कोरोना प्रकोपबाट डराउनुभन्दा एकजुट हाैं : माेदी

चैत्र २, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस(कोभिड–१९) को प्रकोपबाट डराउनुभन्दा एकजुट भएर सामना गर्नुपर्ने बताएका छन् । आइतबार सार्क देशका सबै सदस्य राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिसँगको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले सार्क देश सावधानीपूर्वक कोभिड–१९ विरुद्ध लड्‍नुपर्ने बताएका हुन् ।

कन्फरेन्सको सुरुवातमै सम्बोधन गरेका भारतीय प्रधानमन्त्री मोदीले सार्क देशमा १५० भन्दा कम केस देखिएको उल्लेख गर्दै भारतले कोरोनासम्बन्धी जागरुता अभियान चलाइरहेको जानकारी दिए । त्यस्तै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेकाले निकै सतर्कतापूर्वक यसविरुद्ध अभियान चाल्नुपर्ने मोदीले बताए ।

— Narendra Modi (@narendramodi) March 15, 2020


भारतमा जनवरीदेखि नै स्क्रीनिङ भइरहेको र कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै विभिन्न देशमा रहेका एक हजार ४ सय भारतीय नागरिकको उद्धार गरिएको पनि मोदीले जानकारी दिए । केही छिमेकी मुलुकका नागरिकलाई पनि भारतले उद्धार गरेको उनले बताए । भारतीय प्रधानमन्त्रीले हालै मिर्गौला प्रत्यारोपण गराएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडियो कन्फरेन्समा आएकोमा विशेष धन्यवाद पनि दिए ।


भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी छन् ।

कोभिड-१९ विरुद्ध सार्क

कान्तिपुर

Link copied successfully