कोरोना संक्रमणबाट हंगेरीमा बेलायती कूटनीतिज्ञको मृत्यु

एजेन्सी

लन्डन — कोराना भाइरस(कोभिड–१९) को संक्रमणबाट हंगेरीमा एकजना बेलायती कूटनीतिज्ञको मृत्यु भएको छ । बेलायती विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार हंगेरीको राजधानी बुडापेस्टमा रहेको बेलायती दूतावासमा कार्यरत ३७ वर्षीय स्टिभन  डिकको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट हंगेरीमा बेलायती कूटनीतिज्ञको मृत्यु

दूतावासमा ‘डेपुटी हेड अफ मिसन’ का रुपमा कार्यरत स्टिभनको मृत्यु मंगलबार भएको बेलायती विदेश मन्त्रालयले जानकारी दिएको छ ।

बेलायती विदेश सचिव डोमिनिक राबले स्टिभनको मृत्युले आफू निकै दुःखी भएको बताएका छन् । ‘स्टिभनको निधनको खबरले म अत्यन्तै मर्माहत भएको छु । यो दुःखद घडीमा म उनका बुवा स्टिभन र आमा क्यारोललाई समवेदना प्रकट गर्न चाहन्छु,’ राबले भने । स्टिभन गत हप्तादेखि अस्वस्थ भएको र स्वास्थ्य परीक्षण गराउँदा कोभिड-१९ को संक्रमण देखिएको थियो ।

सन् २००८ मा बेलायती विदेश सेवामा आबद्ध भएका स्टिभनले साउदी अरब र अफगानिस्तानमा रहेका बेलायती दूतावासमा पनि काम गरेका थिए । हंगेरीमा उनी बेलायती राजदूत आयन लिन्ड्सेको प्रमुख सल्लाहकारको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बेलायतका अहिलेसम्म कोरोना भाइरसबाट ९ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ । त्यस्तै हंगेरीमा २६१ जना संक्रमित हुँदा १० जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?