३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संक्रमित यात्रु सवार विमानका ३ सय २ यात्रु अझै सम्पर्कबाहिर

तीन विमानमा आएका ४ सय ५८ यात्रुको विवरण चुस्त राखे मात्रै संक्रमण रोक्न सहज हुने
जनकराज सापकोटा

काठमाडौँ — लकडाउन हुनुभन्दा केही दिनअघि मात्रै विदेशबाट आएका चारजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उनीहरुसँगै आएका नेपाली यात्रुको सम्पर्क कायम गर्न प्रहरीलाई हम्मे परेको छ ।

संक्रमित यात्रु सवार विमानका ३ सय २ यात्रु अझै सम्पर्कबाहिर

तीन फरक–फरक विमानमा सवार कुल ४ सय ५८ यात्रुमध्ये १ सय ५६ यात्रु मात्रै सम्पर्कमा आएका छन् । संक्रमितसँगै विमानमा आएका ३ सय २ यात्रु हाल पनि सम्पर्कबाहिर छन् । उनीहरु आफैं आइसोलेसनमा बसेका छन् कि छैनन् भन्नेबारे कसैलाई जानकारी छैन ।


प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीका अनुसार दोस्रो र पाँचौं संक्रमित युवतीहरू सवार कतार एअरवेजको विमान क्युआर ६५२ मा आएका १ सय ५८ मध्ये आइतबार अबेरसम्म १ सय ३४ जना मात्रै प्रहरीको सर्म्पकमा छन् । सम्पर्कमा आएकाहरु प्रहरी वा स्थानीय तहका अधिकारीको निगरानीमा आइसोलेसनमा बसेका छन् । अन्य यात्री अझै सर्म्पकमा आएका छैनन् । प्रवक्ता जोशीका अनुसार कतिपयको राहदानीको ठेगानाभन्दा अन्यत्रै बसाइँ सरेकाले पनि उनीहरुलाई भेट्टाउन समस्या भइरहेको छ ।


तेस्रो संक्रमित युवा संयुक्त अरब इमिरेटसबाट चैत ६ गते एअर अरेबियाको जी ९५३७ मा आएका थिए । उनी सवार उक्त विमानमा १ सय ७० यात्रु थिए । तीमध्ये अहिलेसम्म जम्मा २२ जना मात्र प्रहरीको सम्पर्कमा आएका छन् । अन्य कहाँं छन पत्तो लागेको छैन ।

चौथो संक्रमित यात्रु चैत ७ गते दुबईबाट भारतको दिल्ली हुँदै भिस्तारा एअरलाइन्सको युके १५५ विमानमा काठमाडौं आएका थिए । उनी सवार विमानमा १ सय ३० यात्रुको खोजीका निम्ति शनिबारै प्रहरी प्रधान कार्यालयले सबै जिल्लामा सर्कुलर गरेको थियो । तर उक्त विमानमा सवार यात्रुहरुको पहिचान भइसकेको सूचना प्रधान कार्यालयमा आइतबार साँझसम्म आइसकेको छैन ।


संक्रमितहरुको संख्या थपिँदै जांँदा र खोज्नुपर्नेहरूको सूची लम्बिएकाले प्रहरीलाई यात्रुहरुको पहिचान गर्न कठिन पर्दै गएको छ । झन् चौथो र पाँचौं संक्रमित त काठमाडौंबाट क्रमशः नेपालगन्ज र पोखरा पनि आन्तरिक उडानमार्फत नै गएको देखिन्छ ।

प्रहरीले ती दुई संक्रमित सवार आन्तरिक विमानका यात्रुको पनि खोजी गर्नुपर्ने हुन्छ । नेपालगन्ज पुगेका संक्रमित त्यहाँबाट माइक्रो चढेर धनगढीस्थित घर पुगेकाले उक्त माइक्रो बसमा सवार यात्रु पनि खोज्नुपर्ने देखिन्छ । त्यस्तै पोखरासम्म विमानमा गएकी संक्रमित युवती त्यहांँबाट जिप चढेर बाग्लुङस्थित घर पुगेकाले त्यसमा सवार यात्रु पनि खोज्नुपर्ने देखिन्छ ।


आन्तरिक उडानका यात्रु र सार्वजनिक सवारीका यात्रु जोड्दा प्रहरीले संक्रमितसँग नजिकको सम्पर्कमा रहेका अन्य थुप्रै यात्रुको खोजी गर्नुपर्ने देखिन्छ तर प्रहरीले पहिलो चरणमा अन्तर्राष्ट्रिय उडानमा सवार यात्रुको खोजीलाई प्राथमिकता राखेको छ । प्रवक्ता जोशीले संक्रमित यात्रु सवार विमानमा चढेर अन्य यात्रु आएकाहरूले आफैं नजिकको प्रहरीमा सम्पर्क राखेर आफ्नो अवस्था बताउनु उचित हुने बताए । उनले पैसा नलाग्ने नम्बर एक सयमा फोन गरेर पनि आफ्नो स्वास्थ्य अवस्था र ठेगाना बताउन सकिने बताए । उनले भने, ‘नागरिकस्तरबाटै सहयोग नभएसम्म प्रहरीकै भरमा मात्र खोज्न लामो समय लाग्ने देखिन्छ ।’


दोस्रो र पाँचौं संक्रमित:

चैत ४ गते: कतार – काठमाडौं : कतार एअरवेज क्युआर ६५२ : जम्मा यात्रु १५८

प्रहरी सम्पर्कमा: १३४

तेस्रो संक्रमित

चैत ६ गते: यूएई – काठमाडौ : एअर अरेबिया जि ९५३७ : जम्मा यात्रु १७०

प्रहरी सम्पर्कमाः २२ जना

चौथो संक्रमित

चैत ७ गतेः दिल्ली – काठमाडौ : भिस्तारा एअरलाइन्स युके १५५ : जम्मा यात्रु : १३०

प्रकाशित : चैत्र १७, २०७६ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?