बुटवलमा कोरोना अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृत्यु

कोरोना संक्रमण भए/नभएको पुष्टि हुन बाँकी

चैत्र १६, २०७६

अमृता अनमोल

बुटवल — बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको आइतबार मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा उनको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचाररत ३४ वर्षीय युवकको मृत्यु भएको हो ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना अस्थायी अस्पतालमा एक जनाको मृत्यु भएको तर कोरोना वा अन्य कारणले भन्ने पुष्टि नभएको जानकारी दिए । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती चैत १३ गते अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि  लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो । उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ । डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरे पनि सुरक्षा अभावमा लैजान सकेको थिएन । 

परिवारका सदस्यअनुसार उनी चैत २ गते दुबईबाट नेपाल फर्किएका थिए । सामान्य ज्वरो आएको भन्दै बेवास्ता गरेका उनले स्थानीय क्लिनिकबाट सिटामोल किनेर खाएका थिए । तर निको नभएर ज्वरोले च्याप्दै गएपछि उनी बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । मृतकका परिवार र उनी बस्दै आएको घरका परिवारलाई पनि आइसोलेसनमा राखिएको छ।

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully