स्वास्थ्य सामग्रीबाट 'अनौठो गन्ध' आएको भन्दै सेनाको स्काई ट्रक फिर्ता

चैत्र १७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक 'अनौठो गन्ध' आएको भन्दै बीचबाटै फर्किएका छन् । स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका सामान प्रदेशमा पुर्‍याउनका लागि स्काई ट्रक सोमबार बिहान उडेका थिए ।

विमान चालकले गन्धका कारण उडान भर्न नसक्‍ने बताएपछि स्काई ट्रक डाइभर्ट भएर पुन: त्रिभुवन विमानस्थल नै फिर्ता भएका थिए । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्काई ट्रक फिर्ता भएको घटनाको पुष्टि गरे ।

'गन्ध आयो भने बीचबाट स्काई ट्रक फर्किएको सही हो । त्यो गन्ध आइरहेको सामान हटाएर सुर्खेतका लागि एउटा ट्रक गइसक्यो । अब धनगढी लाने पनि उड्‍न तयार छ,' उनले भने ।

उनका अनुसार के कस्तो गन्ध आएको भनेर यकिन भइसकेको छैन ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार स्यानिटाइजरको गन्धका कारण विमानहरू बीचबाटै फिर्ता भएका हुन् ।

लकडाउनकोरोना भाइरस

कान्तिपुर

Link copied successfully