कोभिड–१९ बाट बच्‍न नमस्ते गरौं : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस(कोभिड–१९) बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीचका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा नमस्ते गर्ने प्रचलनलाई निरन्तरता दिन ओलीले आग्रह गरेका हुन् । 

पूर्वीय संस्कृति मानिने नमस्ते अहिले पश्चिमा देशहरुमा समेत प्रचलनमा आएको छ । बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले नमस्ते गरेर कोभिड–१९ को संक्रमणबाट बच्‍न आग्रह गरेका छन् ।


प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्ध सार्क आपत्कालीन कोष खडा गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई स्वागत गर्दै ग्रामीण क्षेतमा अस्पताल तथा अनुसन्धान र उपचार सेवा विस्तार गर्नुपर्ने पनि सुझाव दिए । ‘हामीले औषधि तथा स्यानिटरी सामग्रीको आपूर्तिको राम्रो व्यवस्था गर्नुपर्छ,’ओलीले भने ।


प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा रहेका अस्पतालहरु कोभिड–१९ को परीक्षण र उपचारका लागि संयुक्त रुपमा प्रयोग गर्न सकिने पनि बताए । साथै कोभिड–१९ जस्तो महामारीबाट बच्‍नका लागि सार्कस्तरीय संयुक्त संयन्त्र बनाउनुपर्ने आवश्यकता पनि प्रधानमन्त्री ओलीले औंल्याए ।


सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भिडियो कन्फरेन्समा सहभागी भएका थिए । हालै मात्रै मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्य लाभ लिइरहेका प्रधानमन्त्री ओलीलाई कन्फरेन्समा सहभागी भएकोमा सबैले धन्यवाद दिँदै शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।


भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीका साथै अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी थिए । प्रकाशित : चैत्र २, २०७६ १९:४३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विषाक्त मदिरा सेवनबाट धुनषामा मृत्यु हुनेको संख्‍या २१ पुग्यो

श्यामसुन्दर शशि

जनकपुर — विषाक्त मदिरा सेवन गरी धनुषामा मृत्यु हुनेहरुको संख्या २१ पुगेको छ । उपचारार्थ प्रादेशिक अस्पताल जनकपुर भर्ना गराइएकामध्ये २ जनाको अस्पतालमै तथा एक जनाको घरमा गरी आइतबार तीन जनाको मृत्यु भएको छ । यसरी जिल्लामा विषाक्त मदिरा सेवन गरी मृत्यु हुनेको संख्या २१ पुगेको हो ।



फागु पर्व भन्दा एक साताअघिदेखि क्षिरेश्वरनाथ नगरपालिका १ र २ को रमदैयामा सुरु भएको विषाक्त मदिरा सेवन गर्दा उक्त गाउँका १४ जनाको मृत्यु भइसकेको छ भने दुई दिन यता जनकपुर उपमहानगरपालिका-७ मुसहरी टोलका ६ जनाको तथा फागु पर्वकै दिन बुधबार रातिपरवाहामा एकजनाको मृत्यु भएको थियो।

विषाक्त रक्सी सेवन गरी क्षिरेश्वर नपा १ का ४५ वर्षीय रामबहादुर यादव,जनकपुर-७ का जितेन्द्र सादा र रामो महराको आइतबार मृत्यु भएको छ। जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहका अनुसार– विषाक्त रक्सी सेवनगरी वडामा झगरु सदा, मिथिला सदा, बनारसी सदा तथा रामरती सदागरी कूल ६ जनाको मृत्यु भएको छ।
मृतक इन्द्रजीत महराका भाई रंजीत महराका अनुसार एक सातायता क्षिरेश्वरनाथ नपा १ र २ रमदैयामा ब्रह्मदेव यादव, गुदरी महरा, रामनारायण महरा, रंजीत महरा, राजु महरा, दशैया महरा, श्रीदेव यादव, निरज यादव, रामबहादुर यादव, रामविलास मण्डल ,शत्रुघ्न मण्डल, विजय सदा, भुनटुन सदा र रामसखी देवी सदाको मृत्यु भएको छ।

स्थानीयवासीका अनुसार विषाक्त रक्सी सेवन गरी बिरामी भएका राम ईश्वर महरा, प्रदीप सादा भरत मण्डल , मनिर नदाफ, भरत सादा तथा सीताराम यादवको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

यसबीच रमदैयामा विषाक्त रक्सी सेवन गरी मृत्यु हुनेहरुका आश्रित परिवारलाई पूर्वमन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ का सांसद रघुवीर महासेठ आइतबार घरदैलोमै पुगी जनही २० हजार नगद प्रदान गरेका छन्। उनले गाउँलाई मदिरामुक्त गाउँ घोषणा गर्नुपर्ने आह्वान पनि गरे।

यसबीच क्षिरेश्वरनाथ नगरपालिका-१ का वडाध्यक्ष श्यामकिशोर यादवले सिँगै वडालाई मदिरामुक्त वडा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘यसअघि पनि वडा समितिले जाँडरक्सी मुक्त वडा घोषणा गरेकै थियो। अब यस निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्नेछौं,’ यादव कान्तिपुरसँग भने।

यता जनकपुरनगरको परिक्रमा क्षेत्रलाई मदिरा मुक्त घोषणा गर्नुपर्ने अभियान सञ्चालन गर्दै आएका जनकपुर उपमहानगरपालिका-७ का वडाध्यक्ष जानकीराम साहले मृतकहरु परिक्रमा सडक भन्दा बाहिर गएर मदिरासेवन गरेको बताएका छन्। आफूले सञ्चालन गरेको अभियान अझ कडाइका साथ कार्यान्वयन गर्ने उनले बताए।
मदिरा सेवनबाट धनुषामा यसअघि पनि मृत्यु भएका थिए

विषाक्त मदिरा सेवन गरी ज्यान गुमाउने घटना धनुषाका लागी नौलो होइन। दुई वर्ष अघि पूर्वी धनुषाको कमला नगरपालिकामा विषाक्त मदिरा सेवनबाट ८ जनाको मृत्यु भएको थियो। कमला नपा ६ मडानका ३८ वर्षीय राजवीर महतो र ५२ वर्षिय गंगा पाश्वान , कमला नगरपालिका ५ लक्करका ३७ वर्षीय मनिक पाश्वान, ५५ वर्षीय रामचन्द्र पाश्वान र ४० वर्षीय रामनाथ पाश्वान तथा कमला नगरपालिका ६ सिन्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारी सहित ८ जनाको मृत्यु भएको थियो।

२०४८ सालमा विषाक्त रक्सी सेवन गरी जनकपुरमा १९ जनाको मृत्यु भएको थियो भने २०६२ सालमा पनि आधा दर्जन व्यक्तिको मृत्यु भएको थियो।

प्रहरी प्रशासनको मिलिमतो तथा राजनीतिक दलका नेताहरुको संरक्षणमा अवैध मदिरा उत्पादन जिल्लामा बेरोकटोक हुँदै आएको छ। अवैधमदिरा उत्पादकहरु सरोकारवालाहरुलाई विधिवत महिनावारी रकम नै दिने गरेका छन्।

पूर्व–पश्चिम राजमार्गको दुवैतिर अवस्थित वीरेन्द्र बजार,गोदार, छघरिया, मुलावारी,यज्ञभूमि, हहिहरपुर, चिसापानी, लगायतका एक दर्जन अधिक गाउँमा खुल्ला रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको छ।

प्रकाशित : चैत्र २, २०७६ १९:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×