कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आफन्त गुमाएका खेलाडीका पीडा

एपी

रोम — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सयभन्दा बढी सदस्यसामु उभिँदा सोफिया गोगिया र मिखेला मोइओलीलाई लागेको थियो, आफूहरू सफलताको शिखरमा छौं । दुवै ओलम्पिक स्वर्ण पदक विजेता हुन् ।

आफन्त गुमाएका खेलाडीका पीडा

गोगिया स्की खेलाडी हुन् भने मोइओली स्नो बोर्डरका । यिनै दुई खेलाडीको प्रदर्शनका कारण मिलान र क्रोरटिनाले सन् २०२६ को शीतकालीन ओलम्पिक आयोजना गर्ने अवसर पाएको मानिन्छ । त्यसको केही महिनापछि यिनै दुई खेलाडीलाई लागेको छ, आफूहरूमुनिको जमिन भासिरहेको छ ।


ओलम्पिक स्वर्ण विजेता मिखेला मोइओली र सोफिया गोगिया फाइल तस्बिर : एजेन्सी


गोगिया र मोइओली दुवै उत्तरी इटालीको बेरगामो सहरको घरमा बन्द अवस्थामा छन् । उनीहरू कोरोना भाइरसबाट बच्न संघर्षरत छन् । अहिले उनीहरू मृत्युबाट घेरिरहेका छन् । मोइओलीका हजुरआमाको भर्खरै कोरोना भाइरस संक्रमित भएपछि निधन भएको छ । संक्रमण त उनका हजुरबुवालाई पनि भएको छ । उनी भने अस्पतालमा छन्, सघन उपचारकक्षमा । मोइओलीले भन्छिन्, ‘अहिले युद्धको भयावह स्थिति जस्तो छ । पूरा सहर भयभित छ ।’


सहरमा केही सुनिन्छ भने त्यो खाली मृत्युको संकेत गर्ने चर्चको घण्टको आवाज हुने गर्छ । अथवा एम्बुलेन्सको आवाज । अहिले त कसैको मृत्यु हुँदा मलामी जाने पनि हुन छाडेका छन् । मोइओली थप्छिन्, ‘हाम्रो सहरमा प्रत्येक परिवारले कोही न कोही गुमाएको छ ।’


बेरगामो सहरका वासिन्दाले सुरुमा कोरोना भाइरसको संक्रमणपछि खाली साधारण लक्षणमात्र देखे । जस्तो, ज्वरो र खोकी । केही वृद्धवृद्धालाई पनि समस्या भएको थियो ।


इटालीको स्थानीय पत्रिकामा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको संक्षिप्त विवरण तस्बिर : एजेन्सी

यस्तै स्थिति लामो समयदेखि विरामी हुनेलाई भएको थियो । तर धेरै अहिले भाइरसको संक्रमणबाट तंग्रिन्दै छन् । कोरोनो भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित बेरगामो सहरलाई यस महामारीको केन्द्र मानिएको छ । परिवारको बिरामी सदस्यसामु जान पनि अरूलाई अप्ठ्यारो हुने गरेको छ । पारम्परिक रूपमा मृत्यु संस्कार पनि राम्रो ढंगले हुन सकेका छैनन् । यसै साता मात्र सेनाको गाडीमा ६५ शव ओसारिएको छ ।


‘यो नै हाम्रो घरतिरको कथा हो,’ गोगियाले ट्विट गरेकी छिन् । उनले त्यस्तो तस्बिर आफ्नो सामाजिक सन्जालमा राखेकी छन्, जसमा सेनाका गाडीले मृत शरीर ओसारिरहेको थियो । बेरगामो सहरका लागि खासमा यो वर्ष निकै सुखद हुनुपर्ने हो किनभने यस सहरको फुटबल क्लब एटलान्टा केही समयअगाडि मात्र युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलका लागि छनोट भएको थियो । यो क्षेत्रीय स्तरको क्लबका लागि ठूलो सफलता हो ।


अहिले यही च्याम्पियन्स लिग पनि कहिले फेरि सुरु हुने हो, टुंगो छैन् । गोगियाले इन्स्ट्राग्राममा लेखेकी छन्, ‘उमेर भएका हाम्रा अभिभावकले बेहोरिरहेको समस्या देखेर मेरो मन छियाछिया भएको छ । उनीहरूले निकै दुःख पाइरहेका छन् ।’ सन् २०१८ को प्योङयाङ ओलम्पिकमा गोगियाले स्वर्ण जितेकी थिइन् । मोइओलीको सफलता पनि त्यही बेला प्राप्त भएको हो । उनी भन्छिन्, ‘आफ्न्तको मृत्युको बेला पूरा परिवार जम्मा हुने समय पनि छैन । जति बेला यो समस्या सकिने छ, मलाई विश्वास छ, हामी अझै मानवीय भावनाका हुनेछौं ।’

प्रकाशित : चैत्र १३, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?