कोराेनाका कारण ५० करोड विद्यार्थी शिक्षाबाट वञ्चित

कम्तीमा ५६ राष्ट्रले राष्ट्रव्यापी रूपमा शैक्षिक संस्था बन्द गराएका छन् ।

चैत्र ३, २०७६

एजेन्सी

जेनेभा — कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ५० करोड विद्यार्थी विद्यालय वा विश्वविद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्र संघीय एजेन्सीले युनेस्कोले जनाएको छ ।

भाइरस संक्रमण नफैलियोस् भनेर विश्वका कम्तीमा ५६ राष्ट्रले राष्ट्रव्यापी रूपमा र १७ राष्ट्रले स्थानीय रूपमा शैक्षिक संस्था बन्द गरेका कारण करोडौं विद्यार्थी शिक्षाबाट वञ्चित भएको युनिसेफले सोमबार बताएको हो । ‘एकै समयमा एउटै समस्याका कारण विश्वका अधिकांश राष्ट्र प्रभावित भएकाले हामीले असहज परिस्थितिको सामना गरिरहेका छौं,’ शिक्षाका लागि युनेस्कोकी उपमहानिर्देशक स्टेफानिया गियान्निनीले बताइन् । ‘हामीले वर्तमान परिस्थितिले सिर्जना गरेको शैक्षिक अवस्थाको विषयमा मात्र हैन, शैक्षिक प्रणालीमा लामो समयदेखिको समस्याका बारेमा पनि मिलेर काम गर्नुपर्ने भएको छ,’ उनले भनिन् ।


युनेस्कोले गत साता कोरोना महामारीका कारण प्रत्येक पाँचमध्ये एक विद्यार्थी विद्यालयबाहिरै रहेको बताएको थियो । उसलै चारमध्ये एक विद्यार्थी विश्वविद्यालय शिक्षाबाट वञ्चित रहेको तथ्यांक पनि सार्वजनिक गरेको थियो । युनेस्कोले गत साता यस्तो विवरण सार्वजनिक गर्दा विश्वका मात्र १५ राष्ट्रले देशव्यापी र १४ राष्ट्रले क्षेत्रीय रूपमा शैक्षिक संस्था बन्द गरेका थिए । त्यसबेला मात्र ३६ करोड ३० लाख विद्यार्थी विद्यालयबाहिर थिए ।

युनेस्कोले कोभिड–१९ प्रभावित राष्ट्रसँग मिलेर सिकाइमा निरन्तरता दिन ‘उच्च प्रविधि, कम प्रविधि वा प्रविधिविहीन समाधान विधि’ बारे छलफल गरिरहेको बताएको छ । सोमबार साँझसम्ममा विश्वका १ सय ४६ राष्ट्रमा कोभिड–१९ संक्रमित पुष्टि भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । उसका अनुसार विश्वभर १ लाख ६४ हजार ८ सय ३७ जना संक्रमित भेटिएका छन् भने मृतक संख्या ६ हजार ४ सय ७० पुगेको छ । सबैभन्दा बढी चीनमा ८१ हजार ७७ जना संक्रमित र ३ हजार २ सय १८ मृतक छन् ।

चीनपछि इटालीमा २४ हजार ७ सय ४७ संक्रमित र मृतक १ हजार ८ सय ९ पुगेको छ । इरानमा १३ हजार ९८३ संक्रमित र ७ सय २४ मृत्यु भएको छ भने स्पेनमा ७ हजार ७ सय ५३ संक्रमित र २ सय ८८ को मृत्यु भएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully