जापानी कमेडियन केन शिमुराको कोरोना संक्रमणबाट मृत्यु

चैत्र १७, २०७६

टोकियो — जापानी कमेडियन केन शिमुराको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई कोरोना भाइरसको संक्रमणपछि निमोनिया भएको र त्यसैका कारण आइतबार मृत्यु भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

अस्वस्थ महसुस भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए । मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा निमोनियाले ग्रस्त र कोरोना भाइरस पोजिटिभ देखिएको थियो । 

शिमुरालाई ‘जापानका रोबिन विलियम्स’ का नामले पनि चिनाइने गरिन्‍थ्यो । सन् १९७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन । 

शिमुराले विभिन्न टेलिभिजन शोहरुमा ‘बाका तोनोसामा’(मुर्ख भगवान्), ‘हेन्ना ओजिसान’(अचम्मका काका)लगायतका निकै मन पराइएका चरित्र निभाएका थिए । शिमुराले अमेरिकी कमेडियन जेरी लेविसबाट प्रेरणा पाएको पनि आफ्नो संस्मरणमा उल्लेख गरेका छन् । 

जापानमा सोमबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट ५४ जनाको मृत्यु भएको छ भने एक हजार ८ सय ६६ जना संक्रमित भएका छन् ।

कोरोना भाइरस

Link copied successfully