कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

सुरेशराज न्यौपाने

नयाँदिल्ली — विश्‍वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतले प्रस्ताव गरेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीको रुप लिएको कोरोनाविरुद्ध लड्न त्यस्तो साझा रणनीतिको प्रस्ताव गरेका हुन् ।

कोरोना भाइरस फैलिएपछि मोदीले सम्झिए सार्क, साझा रणनीति बनाउन प्रस्ताव

‘सार्क मुलुकहरुलाई कोरोनाविरुद्ध लड्न एउटा बलियो साझा रणनीति बनाउन प्रस्ताव गर्छु’ शुक्रबार ट्विट गर्दै मोदीले भनेका छन् । भारतले पाकिस्तानले सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै त्यो नरोकिएसम्म सार्क अघि बढ्न नसक्ने बताउँदै आएको थियो ।

भारत र पाकिस्तानबीचको सम्बन्धकै कारण सार्क विगत चार वर्षदेखि प्रायः निस्क्रिय बन्‍न पुगेको छ । ३० फागुन २०७२ मा पोखरामा भएको सार्क मन्त्रिपरिषद् बैठकले, जसमा तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफैं सहभागी थिइन्, १९ औं सार्क सम्मेलन कार्तिक २०७३ मा इस्लामावादमा गर्ने निर्णय गरेको थियो । तर, सोही वर्ष भदौमा भारत नियन्त्रित जम्मुकश्मिरको उरीमा पाकिस्तानी उग्रवादीको हमलामा १७ जना भारतीय सैनिक मारिएपछि सम्मेलन त स्थगित भयो नै भारत-पाकिस्तान सम्बन्ध पनि थप चिसिन पुग्यो ।

गत फागुनमा जम्मुकश्मिरको पुलवामामा भएको आत्मघाती बम हमलामा भारतको केन्द्रीय सुरक्षा बलका ४० जवानको ज्यान गएपछि त यी दुई छिमेकीबीचको सम्बन्ध थप तनावपूर्ण बन्यो । त्यसयता सार्क सम्मेलन कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन । जसकारण पुरै संगठनकै भविष्यमाथि प्रश्न उठ्न थालेको छ । सार्कलाई सक्रिय बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समकक्षी मोदीलाई धेरै पटक आग्रह गरिसकेका छन् । मोदीले भने पाकिस्तानले सीमापार आतंकवाद नरोकेसम्म सार्क अगाडि बढ्ने सम्भावना नरहेको बताउँदै जवाफ दिँदै आएका थिए । तर, कोरोनाले पुरै दक्षिण एसियाली चपेटामा लिँदै गएपछि मात्र मोदीले सार्कलाई सम्झेका हुन् ।

मोदीले ट्विटमार्फत सार्क मुलुकका नागरिकहरुलाई स्वस्थ राख्‍नका लागि आपसमा भिडियो कन्फरेन्समार्फत पनि छलफल गर्न सकिने उल्लेख गरेका छन् । ‘सबै मिलेर स्वस्थ ग्रह निर्माणमा योगदान गरेर विश्वसामु उदाहरण पेस गर्न सक्छौं’ मोदीले लेखेका छन् । त्यसैगरी उनले पुरै विश्व कोरोना भाइरसविरुद्ध लडिरहेको र यसमाथि नियन्त्रण पाउन विभिन्न तहमा सरकार तथा जनताले सक्दो प्रयास गरिरहेको समेत जनाएका छन् । विश्वको ठूलो जनसंख्याको घर दक्षिण एसियाले आफ्ना नागरिकहरुलाई विश्वस्त बनाउन छाड्न नहुने पनि मोदीले उल्लेख गरेका छन् ।

पुस दोस्रो साता चीनको वुहानबाट सुरु भएर विश्वका १२७ देशमा फैलिएको कोरानाले हालसम्म सवा लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । करिब ५ हजारको ज्यान गइसकेको छ । सार्क मुलुकभित्र भने ११८ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार बिहानसम्म भारतमा ७५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ को मृत्यु भइसकेको छ भने ३ जना निको भइसकेका छन् ।

दक्षिण एसियाका ८ मुलुकमध्ये भारत र पाकस्तिानमा कोरोनाका कारण एक/एक जनाको मृत्यु भएको छ भने भारतमा ७५ र पाकिस्तानमा २२ जना संक्रमण भएको पाइएको छ । अफगानिस्तानमा ९, माल्दभ्सिमा २, श्रीलंकामा ३, बंगलादेशमा ३, भुटानमा १ (अमेरिकी नागरिक), र नेपालमा १ (निको भइसकेको) जना संक्रमति फेला परेका छन् ।

यसैबीच, प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्ध सार्क मुलुक मिलेर लड्‍ने भारतीय समकक्षी मोदीको प्रस्तावलाई स्वागत गरेका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरिरहेका ओलीले ट्‌वीट गर्दै नेपाल सरकार आफ्‍ना नागरिकलाई महामारीबाट बचाउन सार्कको सदस्य राष्ट्रको हैसियतले मिलेर काम गर्ने प्रस्ट्याएका छन् ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?