य सल्लाहकार, जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिकहरुको चेतावनीका कारण एक महिनाका लागि सामाजिक क्रियाकलापका लागि कडाई गरिएको ट्रम्पको भनाई छ ।


अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा ह्‍वाइट हाउसका चिकित्सा सल्लाहकार डा. एन्थोनी फौसीले अमेरिकामा कोभिड–१९ का कारण कम्तीमा २ लाख जनाको मृत्यु हुने चेतावनी यसअघि नै दिएका थिए ।


कोभिड–१९ का कारण अमेरिकामा हालसम्म २ हजार ४ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् । १ लाख ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?