बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु- समाचार - कान्तिपुर समाचार

बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु

कोरोना संक्रमण भए/नभएको पुष्टि हुन बाँकी
अमृता अनमोल

बुटवल — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा उनको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको मृत्यु भएको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना अस्थायी अस्पतालमा एक जनाको मृत्यु भएको तर कोरोना वा अन्य कारणले भन्ने पुष्टि नभएको जानकारी दिए ।


अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती चैत १३ गते अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो । उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ । डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरे पनि सुरक्षा अभावमा लैजान सकेको थिएन ।


परिवारका सदस्यअनुसार उनी चैत २ गते दुबईबाट नेपाल फर्किएका थिए । सामान्य ज्वरो आएको भन्दै बेवास्ता गरेका उनले स्थानीय क्लिनिकबाट सिटामोल किनेर खाएका थिए । तर निको नभएर ज्वरोले च्याप्दै गएपछि उनी बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । मृतकका परिवार र उनी बस्दै आएको घरका परिवारलाई पनि आइसोलेसनमा राखिएको छ।

प्रकाशित : चैत्र १६, २०७६ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनमा व्यस्त विश्वविद्यालयका प्राध्यापक

कोही अध्ययन–अनुसन्धान गर्दै, कोही अनलाइनबाट पढाउँदै  
सुदीप कैनी

काठमाडौँ — लकडाउन छ । सबै विश्वविद्यालय बन्द छन् । यति बेला त्यहाँ पढाउनेहरू फुर्सदिला होलान् भनेर अनुमान गरियो भने सही नहुन सक्छ । जस्तो– काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक विकास अधिकारी । उनी चार दिनदेखि अनलाइनबाटै विद्यार्थीलाई पढाइरहेका छन् । ‘स्नातकोत्तर तहका विद्यार्थीलाई स्काइपबाट दिनमा दुई घण्टा पढाउँछु’ उनले सुनाए । 

अधिकारीले लकडाउन लम्बिने देखिएपछि विद्यार्थीलाई पढाउन थालेको बताए । धुलिखेलस्थित विश्वविद्यालयको क्वार्टरमा बसिरहेका उनी आठ विद्यार्थीसँग एउटै समयमा स्काइपमा भेटिएर छलफल गर्छन् ।

विश्वविद्यालय बन्द रहेको मौकामा अधिकारीले किताब पनि लेखिरहेको जानकारी दिए । उनले सिभिल र वातावरण इन्जिनियरिङका विद्यार्थीका लागि उपयोगी हुने ‘एकीकृत फोहोरमैला व्यवस्थापन’ सम्बन्धी किताब लेख्दै गरेका हुन् ।

विश्वविद्यालय अनुदान आयोगका सदस्यसमेत रहेका अधिकारीले विश्वविद्यालयका पदाधिकारीसँग रोकिएका परीक्षा अनलाइनबाटै सञ्चालन गर्न प्रस्ताव राखेको सुनाए । ‘परीक्षणका रूपमा अनलाइन परीक्षा चलाउन सकिन्छ,’ उनले भने, ‘परीक्षा राम्रोसँग गर्न सके राम्रै हुन्छ, नसके पनि कमीकमजोरी पत्ता लगाएर सुधार गर्ने मौका पाइन्छ ।’ यो परीक्षण ११ वटै विश्वविद्यालयलाई काम लाग्ने उनले बताए । अहिले परीक्षण गरेर आगामी दिनमा प्राकृतिक प्रकोप लगायतका संकटका बेला अनलाइनबाट परीक्षा लिन सकिने उनको तर्क छ ।

प्राध्यापक विद्यानाथ कोइरालाले लकडाउनलाई घरमै बसेर उपयोग गरिरहेका छन् । उनले विदेशी शिक्षण पद्धतिको अध्ययन गर्नुका साथै संकटको अवस्थामा जुध्ने उपायबारे लेख तयार गर्ने गरेका छन् । विश्वमै उत्कृष्टमध्ये एक मानिने फिनल्यान्डको बालबालिकासम्बन्धी शिक्षण पद्धति अध्ययन गरिरहेको कोइरालाले बताए । ‘यहीबीचमा दुई विद्यार्थीको पीएचडी शोधपत्र अध्ययन गरेर सुझाव दिइसकेँ,’ उनले सुनाए, ‘बाहिर ननिस्किएको मात्र हो, घरभित्रै बसेर समय उपयोग गरिरहेका छु ।’

प्राध्यापक कोइरालाले लामो छुट्टीका बेला विद्यार्थीलाई पढाइसँगै सीप सिकाएर र मनोरञ्जनसहितको प्याकेज दिएर भुलाउन सुझाव दिए । उनी आफैं पनि नातिसँग हरेक दिन केही समय बिताउने गर्छन् । स्कुले नातिलाई ससाना प्रयोगबाट व्यावहारिक ज्ञान दिन्छन् । शुक्रबार मात्रै उनले नातिलाई बालुवा कसरी बन्छ भनेर सोधे । नातिले जवाफ दिन नसकेपछि दुइटा ढुंगा ल्याएर त्यसलाई रगड्न लगाए । त्यसबाट स–साना कण निस्किए । ‘विभिन्न प्रयोग गरेर बालबालिकालाई सिकाउन सकिन्छ,’ उनले कान्तिपुरसित भने ।

शनिबार फोन गर्दा खुला विश्वविद्यालयका उपकुलपति प्राध्यापक लेखनाथ शर्मा त्रिभुवन विश्वविद्यालय र फिनल्यान्डका दुई विश्वविद्यालयका प्राध्यापकसँग अनलाइन मिटिङमा व्यस्त थिए । यी चार विश्वविद्यालयले ‘२१ औं शताब्दीका सीपलाई प्रयोगमा ल्याउने तरिका’ सम्बन्धमा ‘प्रोजेक्ट’ सञ्चालन गर्दै छन् ।

लकडाउन भएयता घरमै बसेर अफिसको काम गरिरहेको शर्माले सुनाए । ‘कोभिड–१९ को संक्रमण फैलँदै गए विश्वविद्यालयको पढाइ अझै प्रभावित हुन सक्छ । त्यसैले खुला विश्वविद्यालयबाट अनलाइन पठनपाठनलाई निरन्तरता दिन छलफल गरिरहेका छौं,’ उनले भने ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका सहप्राध्यापक ईश्वरीप्रसाद कडरिया भने कोभिड–१९ माथि नै अध्ययनमा जुटेका छन् । ‘कोभिड–१९ को उपत्ति, फैलावट र परीक्षणका प्रयासहरूबारे तयार भएका विभिन्न रिसर्च पेपर पढिरहेको छु,’ उनले भने ।

कडरिया जैविक प्रविधि केन्द्रका निर्देशक पनि हुन् । ‘मेरो विषयसँग मिल्ने भएकाले अध्ययनमा लागेको हुँ,’ उनले सुनाए, ‘काठमाडौं विश्वविद्यालयका चिकित्सा शिक्षाका प्राध्यापकहरूसँग पनि छलफल र परामर्श गरिरहेको छु ।’

उनले प्रयोगशालाको स्तरोन्नति भएको अवस्थामा आफू कार्यरत विश्वविद्यालयमा कोभिड–१९ को थप परीक्षण कसरी गर्न सकिन्छ भनेर आन्तरिक गृहकार्य पनि गरिहेको जानकारी दिए । उनले स्मार्ट कृषि र जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे रिसर्च पेपरहरू पनि अध्ययन गरिरहेका छन् । ‘फुर्सदका बेला आफ्नै क्षेत्रसँग मिल्ने विषयवस्तुमा बढी समय लगाएको छु,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद दवाडीले कोभिड–१९ सम्बन्धी सूचना र समाचारमै धेरै चाख दिइरहेको बताए । उनी विश्वभरको छिनछिनको अपडेट लिइरहेका हुन्छन् । उनले जलवायु परिवर्तनले पहाडी र हिमाली क्षेत्रमा पारेको प्रभावबारे अध्ययन गरिरहेको जानकारी दिए । ‘अरू बेला पूरै समय आफ्नो काममा दिन पाइँदैनथ्यो । विश्वविद्यालयमै बढी व्यस्त भइन्थ्यो,’ उनले भने, ‘अहिले अध्ययनका लागि राम्रो मौका पाइएको छ ।’

मनोविज्ञानकी प्राध्यापक शान्ता निरौला नेपाली साहित्यकारले लेखेका पुस्तक पढ्न व्यस्त छिन् । उनले आफ्नै पुराना पुस्तकको रिभ्यु गर्न र घर वरपर सरसफाइमा पनि लकडाउनको समय उपयोग गरिरहेकी छन् । उनी देश–विदेशमा रहेका आफन्त र साथीहरूसँग नियमति सर्म्पकमा छिन् । ‘यस्तो संकटका बेला मानसिक समस्या पनि देखिन सक्छ,’ उनले भनिन्, ‘फोन, इन्टरनेटबाट आफ्ना कुरा आफू निकटलाई सुनाउने र उनीहरूको कुरा पनि सुन्ने गरे तनावबाट मुक्ति मिल्न सक्छ ।’

प्रकाशित : चैत्र १६, २०७६ १५:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×