भाग्यकै भरमा

चैत्र १७, २०७६

जितेन्द्र साह

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्‍न गरिएको लकडाउनको तेस्रो दिन अत्यावश्यक कामले बाहिर निस्केको थिएँ । विराटनगरको गेहेली मार्गमा मानिसहरू सामाजिक दूरी नराखी उनीहरु गफिंदै थिए । 

त्यतिबेला नजिकैको घरबाट निस्केकी एक चिनजानकी महिलालाई सोधें, ‘भाउजु, केको भेला हो ?’ उनले यसो हेरे जस्तो गरेर भनिन्, ‘के भयो त ?’ मानौ मैंले उनलाई प्रश्न सोधेर अपराध नै गरेँ । छेवैको घरको बगैंचामा काम गरिरहेको एक दम्पतिले पनि नसुने जस्तै गरे ।


मन खिन्‍न भयो, बेकार सोधेछु जस्तो भयो । वेकारको विवादमा फसिएला भन्ने डर पनि लाग्यो । त्यसैले आफ्नो कामका लागि गन्तव्यतर्फ लागे । डेराको बास, त्यसमाथि परिवारको मुख्य जिम्मेवार भएकाले म पेसागत तथा अन्य अत्यावश्यक काममा बाहिर निस्कंदा पूर्वसावधानी अपनाउने गर्छु । 


तर, त्यो भेलाको दृश्यले मेरो मन भने बेचैन रहृयो । मनमा कुरा खेलिरहेकै बेला नजिकै बस्ने एक सञ्चारकर्मी मित्रको सम्झना आयो । फेसबुक म्यासेन्जरमा कल गरेँ । ‘पूजा लगाएका थिए, हामीलाई पनि बोलाएका थिए, के पो भन्ने ?’ उनले भने । 


पूजामा सहभाागी अधिकांश शिक्षित पारिवारिक पृष्ठभूमिका भएकाले पनि म चकित थिएँ । पुरा विश्व कोभिड–१९ को संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सामाजिक भेला, पूजापाठ वा अन्य कार्य गर्नु कुनै पनि बहानामा जायज मान्न सकिंदैन् । 


अरुलाई सम्झाउनु, बुझाउनु पर्ने वर्गले गरेको हेलचेक्रयाइँले टोल, समाज मात्र होइन देशै जोखिममा पर्ने ठर उत्तिकै छ । शिक्षा र चेतनामा अब्बल मानिले महानगर विराटनगरका हरेक वडामा जनप्रतिनिधि, सामुदायिक प्रहरी, टोल सुधार समिति, क्लब र सामाजिक संघसस्था छन् । तर दुर्भाग्य, उनीहरूलेसमेत लकडाउन भनेको के हो राम्रोसँग बुझ्न र बुझाउन सकेका देखिंदैन् । 


अझ सामाजिक सञ्जालमा पोष्ट गरिएका बिहे र जमघटका तस्बिरले लकडाउनको मजाक उडाइरहेको हुन्छ । लकडाउनकै अवधिमा विराटनगरका आवासीय क्षेत्र र मुख्य सडक नजिकै उपभोग्य सामग्रीको हाट लाग्‍नु सामान्य नै छ । त्यस्ता हाटबजार सम्भव भए बन्द, नभए व्यवस्थित गर्न स्थानीय तथा प्रदेश सरकारले कदम चाल्नुपर्थ्यो । तर स्थिति उही छ । 


त्यसका साथै आफ्‍नो टोल र क्षेत्रमा लकडाउनको पालना गर्नु/गराउनु सक्षम नागरिकको कतर्व्य पनि हो । तर उनीहरुको सोच यस्तो देखिन्छ, ‘संक्रमणविरुद्ध लड्ने दायित्व प्रहरी र पत्रकारको हो ।’ विश्वका विकसित देशका प्रधानमन्त्री, मन्त्री, राजकुमार–राजकुमारी तथा चिकित्सकसमेत यो भाइरसबाट संक्रमित भइरहेका छन् । तर हाम्रो समाज भने आफ्नै तानाबानमा मस्त छ । 


लकडाउनको तेस्रो, चौथो र पाँचौ दिन विराटनगरका बस्तीहरूमा हाट बजार लागेको भन्दै एक स्थानीयले खबर गरे । त्यस्तो बजार रोक्न सक्ने पहुँचवाला भएपनि उनले समाचारका लागि फोन गरेका रहेछन् । प्रहरीको भ्यान आउँदा बजार बन्द गरिने भएपनि र गए पछि पुनः सुरू हुने उनको भनाइ थियो । समाचारका लागि पन्छिदैं उनलाई भाइरसको संक्रमणविरुद्ध कसरी लड्ने भन्ने अब सुरक्षाकर्मी, सञ्चारकर्मी, चिकित्सक वा सरकारको मात्र नभएर सबै नागरिकको दायित्व भएको सम्झाए । 


तितो सत्य के हो भने, सरकारले लकडाउन घोषणा गर्नुअघि हामी सबै हिँडडुल गरिरहेकै थियौं । यो क्रममा कहाँकहाँ पुग्यौं र कसकसलाई भेट्यौं सम्झन पनि कठिन छ । संक्रमितसँग सीधा सम्पर्क नपुगेका भएपनि उनीहरुको सम्पर्कमा आएका व्यक्तिमार्फत् भाइरस हामीमा आएको हुनसक्छ । खासमा भन्ने हो भने, हामी परिवारजन र निकटजनको भाग्यकै भरमा छौं ।  


चिकित्सका अनुसार भाइरसको लक्षण देखिन दुई सातासम्म लाग्ने हुनाले संक्रमित व्यक्ति स्वयंलाई पनि कसरी वा कोबाट संक्रमित भए भन्ने थाहा हुन्न । लक्षण देखिंदासम्म त्यस्ता व्यक्तिले अन्यलाई पनि सारिसकेका हुन्छन् । त्यसकारण पनि लकडाउन आवश्यक परेको हो । 


त्यसकारण सडकमा दौडिएर होइन, आफू स्वस्थ भए/नभएको बुझ्न घरभित्रै बस्नुको विकल्प छैन । स्थिर भएर दुई साता घरमा बस्दा स्वास्थ्यमा कुनै समस्या देखिएन भने तपाइँ र परिवारजन निःसन्देह भाग्यशाली हुनुहुन्छ । तर लकडाउनको उल्लघंन गरेर बाह्य सम्पर्कमा जानु भएको छ भने तपाईँ भाग्यकै भरमा हुनुहुन्छ । कहि छुदा, बस्दा वा बोल्दा भाइरसको सम्पर्कमा आउनु भएको छैन भन्‍ने ठोकुवा गर्नै सकिन्‍न । 


हाम्रो मुलुकसँग भरपर्दो चिकित्सकीय सुविधा नभएकाले अस्पतालसम्म पुग्‍ने अवस्था आउन नदिनु नै उत्तम हो । त्यसैले हरेक दिन कोठाको छतमा पुगेर उदाउँदो सूर्यतिर हेर्दै भन्छु, ‘हे सूर्यदेव, लकडाउन उल्लंघन नहोस् ।’   

लकडाउनकोरोना भाइरस

जितेन्द्र

Link copied successfully