लकडाउनमा महिलाका दु:ख

चैत्र १७, २०७६

अमृता अनमोल

बुटवल — लकडाउनका कारण सहर-बजार बन्द छन् । सडक सुनसान छ। जागिरे र व्यवसायी सबै घरमै छन्। यसले बढीजसो त पुरुषहरुमा एक किसिमको छटपटी देखिन्छ। उठ्यो-बस्यो-सुत्यो। सुत्यो-बस्यो-उठ्यो। दिक्क मानेका छन्। त्यस्तो छटपटी सामाजिक सञ्जालमा प्रशस्तै देखिन्छ। दिक्क मानेका छन्।

जस्तो: काम भएन, के गरेर दिन बिताउने? तिमी के गर्दै छौ? कसरी दिन काट्दै छौ? के सम्झँदै छौ? बिनाकाम फोन गर्ने। फेसबुक, ट्वीटरमा बेअर्थका म्यासेज पोस्ट गर्ने। यस्तो सिलसिला चलिरहेको छ।


त्यस्ता पुरुषका परिवारमा गृहिणी होलान्। उनीहरु भने दिनभर काममा घोटिएका छन्। लकडाउनले उनीहरुको बोझ घटेको छैन। बरु थपिएको छ। परिवारका सबै सदस्य घरमै बस्दा घर धेरै फोहोर भएको छ। यही कारण लिपपोत र बढारकुँढार बढी गर्नुपरेको छ। खाना धेरैपटक पकाउनुपरेको छ। चियाखाजाको मात्रा बढेको छ। बिहान जुठो भाँडो सिध्याएर एकछिन आराम गर्ने गृहिणीको समय पनि लकडाउनले खोसेको छ। दिनभरको कामले लखतरान भएका छन्। लकडाउनको समय जति बढ्नेछ, महिलाहरु अझ बढी थाक्नेछन्।


एउटै परिवारभित्र गृहिणी कामले थिचिएका छन्। पुरुष काम भएन भनेर पिरोलिएका छन्। आफ्नै घरको व्यथा नबुझेर पुरुषहरु सामाजिक सञ्जालबाट काम नभएको रोइलो गाइरहेका छन्। बस्दाबस्दा थाकेर हद्दु परेको बताइरहेका छन्। यस्तो किन? तपाईंहरु आफ्ना पत्नीलाई सघाउनुस्। भान्सा सम्हाल्ने आमा र दिदीबैनीलाई सघाउनुस्। घर फोहोर छ, सफा गर्नुस्। लुगा फोहोर छन्, धुनुस्। भाँडाकुँडा धेरै जुठा भएका छन्, माझ्नुस्। करेसाबारी गोडमेल गर्नुपर्ने होला, गर्नुस्। यसो गर्दा गृहिणीको कामको बोझ घट्नेछ। तपाईंको समय कटाउन सजिलो हुनेछ। यत्तिमात्रै होइन पत्नीसित चुलोचौकोमा काम सघाउँदा एकापसमा माया बढ्नेछ। पारिवारिक खुसी मिल्नेछ।


पुरुष होऊन् या महिला; अधिकांश पितृसत्ताले थिचिएका छौं। समाजमा लैंगिक समानताको विषय समाजीकरण नहुँदा यो काम पुरुषले वा महिलाले गर्ने भनेर सीमा तोकिएको छ। धेरैको दिमागमा घरधन्दा महिलाले गर्नुपर्छ भन्ने छ। पुरुषले भान्सा सम्हाल्नुहुन्न भन्ने चलन नै छ। धेरैजसो पुरुष भान्सामा नपसी हुर्किएका छन्। धेरै महिला जीवनभर भान्सा सम्हालेको सम्हाल्यै छन्। भान्सामा पस्नुहुन्न भन्ने मान्यता हुनु र चाहना नहुनु फरक कुरा हो। चाहना हुने कामकाजी पुरुषका लागि पनि अरु बेला भान्सा सम्हाल्ने मौका नमिल्न सक्छ। जागिर, पेसा, व्यवसायका कामले थिचिएका हुन सक्छन्। त्यस्ता पुरुषका लागि लकडाउन घरपरिवारलाई सघाउने उत्तम समय हो। लकडाउनलाई अवसरका रुपमा लिनुस्। 


यसबेला छोराछोरी पनि घरमा छन्। वार्षिक परीक्षा सकिएको छ। उनीहरु पाठ्यक्रमका पुस्तक पढ्दैनन्। ठ्याक्क यो पढ वा लेख भन्ने विषय छैन। यस्तोमा छोराछोरीले कस्तो ज्ञान सिकेका छन्? जाँच्न सक्नुहुन्छ। चित्र बनाउँछन् कि रङ भर्छन्? गीत गाउँछन् कि कविता लेख्छन्? कुनै नयाँ वस्तु बनाएर पो देखाउँछन् कि? उनीहरुले कस्तो सीप सिकेका छन्? प्रयोग गर्न लगाउनुस्। 


हामीमा हाबी भएको पितृसत्ताको छायाँ बालबालिकामा पर्न दिनुहुन्न। त्यसैले उनीहरुलाई आफूसँगै भान्सामा लैजानुस्। काम सिकाउनुस्। गृहिणीलाई पालो दिनुस्। घरपरिवारको मनोभाव बुझ्नुस्। यसले घरपरिवारमा माया बढ्नेछ। लैंगिक असमानताको दुरी घट्नेछ। यसले चुलोचौको सम्हाल्नकै लागि छोराको बिहे गर्नुपर्ने छैन। चुलोचौकोको काममा निपुण नभएकै कारण छोरीको बिहे रोकिने छैन।


यो एक्काइसौं शताब्दीको प्रविधिको युग हो। समाज परिवर्तनशील छ। रोजगारको प्रकृति बदलिएको छ। पुरुषमात्र होइन महिला समेत घरबाहिरका काममा सक्रिय हुँदै छन्। खर्चको सीमा यति बढेको छ कि साधारण परिवारलाई आफ्नो मासिक खर्च धान्न पतिपत्नी दुवैले काम गर्नुपर्ने बाध्यता छ। यस्तोमा पुरुषहरु पहिलेभन्दा घरका कामकाजमा लाग्न थालेका छन्। तर, भान्सा सम्हाल्ने, लिपपोत र बच्चा हुर्काउने काम महिलाकै हो भन्ने सोचाइ बदलिन सकेको छैन। 


यही कारण कामकाजी महिला घरभित्र र बाहिरको कामले थिचिएका छन्। गृहिणी आमा हुन् वा पेसाव्यवसायमा लागेकी महिला। घरायसी काम, बालबच्चाको व्यवस्थापन उनकै टाउकोमा थोपरिन्छ। पतिपत्नी दुवै कामकाजी हुँदा पनि पुरुष फुक्काफाल भएर हिँड्छन्। तर महिलालाई त्यस्तो छुट छैन। कामकाजी महिलालाई घर र जागिरबीचको तालमेल मिलाउन कम्ता सास्ती हुँदैन। यही कारण मानसिक तनाव हुन्छ। घरपरिवार धान्दाधान्दै आफ्ना लागि समय दिन सक्दैनन्। यसले मानसिक मात्र होइन शारीरिक रुपमा पनि रोगिएका हुन्छन्।


तसर्थ लकडाउनलाई पुरुषहरुले घरपरिवारलाई सघाउन सिक्ने अवसरका रुपमा लिनुस्। भान्सा पस्नुस्। चुलोचौको सम्हाल्नुस्। छोराछोरीको रेखदेख गर्नुस्। घरआँगन सरसफाइ गर्नुस्। यसले महिला-पुरुष मिलेर काम गर्ने संस्कार विस्तार हुनेछ। साथै, परिवारप्रतिको प्रेम पनि अझ प्रगाढ बन्नेछ।

लकडाउनकोरोना भाइरस

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully