१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अवसर हुन सक्छ लकडाउन 

सामाजिक प्राणी मानिने मनुष्य एकान्तमा बस्दा छटपटिन्छ । कुरा गर्नका लागि उसलाई साथी चाहिन्छ र समय बिताउनका लागि केही न केही गर्नैपर्छ । सम्झनुस् त, कोही भेट हुँदा हामी कति गफिन्छौं ? अनि फुर्सद भएका बखत कति छटपटिन्छौं ?
घनश्याम खड्का

‘दिन कसरी बित्दै छ ?’ मित्रहरू सोध्ने गर्छन्, ‘वाक्क लागिसक्यो मलाई त, घरमा बस्दा बस्दा ।’यो निस्सासिँदो परिवेशमा मान्छेका मन अत्तालिनु स्वाभाविक हो । इटाली र स्पेनका भयावह दृश्य भाइरल भइरहँदा, दिनहुँ कोरोना संक्रमित बढिरहँदा र संसारभर भटाभट आवागमन रोकिन पुग्दा दिग्दारी लाग्छ नै । त्यसमाथि घरभित्रै थन्किनु परेपछि मन रमाउने कुरै भएन । 

अवसर हुन सक्छ लकडाउन 

हुन पनि, हाम्रो स्मरणमा पृथ्वी यसरी कहिल्यै ठप्प थिएन । अनि मानिसहरू यसरी अर्बाैंको संख्यामा घरभित्रै थुनिएर बसेका पनि कहिल्यै थिएनन् न संसारका सबै देश यसरी त्राहिमाम भएका थिए कुनै एउटै कारणले । विश्वयुद्धमा पनि पृथ्वीको एउटा हिस्सा मात्रै बिथोलिएको थियो । त्यतिखेर पनि कहीँ न कहीँ शराव घरदेखि गुम्बा, गुरुद्वारा, मन्दिर, मस्जिद र गिर्जाघरसम्म सबै खुला थिए । यामानका बाघ–भालुलाई थुन्न सक्ने र उन्मत्त हात्तीलाई कजाउन जान्ने मात्रै होइन, सारा पृथ्वीलाई वशमा पार्ने मान्छे जातिलाई आज नाथे हेर्न पनि माइक्रोस्कोप लगाउनुपर्ने र अरु कसैको शरीर नपाए बाँच्न पनि नसक्ने जीवाणुले हायलकायल पारिरहेको छ । यस्तोमा, अवसादले घेर्छ नै ।

हाम्रा सबै शस्त्र–अस्त्र, औषधि–उपचार र सुख–सुविधा यस जीवाणुका अघिल्तिर नाकाम र ओजहीन भएका छन् । कसले कसलाई कतिखेर रोग सल्काइदिने हो र कहाँ महामारी फैलिएर कति मान्छे हताहत हुनेहुन् भन्ने त्रास एकातिर छँदैछ, अर्कातिर घरभित्र कुँडुल्किएर कति दिन बस्नुपर्ने हो भन्ने चिन्ताले पनि सबैलाई घेरेको छ । यस्तो बेला, मन स्वाभाविक रुपले आत्तिन्छ तर यही बेला हो धैर्य गर्न सक्नुपर्ने । यही बेला हो, मनलाई सम्हाल्नुपर्ने । अनि यही बेला हो, सुझबुझ देखाउनुपर्ने ।

खाद्यान्न र औषधिजस्ता अत्यावश्यक सेवाकै अभाव हुुँदाको पीडाको तह अर्कै हो । यस्तोमा ज्ञानले काम गर्दैन किनभने भोको पेटलाई खाने कुरै चाहिन्छ र विमार शरीरलाई औषधि । सब ठिकठाकै छ, रोग अनि अभावले पनि सताएको छैन तर पनि घरभित्र बस्न नपाएको हुनाले छटपटी बढिरहेको छ भनेचाहिँ यसका अनेक समाधान छन् । यो वास्तविक पीडा नभई भावपरक पीडा हो, जसलाई अन्त्य गर्न सकिन्छ । कुनै वास्तविक सत्ता नभएको तर हृदयमा जमेको भावका कारण उत्पन्न पीडा नै भावपरक पीडा हो । यस्तो पीडा भावमा बदलाव ल्याउनासाथ यसको सघनतामा कमी ल्याउन वा यसलाई शून्य नै बनाउन सकिन्छ । अहिले, लकडाउनमा परेका अधिकतरलाई भइरहेको पीडा भावनात्मक पीडा हो, जसलाई हटाउने विधिहरू छन् ।

पहिले, मन आत्तिनाको कारणतिर जाऔं । सामाजिक प्राणी मानिने मनुष्य एकान्तमा बस्दा छटपटिन्छ । कुरा गर्नका लागि उसलाई साथी चाहिन्छ र समय बिताउनका लागि केही न केही गर्नैपर्छ । सम्झनुस् त, कोही भेट हुँदा हामी कति गफिन्छौं ? अनि फुर्सद भएका बखत कति छटपटिन्छौं ?

आखिर किन एक्लै बस्न सक्दैन मान्छे ? यसको कारण रमाइलो छ । मनोविज्ञान भन्छ, मान्छेको मनमा ६० देखि ८० हजारसम्म विचारहरूको उदय हुन्छ एक दिनमा । यसको अर्थ हो, एक मिनेटमा सरदर ४० देखि ५५ वटासम्म विचारहरू मनमा आउँदै बिलाउँदै गर्छन् । यस्ता विचारहरूलाई चैतसिक भनिन्छ । र, चैतसिकहरू ८४ हजार प्रकारका छन् भन्ने बुद्धवाणी छ । चैतासिकहरूका जगमा केही आधारभूत संवेगहरू हुन्छन् जसलाई मनोचिकित्साको भाषामा न्युरोसिस भनेर चिनिन्छ । पूर्वीय दर्शनले अविनासी सुखका लागि नास गर्नुपर्छ भनेको क्लेश अरु केही नभएर यही न्युरोसिस हो । सबैले बुझ्ने गरी भन्दा हृदयले गहिरो गरी पकड्ने भावहरू नै क्लेस अर्थात् न्युरोसिस हुन् । राग पहिलो क्लेश हो । कुनै वस्तु, मान्छे, ठाउँ, धारणा इत्यादिप्रति गहिरो लगाव हुनु नै राग हो । रागको अर्थ हुन्छ वासना वा गन्ध । जसरी टोकरीमा माछा छ भने त्यसको नजिक बस्नेको नासापुटमा मत्स्य–हरक आइरहन्छ, त्यसरी नै मनमा कुनै कुरा गढेको छ भने बारम्बार त्यससँग सन्बन्धित अनेक पक्ष र प्रतिपक्षका विचार आइरहन्छ । निराधार रुपमा विचार नआउने भएकाले मनोविज्ञानले विचारलाई एक लक्षणका रुपमा लिन्छ । जसरी फूलको लक्षण गन्ध हो, त्यसैगरी विचार रागको लक्षण हो । विचार रुपी गन्ध फालिरहने हुनाले क्लेशलाई वासना भनिएको हो । वस्तुमा परिवर्तन आउँदा त्यसको गन्धमा पनि परिवर्तन आइरहन्छ । जस्तो, जिउँदो घोडाको गन्ध एउटा हुन्छ, मरेको घोडाको गन्ध अर्कै । कुनै पनि जीवको गन्ध ऊसको निश्चित दुरी नजिक गएपछि मात्रै मन्द रुपले अनुभवमा उत्रन्छ । तर, त्यही जीव मरेपछि सड्दै जाँदा उसको शरीरबाट कडा गन्ध निस्पाद हुन थाल्छ । दूरदूरसम्मको नासापुटले यसको चाल पाउने हुनाले नै यसलाई दुर्गन्ध अर्थात दूरको गन्ध भनिएको हो ।

क्लेस मनको त्यही दुर्गन्ध हो, जसको पकड निकै कडा हुन्छ मनमा । जसरी एउटै शरीरको गन्ध जीवित र मृत अवस्थामा फरक–फरक हुँदै जान्छ, त्यसरी नै एउटै क्लेश पनि समयक्रममा बदलिएर अर्काे र झन् अर्काे क्लेशमा विस्तारित हुँदै जान्छ । जस्तो कि, रागको जन्म भएपछि अनिवार्य रुपमा द्वेषको, लोभको, घृणाको, इष्र्याको, मदको, मात्सर्यको र भयको पनि जन्म हुन्छ । मानौं तपाईंलाई कुनै एउटा महँगो घडी मन परेको छ । त्यसलाई कुनै उपायले लिन पाए हुन्थ्यो भन्ने भावले मनमा अब स्वत: स्थान जमाउँछ । घडी किन्नका लागि पैसा जम्मा गर्ने उपाय सोच्नु, त्यसो गर्न नसक्दा खिन्न हुनु, किन्न सक्दा खुसी हुनु, आफूले किन्न नसकेको तर आफ्ना साथीमध्येको कसैले किनेको देख्दा इष्र्यालु हुनु, मन परेको घडीलाई कसैले क्षति पुर्‍याउने गरी चलाउँदा रिस उठ्नु, घडी हराउला वा बिग्रेला भन्ने चिन्ता हुनु इत्यादि भावदशाहरू घडी मन पर्नाका कारण हुन गएका परिणाम हुन् । घडीप्रतिको राग नै थिएन भने बाँकी अरु भावहरू पनि आउने थिएनन्, यी भावका कारण पैदा हुने विचारविमर्शको लामो शृंखला पनि चल्ने थिएन । मनुष्यको मन यस्तै भाव र विचारहरूको एक ठूलो कारखाना हो । समयक्रममा थुप्रै व्यक्ति र वस्तुका प्रति मनमा राग, द्वेष, घृणा, लोभ इत्यादि मूलभावका बाक्लो लेउ लाग्दै जान्छ, जसका कारण मन घुर्राझैं घुमिरहन्छ र विचारहरूको अनवरत उत्पादन पनि चलिरहन्छ ।

कुनै काम गर्दा, व्यायाम गर्दा, हिँड्दा वा गफसफ गर्दा विचारका यी ताँतीहरू ओझेल पर्छन् तर जब हामी एकान्तमा बिनाकामको हुन्छौं तब आफैंसँग जम्काभेट हुन्छ । आफ्नै मन र यसका भावदशालाई हामी देख्न पुग्छौं । पाण्डोराको बाकसजस्तो यो मनबाट निस्केका अनेकन विचारहरूले हामीलाई अत्याउँछन् । त्यसै हुनाले हामी एकान्तमा चुपचाप बस्न सक्दैनौं । विचारहरूको यो निस्सासिँदो छालबाट बच्नका लागि हामी निरन्तर कसै न कसैको साथ खोजिरहन्छौं । केही न केही गरिरहन्छौं तर जति नै छिटो दैडिए पनि तपाईं आफूभन्दा पर पुग्न सक्नुहुन्न । त्यसैले, भाग्ने जति प्रयास गरे पनि मानिसलाई आफ्नो अस्तित्वले र मनको ढाँचाले बोध गराउने वास्तविकताले पच्छ्याइरहन्छ । अन्तत: बिस्तारै यसलाई पन्छाउन नसक्नाको दु:खले हामीलाई पिरोल्दै लग्छ र विसादले अँगालो हाल्न आइपुग्छ । आफ्नै वास्तविकताले दिएको यो अत्यास सहन नसकेर प्रत्येक ४० सेकेण्डमा संसारमा कोही न कोहीले आत्महत्या गरिरहेको तथ्यांकहरूले देखाउँछन् । र, आत्महत्याको यो क्रम बढ्दो लयमा छ ।

यो दु:खबाट पार पाउने एउटै उपाय भनेको आफूलाई सम्पूर्णरुपमा सामना गर्ने सामथ्र्य जुटाउनु हो । त्यो भनेको, मन र यसको ढाँचा जस्तो छ, त्यस्तै रुपमा यसलाई हेर्नसक्ने हुनु हो । यसका लागि मनसँग भागेर होइन, यसभित्र पसेर, यसलाई नियालेर र भावदशाहरूलाई निस्पृहतापूर्वक परख गर्न सिकेर मात्र सम्भव छ । विषय र वस्तुहरूका बारेमा जान्नु संसार हो, आफ्नै बारेमा जान्नुचाहिँ अध्यात्म । आफ्नो बारेमा जान्नु भनेको के हो ? मनमा उत्पन्न हुने विचारको हेतु प्रत्यय अर्थात् यसको कारण र परिणामका बारेमा जान्नु नै आफूलाई जान्नु हो । जसले आफूलाई जान्यो, त्यसलाई अरु जान्ने आवश्यकता रहँदैन । जसले आफूलाई जानेन, उसले जति जाने पनि त्यसको अर्थ रहँदैन । वस्तुलाई बुझ्न, यसको रहस्य थाहा पाउन अनेक उपकरण र प्रयोगशालासहितको ठूलो इन्तजाम चाहिन्छ जबकि यसको पारमार्थिक मूल्य शून्य छ । जीवनको अर्थ र रहस्यकै कुञ्जी मानिने स्वयंको ज्ञानका लागि चाहिँ कुनै भव्य तयारी र सामग्री चाहिन्न ।

हाम्रो व्यस्त जीवनशैलीलाई ठप्प गराइदिएर कोरोनाले आफैंसँग भेट गर्ने, आफैंलाई चिन्ने र आफ्नै भावदशाको साक्षी हुने एक अपूर्व मौका दिएको छ हामीलाई । कसैलाई भेट्न नमिल्ने, बाहिर निस्कन नसकिने र अनिश्चित समयसम्म घरमै बसिरहनुपर्ने यो अवस्था अन्तरजगतको यात्राको एक सुन्दर सुरुवात हुन सक्छ । समय कटाउन सामाजिक सञ्जालहरूमा बेप्रसंगका गफ गर्ने, दिनरातै सुतिरहने वा वाक्क लाग्यो भनेर आ जेसुकै होस् भन्दै घरबाहिर निक्लने गर्नुभन्दा आफ्नो मनलाई नियाल्नु उपयोगी पनि हुन्छ । जसै, तपाईंमा ध्यानस्थ हुने कलाको विकास हुँदै जानेछ, तपाईंलाई एकान्त प्रीतिकर लाग्नेछ र आनन्द पनि बढ्दै गएको पाउनुहुनेछ ।

त्यसैले, यो लकडाउनभर म मनोवलोकनका केही विधिहरूका बारेमा निरन्तर लेखिरहनेछु । यो पहिलो शृंखला हो र यसमा म केही आधारभूत विन्दुबाट प्रवेश गर्न चाहन्छु । सुरुवात गरौं विरेचनबाट ।

विरेचन मनोचिकित्सामा मात्रै नभएर आयुर्वेदमा पनि प्रयोग हुने विधि हो । थाहा नपाइकनै हामीले यसलाई दैनन्दिनको व्यवहारमा पनि प्रयोग गर्दै आइरहेका छौं । मनोचिकित्सामा विरेचन भन्नाले क्लेशहरूको तापलाई हटाएर मनलाई हलुका बनाउनु हो भने आयुर्वेदमा यसको अर्थ हुन्छ विषालु पदार्थलाई वमन गरी फालेर शरीरलाई शुद्ध बनाउनु ।

यहाँ म केही मौलिक परिमार्जनका साथ मन र शरीर दुवैलाई सफा गर्ने केही विधिहरूलाई विरेचनको अर्थमा प्रयोग गर्दैछु । ध्यानावस्थामा पस्नुअघि विरेचन अनिवार्य भएकाले यो गर्न जरुरी छ ।

हाम्रो शरीर र मन दुवै यो संकटपूर्ण अवस्थामा बोझिल भइरहेका छन् । त्यसैले, यसलाई केही शुद्धीकरण गरी हल्का पार्नु आवश्यक छ । म विरेचनको एक सरल विधि यहाँ भन्दैछु । तपाईं जुनसुकै अवस्थामा यो पढिरहनुभएको छ भने पनि यो प्रक्रियाबाट एकपटक गुज्रनुस् र त्यसको परिणामको अवलोकन गर्नुस् ।

आउनुस्, सबैभन्दा पहिले मनको विरेचन गरौं । घडी हेर्नुस्, समय कति भयो । अब एउटा खाली कागज लिनुस् र कलम समात्नुस् । कम्तीमा १० देखि १५ मिनेटसम्म तपाईं निरन्तर लेखिरहनुस् । सोचविचार बिल्कुलै नगरी मनमा जे आयो त्यही लेख्दै जानुस् । यसमा व्याकरण र भाषिक शुद्धताको चिन्ता नगर्नुस् । कसैलाई देखाउन नपर्ने हुनाले मर्यादाको घेरामा अटिरहने जरुरत छैन । स्वच्छन्द भएर लेख्नुस्, केवल लेख्नुस् र लेखिरहनुस् ।

एउटा निश्चित विन्दुमा पुगेपछि मन अचानक हलुका भएर आएजस्तो, कुनै भार बिसाएजस्तो महसुस हुनेछ । त्यस कागजलाई कसैको पनि सम्पर्कमा नआइकन राख्न सक्नुहुन्छ भने राखिरहनुहोस्, पछि मनको ढाँचा विश्लेषण गर्ने बेलामा यसको काम आउनेछ । कसैले हेर्न सक्छ भन्ने जस्तो लाग्यो भने यसलाई नस्ट गर्नुहोस् ।

यति गरिसकेपछि अब एउटा लामो र विश्रामपूर्ण सास लिनुस् । आँखा चिम्लनुस् । अनुहारको मांसपेशीलाई शिथिल पार्नुस् । अक्सर, विचारहरूको प्रवाहमा अनुहारमा एक खालको कडापन जमेर बसेको हुन्छ । त्यसलाई निकाल्न मांसपेशीहरूलाई होशपूर्ण रुपमा शिथिल पार्नुस् । यसका लागि पूर्णरुपमा ध्यानलाई अनुहारमा केन्द्रित गर्नुस् । अनि बिस्तारै गाला, परेला, नासापुट, ओठ, निधार र कानका लोतीहरूसम्म टिमिक्क हुन पुगेका नसा, छाला र मांसपेशीलाई एक–एक गर्दै खुकुलो पार्नुस् । तपाईं विस्तारा वा पल्टिन मिल्ने भुईंमा हुनुहुन्छ भने विस्तारै शरीरलाई ढाल्नुस् र ढल्दै गरेको अवस्थामा यसलाई नियाल्नुस् । जुन अवस्थामा जसरी यो पल्टिन्छ, त्यसरी नै यसलाई छाडिदिनुस् अनि विस्तारै देब्रे खुट्टाको कान्छीऔंलाको टुप्पामा तपाईंको ध्यान पुर्‍याउनुस् । त्यहाँको मांसपेशीलाई शिथिल पार्नुस् । अब विस्तारै अर्काे औंला, अर्काे औंला गर्दै पूरै गोडा, अर्काे गोडा गर्दै एवं रीतले पूरै शरीरका अंगलाई एक–एक गरी शिथिल र विश्रामपूर्ण बनाउनुस् । अब बिस्तारै दाँतका दुवै लहर, जिब्राको टुप्पादेखि भेदसम्म हुँदै ध्यानलाई श्वासनलीबाट भित्र लगेर आन्द्रा, मुटु, कलेजो, फोक्सो, मृगौलालगायत सबै भित्री अंग, नसा, मांसपेशी, रगत र यसको प्रवाह अनि हड्डीहरूको संरचनासमेतलाई एक–एक गर्दै ध्यानपूर्वक नियाल्नुस् । यसो गर्दा श्वासप्रश्वास मन्द र शान्त रूपले लिनुहोस् । यस प्रक्रियामा कम्तीमा ६० मिनेट लाग्नेछ ।

पूरै शरीरलाई शिथिल बनाएपछि एक अभूतपूर्व विश्राम र आनन्दको अनुभव हुनेछ । मन लागुञ्जेल आनन्द र विश्रामको यही अवस्थामा बस्नुहोस् । अब भयो, पुग्यो जस्तो भाव आएपछि होशपूर्वक शान्तसँग उठ्नुहोस् । सम्भव छ भने यसपछि चिसो पानीले नुहाउनुहोस् र नुहाउँदा शरीरका हरेक अंगमा पानीको स्पर्शलाई नियाल्नुहोस् । अब आउने चौबिस घण्टासम्म प्रत्येक क्षण शरीर शिथिल बनाउने प्रयास गरिरहनुहोस् । राति सुत्ने बेलामा पनि यही प्रक्रिया दोहोर्‍याउन सक्नुहुन्छ । अर्काे शृंखलामा म मनोवलोकनका अरु थप विधिहरूबारे लेख्नेछु ।

Twitter : @Bodhighanashyam

प्रकाशित : चैत्र १७, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?