जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु

एजेन्सी

टोकियो — जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

अस्वस्थ महसुस भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए । मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।


शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो । सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन ।


शिमुराले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा’(मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका)लगायतका निकै मन पराइएका चरित्र निभाएका थिए । शिमुराले अमेरिकी कमेडियन जेरी लेविसबाट प्रेरणा पाएको पनि आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।


जापानमा सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन् ।

प्रकाशित : चैत्र १७, २०७६ ०९:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

'वास योर ह्यान्डस इफ यु लभ मी' !

लकडाउनमा तनाव नलिउँ, बरु बरन्डामा फूल रोपौं
निशा राई

काठमाडौँ — 'मायालु आर यु वासिङ योर ह्यान्डस?'आइमेसेजमा यो मेसेज पप अप भइरह्यो। दिनभरिमा कम्तीमा ६, ७ चोटी।झण्डै ५ महिनादेखि मेरा अमेरिकन डेनिस श्रीमान् याकप कामको सिलसिलामा कोपेनहेगनमा बस्छन्।

कोरोना भाइरसले युरोपका देशहरु आक्रान्त भएपछि उनी पनि घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन्। समयको हिसाबले नेपाल डेनमार्क भन्दा झण्डै ५ घण्टा छिटो ब्युँझिन्छ र छिटै निदाउँछ पनि।

हामी दिनदिनै फेसटाइमबाट कुरा गर्छौ। उसले हात धोयौं ? भनेर सोधेको सोध्यै गर्छ। 'मेरो हातको पछाडि हात धोएर पछि लागेको छौ हैन तिमी ?' भनेर झर्किएँ।

अघिल्लो हप्ता मात्रको कुरा। याकपको बारम्बार एउटै मेसेज ‘आर यु वासिङ योर ह्यान्डस?’ आउन थालेसी झोक्किदै 'आइ एम इरेटेडेड, डोन्ट टिच मी हाउ टु ह्यान्ड वास' भन्दै आइमेसेन्जरमा ब्लक नै गरिदिए ।

सबैभन्दा प्रिय मान्छेलाई ब्लक गर्न पाँच सेकेन्ड नि लागेन। हप्तौं दिन देखि नै चिडचिडा महशुस भइरहेको थियो। यो गोरा याकपले म नेपालीले हातै धुदैनन् नै ठान्दो होला भन्दै फतफताइरहें।

मेसेन्जरमा पनि ब्लक गर्दिएँ लुज्जा! फेरि फेसबुक ट्विटरलगायतका सामाजिक संजालमा सबैजना हात धोऔँ नै त भन्दैछन्। बारम्बार एउटै कुरा सुन्दा सुन्दा थाकेछु।

त्यही साँझ ग्रुप मेसेन्जरमा साथीहरुले कोरोना भाइरसकै अपडेटहरु दिइरहे। फेरि एकपछि अर्को सब सहकर्मीहरुको सुझाव। दुइटा ग्रुप त लिभ नै गर्दिएँ। कोरोनाका बारेमा विश्व नै आक्रान्त भएको बेला म पनि त्यो भीडमा समाहित हुन पुगें।

अस्ति भर्खरै एउटा साथीसँग कुरा गरें। आत्तिने डराउने हैन। मन कमजोर नबनाउने हो भनेर लेक्चर नै दिइन्। कुरालाई छिटो बिट मारेर मैले मोबाइलबाट फेसबुकको एप नै हटाइदिए। ताकि उसँग च्याटै गर्न नपरोस्।
वाह! कस्तो रिल्याक्सड फिल गरें। तत्कालका लागि आनन्द महशुस भयो भनुँम।

मलाई कम्तीमा हप्ताको १ चोटी माइग्रेन हुन्छ। सकेसम्म त्यो माइग्रेन हप्ताको शनिबार वा आइतबारमात्रै आइदेओस् भनेर मनमनै भगवानलाई पुकार्छु। अरु दिन अफिसमा छु भने पनि टाउको दुख्ने बितिक्कै घर हुइँकिहाल्छु। माइग्रेनकै कारण मैले फुलटाइमरबाट पार्टटाइमर जागिरे हुनुपरेको छ।

कोरोना भाइरसको अत्यधिक समाचारले मलाई 'एन्जाइटी' नै भयो। उसो त अरु बेला पनि मलाई एन्जाइटी अर्थात तनाव भइरहन्छ।

खासमा कोरोनाका संक्रमितहरु र ज्यान गुमाएका भारीभारी अंकहरुले म अत्तालिन थालेछु। अघिल्लो हप्ता त दिनदिनै माइग्रेन हुन थाल्यो । कोरोनाको एउटा लक्षण टाउको दुख्नु पनि हो। न्युयोर्क टाइम्समा त झन बासना वा गन्ध थाहा पाउने सेन्स गुमाउनु पनि कोरोनाको लक्षण भन्ने आर्टिकल आयो। त्यो आर्टिकल पढेसी म ट्वाइलेट गए, यत्तिकै बसें। आफ्नो गन्धको 'सेन्स' चेक गर्न तर ठम्याउन सकिनँ। भोक लाग्यो फ्रिजबाट पाउरोटी र चिज निकालें। चिजलाई सुङ्घे नाकमा बासना शून्य भयो। क्वाप क्वाप ब्रेड र चिज खाएँ । अरुबेला जस्तो किन बासना आएन? कतै मलाई कोरोना त भएन? मनमनै घोत्लिएँ।

लगातार यताउता घरभित्रै टहलिरहें। भान्छामा सुकुटी झुण्डयाएर राखेको थियो। म भेजेटेरियन हुँ । कसैले थाहा नपाउने गरी सुकुटीको गन्ध चेक गरें। उफ भैँसीको मासुको ठ्वास्सै गन्ध आयो । 'आइ एम सेफ' भन्ने लाग्यो।

भोलिपल्ट जिमेलको इनबक्समा याकपको मेसेज आयो ‘मायालु वास योर ह्यान्डस् इफ यु लभ मी’- मायालु यदि मलाई माया गर्छौ भने हात धोउ।

इमेलमा लेखिएको थियो- इटस् योर ह्यान्ड, त्यो हातमा बिहान उठ्ने बित्तिकै सुकुमेल र अदुवा हालेको चिया थमाउँथे। त्यही हातको साँइली औँलामा औँठी लाएर विवाह प्रस्ताव राखेको । अनि त्यही हातले कागजमा सिग्नेचर गरेर हामी श्रीमान श्रीमती भएको होइन त?’

अरे! रुलावोगे क्या ! वाला फिलिङ आयो। हत्तेरीका बेक्कारमा झर्किएछु भन्ने महशुससहित। अनि मैले सम्झें डेट गर्दैगर्दा उसले मेरै हातका लागि रातो रङगको काँचका चुरा किनेर ल्याइदिएको । साइज २-२ को हुनपर्ने तर २-६ को ल्याइदिएको थियो। दराजमै बर्षौ थन्क्याएर राखेको चुरा ठूलै साइजको भए नि झिकेर लगाइहालें। अनि हिन्दी गायिका फाल्गुनी पाठकको 'चुडी जो खनके हातों मे...' भन्ने गीतमै नाचें पनि।

लगत्तै मेसेन्जरबाट याकपलाई अनबल्क गरे। छिनमै आयो उसको फोन। झर्किएर ब्ल्क गर्दा नि प्रेमिल इमेल पठायौ है मायालु! एकअर्कालाई हेर्दै गललल हाँस्यौं। झनक्क झर्किएँ तर त्यसलाई उसले ठीक प्रतिक्रिया दिएर सुल्झायो।

उसले यो केटी खाली अनावश्यक कुरामा झर्की भनेर मलाई नफकाएको भएपनि हुन्थ्यो। तर उसले त्यसो गरेन। बरु म 'इरेटेडेड' भइरहेको हातकै बारेमा राम्रो कुरा लेखी पठायो।

अस्ति भर्खरै न्युयोर्क टाइम्समा 'ग्रिभिङ दि लस अफ कोरोनाभाइरस' भन्ने एउटा आर्टिकल छापिएको छ। लरी भनिने एकजना थेरापिस्टले तनावमा रहेको मान्छेलाई राम्रो प्रतिक्रिया दिनुपर्छ भनेर लेखेकी छिन् । जस्तै केटाकेटीहरुले क्वारेन्टाइनको बेला निराश हुँदै साथीहरु भेट्न मिस गरे भन्छन् भने अभिभावकले 'हेर! त हामी कस्तो भाग्यमानी छौं र स्वस्थ छौ । अनि पछि तिमी आफ्नो साथीहरुलाई भेट्न नि पाउँछौ' जस्ता प्रतिकिया दिनुपर्छ। त्यसरी प्रतिक्रया दिँदा केटाकेटीहरुले आफ्ना दुख अभिभावकले बुझेको ठान्दछन् र उनीहरुबाट रिहाई पाउँछन्।

लरी थप लेख्छिन्, 'पीडाको हाइर्‍याकी हुँदैन। पीडा पीडा नै हुन्छ। यसको कुनै प्रतिष्पर्धा पनि हुँदैन न त श्रेणी नै । तर हामी एकअर्काको भन्दा आफ्नो भोगाइ नै बढी दुखदायी छ भन्ने प्रतिष्पर्धाचाहिँ गरिरहन्छौं। जस्तै तिम्रो मिसक्यारिज भयो तर बच्चा त गुमेन तर मेरो गुम्यो । यति याद राख्दैनौं की उसका लागि मिसक्यारिज नै सबैभन्दा पीडादायी दुख हुन सक्छ।' हामी अरुले आफ्नो पीडालाई कम पीडा मान्ला की भनेर चनाखो हुन्छौ रे !

लरी पीडाहरु पनि आफ्नै तरिकाले सामना गर्नुपर्छ भन्छिन्। उनी लेख्छिन्, 'कोरोनाभाइरसजस्ता महामारीका बेला एन्जाइटी भन्ने बित्तिकै के कुरा मनमा आउला त? पक्कै पनि तपाई एक्लै हुनुहुन्न भन्ने आउँछ। यानेकि अहिले संसारै यो महामारीले दिएको तनावमा छ। त्यहीअनुसार महामारीविरुद्ध तयारी पनि भइरहेका हुन्छन्।'

गएको हप्ता नै हो कोरोनाकै कारण इटलीमा एकैदिन तीन सय बढीको ज्यान गएको थियो। मेरो ममी साबुनपानीले हात धोइरहेकी हुन्थिन् म दगुरेर भान्छामा हात धोइराखेकी ममीलाई सोधिहाल्थे ममी २० सेकेन्ड है २० सेकेन्ड।

ममीले हातमा साबुनको फिज देखाउँदै भनिन् ‘२० रे ! त्यसलाई ४० सेकेन्ड राखेर मार्दिन्छु म।'
सि इज ब्याड्यास! वाला फिलिङ आएको थियो।

ओहो! फेरी हजुरआमालाई नि सम्झे र हतपत फोन गरेर सोधिहालें, 'आमा हात धोइराख्नुभाछ नि?'
'धोइराछु नानी धोइराछु' जवाफ नफर्काउदै सोध्छु- कति मिनेट रे!
'एक मिनेट।'

नातिनी भएनि हजुरआमालाई 'स्याब्बास' भने। हजुरआमाले अल्छी मानेर २० सेकेन्ड नधुनुहोला भन्ने कत्रो पीर त्यसैले १ मिनेट भनेरै झुठो बोल्दिएको पहिल्यै। कम्तिमा २० सेकेन्ड धुनुहोला भन्ने मायाले।

लकडाउनको गाँइगुँइ सुनिँदै थियो। 'आमा अब घरबाट बाहिर ननिस्कनु है । फेरि दिक्क लाग्यो भनेर निसक्नु होला नी' भन्थे।

हजुरीले कड्किदै, 'आ ! केको लकडाउन हामी जहिले घरै त हो । तिमीहरुलाई पर्ला गाह्रो हाम्लाई त लकडाउन न सकडाउन रे !'

यसो हेर्दा सबैजना पूरै तयारीमै छन्। कम्तिमा मेरो परिवारजस्तो लाग्यो।

फेसबुक र ट्विटरमा समाचार पढेसी नमिठो तर्कनाहरु मनमा आउँछन् फेरि सोच्छु ममात्रै यस्तो कहाँ सोचिराछु र पुरै संसारनै यो सोचिरहेको होला।

एकहिसाबले कोरोनाले चैँ के सोच्दो होला? ठीक छ तिमीहरु सब डराउँदै बस अनि म तिम्रो लोकमा राज गर्छु भन्दै होला!
.....

यो तनाबका दौरान पुरानो अफिसको एकजना सहकर्मी सम्झिएँ । उ छिनछिनै हात धोको धोयै गर्दथ्यो । 'कत्ति हात धुन्छ, पानी बौलाहा हो त्यो' भन्थे धेरैजना उसलाई । अहिले उ दङग परेको होला । उसको बानी सारा संसारले अङ्गालिराछ।

३ महिना अगाडि मेरो टाउकोको एउटा भागबाट एक प्याच कपाल नै झर्‍यो । मलाई कस्तो टेन्सन भयो । एउटा अस्पताल गएँ । टाउकोमा इन्जेक्सन हान्दा नि कपाल पलाएन । अहिले यही क्वारेन्टाइनमा बस्दा चाहिँ पूरै कपाल नै पलाइसकेछ।

अफिसबाट घर फर्किदा म यति सपिङ गर्छु कि पैसा सकिएको सकियै गर्छ। 'एन्ड दि बेस्ट थिङ' चैँ अहिले मेरो पैसा खर्चै भाको छैन !

साँच्चिकै भन्ने हो भने पहिलाभन्दा बढी खुशी छु । मेरो बरन्डाका गमलामा फूलेका फूलहरुसँग बढी समय बिताउन पाएकी छु। माइतीमा परिवारको साथमा बस्न पाएकी छु। कार्यालयको काम पनि झन् आरामले गरिरहेकी छु । ममीसँग घण्टौं गफिन्छु।

महिना दिनअघि छोले भटौरे खान मन गरेकी ममीलाई आफैले बनाएर ख्वाउने मौका पनि जुर्‍यो। भलै म टाढा एक्लै क्वारेन्टाइनमा बसिरहेका याकपलाई एकदम मिस गर्छु तर एक मिठो भेटको पर्खाईको साथमा समय बिताउन पाएका छौं। तर, सबैको घरमा बरन्डा नहुन सक्छ। फूलहरुको सुन्दर बगैँचा नहुन पनि सक्छ। ठीक छ एउटा कोठामै कोच्चिएर बस्नुपरेको छ भने पनि त्यही कोठालाई एउटा विशाल संसार मानेर सिंगार्नुस्। एउटा सानो कपमै भएपनि सानो विरुवा उमार्न त सक्नुहन्छ नि! अथवा आफूलाई जे मनपर्छ त्यही गर्नुस्।

थेरापिस्ट लरी नै भन्छिन्- तनाव दुई प्रकारका हुन्छन् । उत्पादक र अनुत्पादक। हामी हाम्रो तनाव विल्कुलै उत्पादक कुरामा परिणत गर्न सक्छौं। जस्तै की घरमा बसेर नयाँ नयाँ परिकारहरु पकाएर परिवारलाई ख्वाउन सक्छौं । छिमेकीको घरमा तरकारी छैन भने एकछाक तरकारी उपहार दिन सक्छौं। वा अनुत्पादक तनावझैं दिनभरी पछिल्लो कोरोना भाइरसको समाचार के छन् भन्दै आत्तिदै बस्ने।

त्यसैले अब तपाई आफैं सोच्नुस् सोसल मिडियामा वर्ल्डकपको मेडल तालिका जस्तो कोरोनाभाइरसको संक्रमितको संख्या गन्दै बस्ने की प्रडक्टिभ भएर केही काम गर्ने !

अङग्रेजीमा एउडा मुहावरा पनि छ, ‘आइ वास माई ह्यान्डस् अफ सम्थिङ।’

अर्थात् तपाईले गरिरहनुभएको काम तत्काल छोड्ने ताकि त्यसले तपाईलाई थप तनाव नदेओस्। बरु, वास योर ह्यान्डस इफ यु लभ मी।

प्रकाशित : चैत्र १७, २०७६ ०९:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×