अस्ट्रेलियामा २ जनाभन्दा बढी भेला हुन नपाइने 

चैत्र १६, २०७६

नारायण खड्का

सिड्नी — कोभिड–१९ संक्रमण रोक्ने उद्देश्यले अस्ट्रेलिया सरकारले आफ्नो परिवार बाहेक सार्वजनिकस्थलमा २ जना बढी भेला हुन नपाउने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार पत्रकार सम्मेलनमार्फत उक्त कुरा बताएका हुन् । 

संक्रमण रोक्न हरेक दिन कडा कदम चाल्दै आएको सरकारले आफ्नो परिवार बाहेक अधिकतम २ जना मात्र भेला हुनसक्ने बताएकाे छ । यसभन्दा पहिले सार्वजनिकस्थलमा १० जनाभन्दा बढी भेला हुन नपाइने नियम लगाइएको थियो । यो नियम रोजगार तथा शैक्षिक संस्थामा भने लागू नहुने बताइएको छ । सरकारले याे भन्दा पहिले काजकिरियामा अधिकतम १० जना र विवाहमा ५ जनामात्र भेला हुन पाउने नियम लगाइसकेको छ । 


यसैगरी सत्तरी वर्षभन्दा माथिका वृद्धवृद्धलाई घरबाट बाहिर ननिस्कन समेत सुझाव दिइएको छ । 'यो अनिवार्य हैन तर आफ्नै सुरक्षाको लागि उनीहरुले आफूलाई सेल्फ आइसोलेसन गर्नु राम्रो हुनेछ ।' प्रधानमन्त्री मरिसनले भनेका छन् । उनले अत्यन्तै जरुरी कामका लागि बाहिर निस्कन भएपनि आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा मुख्य स्वास्थ्य अधिकारी डा ब्रान्डन मर्फिले सरकारले लगाएको सामाजिक दूरीको नियम प्रभावकारी देखिएको बताउँदै सरकारको सुझावलाई पालना गर्न आग्रह गरेका छन् । 


यसैबीच सरकारले आइतबार १ अर्ब १० करोडको जनस्वास्थ्यका लागि सुविधा योजना सार्वजनिक गरेको छ । यस भाइरसका बाबजुद सर्वसाधारणलाई स्वास्थ्य सुविधा पुर्याउनका लागि टेलिहेल्थ, मानसिक स्वास्थ्य, घरेलुु हिंसा लगायतका क्षेत्रमा खर्च गरिनेछ।  

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully