कोभिड-१९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ : मोदी

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गरेका छन् । 

आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त आपत्कालीन कोष स्थापनाका लागि प्रस्ताव गरेका हुन्।


भारतीय प्रधानमन्त्री मोदीले हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने पनि बताए। मोदीले यस कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर(करिब एक अर्ब नेपाली रुपैयाँ) बराबरको राशी कोषमा जम्मा गर्ने पनि बताए। साथै मोदीले सार्क मुलुकका लागि विशेष 'मेडिकल रेस्पोन्स टिम'को प्रस्ताव गर्दै भारतीय चिकित्सकहरुको 'र्‍यापिड रेस्पोन्स टिम' पनि कोभिड-१९ को प्रकोप नियन्त्रणका लागि खट्ने जानकारी दिए।


कोभिड–१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लाग्‍ने बताए। मोदीले सार्क राष्ट्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने पनि बताए।


भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी छन्।


यो पनि पढ्नुहोस्ः

कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी प्रकाशित : चैत्र २, २०७६ १८:३३

प्रतिक्रिया
पठाउनुहोस्

संसद्का महासचिव भट्टराईको कार्यकाल पूरा, योगीलाई जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेका छन् । भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि खाली भएको संसद्को महासचिवको जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद् प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई दिइएको छ ।

सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा महासचिवले गर्दै आएका कामको जिम्मा सचिव योगीलाई दिएको उनले लेखेको पत्रमा उल्लेख छ।

सभामुख सापकोटाको पत्रमा लेखिएको छ, 'अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवले गर्न भनी प्रतिनिधिसभा नियमावली, २०७५ तथा राष्ट्रिय सभा नियमावली २०७५ र संघीय संसद् सचिवालय सम्बन्धी ऐन,२०६४ तथा सो अन्तर्गत बनेका नियमावली बमोजिम तोकिएका कार्यहरू गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २ को खण्ड (ट) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाको अध्यक्षको परामर्शमा तपाईंलाई तोकेको छु।'

भट्टराईले यसअघि संविधानसभा तथा व्यवस्थापिका संसदको पनि महासचिव भएर काम गरेका थिए।

सचिव योगीलाई सोमबारबाट अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको कार्यभार सम्हाल्न भनेर सभामुखले जिम्मेवारी दिएका हुन्।

प्रकाशित : चैत्र २, २०७६ १८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×