कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सकारात्मक रहन केनको अनुरोध

एएफपी

लन्डन — टोटेनहम स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिग फेरि सुरु हुँदासम्म आफू फिट भइसक्ने विश्वास देखाएका छन् । उनले सबै फुटबलप्रेमीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न पनि अनुरोध गरेका छन् ।

सकारात्मक रहन केनको अनुरोध

साउथह्याम्पटनविरुद्ध नयाँ वर्षको पहिलो दिन भएको खेलमा केन घाइते भएका थिए । उनी ह्यामस्ट्रिङ चोटबाट गुज्रिएका थिए र यसैक्रममा मैदान बाहिर रहे । यसै कारणले इंग्लिस टिमका कप्तानसमेत रहेका केन शल्यक्रिया गरेका थिए ।


व्यवस्थापक जोसे मोउरिन्होले यसअघि सिजनको अन्त्यसम्म केन फिट हुनेमा शंका व्यक्त गरेका थिए । तर कोरोना भाइरसका कारण लिग स्थगित रहेको स्थितिमा केनलाई लिगका बाँकी खेलमा फर्कने मौका मिलेको हो । उनको चोट अपेक्षाभन्दा चाँडै निको भएको थियो । मैदानमा फर्कन अभ्यास गरिरहेका २६ वर्षीय केन खेल सुचारु हुँदासम्म उपलब्ध हुनेछन् । लिग कम्तीमा अप्रिल ३० सम्मका लागि स्थगित छ । केनले भनेका छन्, ‘दुई तीन साताभित्र म मैदानमा फर्कन सक्षम हुनेछु ।’उनले थपे, ‘म मैदानबाट अब धेरै दिन टाढा हुने छैन । मैले राम्रो पनि गरिरहेको छु । मेरो पूरा ध्यान फिटनेसमा छ ।


मेरो आफ्नो व्यक्तिगत दृष्टिकोणमा म राम्रो लयमा छु । यो मेरो व्यक्तिगत विचार हुनसक्छ, तर म अहिले राम्रो महसुस गरिरहेको छु । म यो सिजन कसरी अगाडि बढ्नेछु, त्यसको पनि पर्खाइमा छु ।’ कोरोना भाइरसका कारण फुटबल मात्र होइन, पूरा विश्व स्तब्ध रहेको स्थितिले केनले आफूलाई पनि आश्चर्य पारेको बताए ।


केनले अहिले घरमै अभ्यास गरिरहेका छन् र टोटेनहमले ‘लक–डाउन’ को बेला आ–आफ्नो घरमा रहेका सबै खेलाडीलाई व्यक्तिगत अभ्यास जारी राख्न भनेका छन् । क्लबले खेलाडीलाई कसरी फिट रहने हो भने त्यस अनुसारको कार्यक्रम तालिका पनि दिएको छ । ‘मेरो पूरा परिवारलाई ठीक छ । हामी मात्र होइनौं, सबै खाली कोरोना भाइरसबाट मात्र सोचिरहेका छन् । मलाई पूरा विश्वास छ, यो प्रकोपबाट हामीले छिट्टै मुक्ति पाउने छौं र सबै ठीक हुनेछन्,’ उनले भने ।


केनले टोटेनहमका लागि यस सिजन सबैखाले प्रतियोगितामा १७ गोल गरिसकेका छन् । उनको अनुपस्थितिमा खराब लयबाट गुज्रिरहेको टोटेनहम युरोपेली च्याम्पियन्स लिग र एफए कपबाट पनि बाहिरिइसकेको छ । उनको अनुभव छ, ‘वास्तवमै अहिले निकै अनौठो र अविश्वसनीय स्थिति रहेको छ । हामी कसैले पनि यसअघि यस्तो स्थिति आउने छ भनेर कल्पनासमेत गरेका थिएनौं । तर यस्तो स्थितिमा सकारात्मक र सावधान रहनु एकमात्र उपाय हो ।’

प्रकाशित : चैत्र १३, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?