२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पुगे होलान् त गणेश बागलुङ ?

गणेश सापकोटा मात्र होइन, भारतका विभिन्न ठाउँबाट उनीजस्तै ट्रकको पछाडि लुकेर सुनौलीसम्म आएका १५ जना नेपाली कहाँका होलान् र उनीहरू आफ्नो गन्तव्यसम्म पुगे कि पुगेनन् होला ? 
ईश्वरी ज्ञवाली

बुटवल — सरकारले लकडाउन घोषणा गरेको चौथो दिन । शुक्रबार बेलुका त्यस्तै ६ बजेको हुँदो हो । रूपन्देहीको शुद्धोदन–३, फर्साटिकर, दोगनास्थित घरमा एकान्तवासमा थिएँ । बेलुकाको समय करेसाबारीमा पानी लगाइरहेको थिएँ, एक्कासि एक जना बटुवाले आवाज दिए ।

पुगे होलान् त गणेश बागलुङ ?

‘ए बाबु, लौन पानी खाऊँ ।’

म अलमलमा परेँ । के गरौं, कसो गरौं भयो । एकछिन त सोच्नै सकिनँ । उनी मतिरै लम्किरहेका थिए । मैले उनलाई रोकें, ‘तपाईं त्यही बाटोको छेउमै बस्नूस्, म त्यहीँ पानी ल्याइदिन्छु ।’ उनी बढी नै तिर्खाएका रहेछन् । ‘होइन, त्यही पाइपबाट भए पनि हुन्छ, म खाइहाल्छु नि, ज्यादै तिर्खा लागेर हो बाबु,’ उनले भने ।

‘भित्र उमालेर राखेको पानी छ, त्यही खानुहोला, म ल्याइदिइहाल्छु ।’ म भित्र पसेँ । गिलास समातेँ अनि सोचेँ, यस्तो बेलामा गिलासमा पानी दिने गल्ती गर्नु हुँदैन । तुरून्तै प्लास्टिकको बोतलमा मनतातो पानी भरेर बाहिर निस्किएँ ।

ती बटुवा सडकछेउमा निधारमा हात राखेर टुक्रुक्क बसेका रहेछन् । उनीभन्दा झन्डै दुई हात वरै पानीको बोतल राखेर दुई हात पछाडि सरें ।

घटघटी आधा बोतल पानी खाए र मतिर बोतल तेर्साए । मैले भने, ‘लैजानोस्, फेरि तिर्खा लाग्यो भने खान काम लाग्छ ।’ उनी केही बोलेनन् । बोतल झोलामा राखे ।

‘कहाँबाट आउनुभएको बुबा ?’ मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए, ‘इन्डियाबाट बाबु ।’

म झन् तर्सिएँ । ‘यस्तो बेला कसरी आउनुभयो त ?’ आपत् परेपछि जस्तै समस्या पनि सामान्य लाग्ने उनले सुनाए । ‘घरमा बूढी सिकिस्तै छ, लालाबाला सानै छन् । त्यसैले जसरी भए पनि घर हिँडेको बाबु,’ एकै सासमा उनले आफ्ना कुरा राखे । सुनौलीसम्म ट्रकको पछाडि बसेर समूहमा आएको र त्यसपछि सबै तितरबितर भएको उनले सुनाए । नेपाली १५ जनाको समूह त्यस ट्रकमा कोचिएर आएको रहेछ ।

सुनौलीबाट चोरबाटो भएर म यता लागेँ, अरू आ–आफ्नो बाटो लागे ।’

‘यहाँको नाम ?’

‘गणेश सापकोटा ।’

‘गाउँको ठेगाना र मोबाइल नम्बर ?’

‘बाग्लुङ भनेपछि सबैले चिन्छन्, फुनफान बोक्ने चलनै छैन ।’

अहिलेको समयमा यसरी हिँड्नु आफूमात्र होइन, अन्य मानिस र घरपरिवारकै लागि पनि राम्रो नहुने मैले सुझाएँ । मेरो कुराले उनलाई खासै छोएन । ‘त्यो सबै मलाई राम्रोसँग थाहा छ । अहिले म घर नपुगी भएको छैन । मलाई बाँसघारी जाने बाटो बताइदिनूस् न ।’

एक जना मात्रै होइन, १५ जनाको सवाल छ । यिनीहरू कोरोना संक्रमित रहेछन् भने यिनले निम्त्याउने समस्या भयावह हुने अड्कल काटेर पुलिसलाई खबर गर्नु उत्तम ठानेँ । फटाफट भित्र पस्न खोज्दै थिएँ, उनी फनक्क फर्किए र भने, ‘बाबु धेरै चलाखी नगर्नु होला, म यहीं अगाडि पासो लगाएर मरिदिन्छु नि ?’

म अवाक् भएँ । कति चलाख । केही नभनी भित्र पस्दा पनि उनले कसरी लख काटे कि म मोबाइल लिन भित्र पस्दै छु भन्ने । छक्क परेँ । एकछिन उनलाई हेरिमात्रै रहेँ ।

मोबाइल लिन भित्र जान हिँडेका मेरा पाइला त्यसै रोकिए । किन किन मेरो मुखबाट निस्कियो, ‘कहाँ पासो लगाउनुहुन्छ, यहाँ त झुन्डिने ठाउँ पनि छैन ।’

‘मर्न केही चाहिँदैन । हिम्मत भए पुग्छ बाबु । रूपसाइटको ब्यागमाथिबाट राखेको सुर्के झोला झिकेर गलबन्दी निकाले र घाँटीमा बाँध्दै भने यी यसरी पनि मर्न सकिन्छ ।’

‘भो भो । मैले पुलिसलाई खबर गर्ने कुरा मनदेखि नै निकालिदिएँ । भन्नूस् तपाईं किन बाँसघारी जान चाहनुहुन्छ ?’

बाँसघारीबाट नहरको बाटो जोडिन्छ भन्ने सुनेका रहेछन् । ‘त्यहाँबाट नहरै नहर खस्यौली पुग्छु र त्यहाँबाट नुवाकोट उक्लिएर पाल्पा, गुल्मी, पर्वत हुँदै जन्मघर बाग्लुङ जानुछ बाबु ।’

म उनलाई पछ्याउने ध्येयले पछिपछि लागेँ र यहाँबाट सीधै यो बाटो नछोडी पूर्व लाग्नुभयो भने बाँसघारी पुगिन्छ भनेँ ।

‘बाँसघारीभन्दा अलि माथि पुग्न चाहनुहुन्छ भने यहाँबाट उत्तरतिर लाग्नूस्, दुबौली पुग्नुहुन्छ । त्यहाँबाट पनि तपाईं बुटवल पुग्न सक्नुहुन्छ,’ मैले उनलाई सुझाएँ ।

‘होइन बाबु, बाँसघारीमा पसल पनि छन् रे, त्यहाँ पुगेर यसो भुसाहा पनि किन्नु छ, त्यही भएर,’ उनले आफ्नो मनको कुरा गरे ।

‘भुसाहा ?’

‘अँ, देउराली सिगरेट क्या बाबु ।’ यसो एक खिल्ली सल्काएर तान्दै हिँड्दा बाटो कटेको थाहै हुँदैन ।’

अहिलेको कोरोना महामारीमा उनी र उनीजस्तै मान्छेको भीड नेपाल प्रवेश गरिरहेको छ । यसले कतै शान्त रहेको नेपालमा महामारीको प्रकोप ल्याउने त होइन ? यति कुरा सोच्दै घरभित्र पसेँ र मोबाइल झिकेर फटाफट सुनसान बाटो समातेर बाँसघारीतिर लागेँ । अन्दाजी ६० वर्ष उमेरका ती वृद्ध बाँसघारी पुगेर एउटा पसलमा चुरोट किन्न अडिएको एक पसले मित्रले जानकारी गराए ।

अहिले सोच्दै छु, गणेश सापकोटामात्र होइन, उनीजस्तै लुकेर सुनौलीसम्म आएका १५ जना नेपाली कहाँका होलान् र उनीहरू आफ्नो गन्तव्यसम्म पुगे कि पुगेनन् होला ?

कोरोना महामारीको यस भयावह स्थितिमा उनीहरूको नेपाल प्रवेश हाम्रा लागि कति खतरनाक रहला ? एकान्तबासमा रहेका बेला पनि मथिंगल त्यसै हल्लिरहेको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?