चीनले हुबेईको लकडाउन बुधबारदेखि हटाउने, ग्रेटवाल आंशिक रुपमा खुला

चैत्र ११, २०७६

एजेन्सी

बेइजिङ — कोरोना भाइरस(कोभिड–१९) को इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तमा गरिएको ‘लकडाउन’ बुधबारदेखि हटाइने भएको छ । मंगलबार चिनियाँ अधिकारीहरुले वुहान बाहेक हुबेईका अन्य ठाउँमा लकडाउन हटाइने जानकारी दिएका हुन् ।

कोभिड–१९ को प्रकोप कम हुँदै गएको र बाहिरबाट आएकाहरुमा मात्रै संक्रमण देखिएको भन्दै चीनले लकडाउन हटाउन लागेको हो । मंगलबार हुबेईको प्रान्तीय सरकारले बुधबार रातिदेखि यातायात सञ्चालन गर्ने तयारी थालेको जानकारी दिएको छ । बुधबार रातिदेखि हुबेईभित्र र बाहिर यात्रा गर्न पाइनेछ । तर यात्रा गर्नका लागि भने सबै नागरिकले ग्रीन कोड लिनुपर्ने अधिकारीहरुले जनाएका छन् । ग्रीन कोड अलीपे एपमार्फत लिन सकिन्छ । वुहानमा भने अप्रिलको पहिलो सातादेखि लकडाउन हटाउने तयारी रहेको पनि अधिकारीहरुले बताएका छन् ।


त्यस्तै विश्वकै प्रमुख पर्यटकीय गन्तव्य मानिने ग्रेट वालका केही भाग पनि सर्वसाधारणका लागि खुला गरिएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । ग्रेटवालको बेई लिउ लोउदेखि नान वु लोउ बानसम्मको खण्ड मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो । मंगलबारदेखि हरेक दिन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म यो खण्ड पर्यटकका लागि सर्वसाधारणका लागि खुला गरिने भएको छ । 


गत डिसेम्बरमा हुबेईको वुहानबाट घातक कोभिड–१९ को संक्रमण सुरु भएपछि जनवरी २३ देखि पूर्ण  रुपमा लकडाउन गरिएको थियो । 


युरोप र अमेरिकामा संक्रमण फैलिइरहेका बेला चीनमा भने नियन्त्रणउन्मुख रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । सोमबार हुबेईमा ६ दिनयता पहिलो पटक एकजनामा मात्रै संक्रमण देखिएको थियो ।


त्यस्तै सोमबार चीनभर थप ७८ जनामा भाइरसको संक्रमण देखिएको र तीमध्ये ७४ जनामा बाहिरबाट आएका वा बाहिरबाट आएका व्यक्तिसँगको सम्पर्कमा भएका कारण संक्रमण देखिएको पनि आयोगले जनाएको छ । 

मंगलबार दिउँसोसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट ३ हजार २ सय ७७ को मृत्यु भएको छ । त्यस्तै ८१ हजार एक सय ७१ जना संक्रमित हुँदा ७३ हजारभन्दा बढी निको भएका छन् ।

एजेन्सी

Link copied successfully