सार्क ब्युँताउने अवसर

सम्पादकीय

पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गर्नु आफैंमा सकारात्मक छ ।

सार्क ब्युँताउने अवसर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार ट्वीटमार्फत गरेको यस्तो प्रस्तावले धेरैमा लामो समयदेखि निष्क्रिय सार्कले नयाँ जीवन पाउने आशा पलाएको छ । मोदीले ‘भिडियो कन्फ्रेन्स’ का लागि गरेको प्रस्तावमा नेपाल, श्रीलंका, भुटान र माल्दिभ्समात्र होइन, पाकिस्तान पनि तयार देखिएको छ । यस क्षेत्रको मुख्य शक्ति भारतका तर्फबाट भएको यस्तो पहल सार्कर्लाई ब्युँताउने एउटा अवसर हुन सक्ने देखिन्छ ।


केही वर्षयता यस क्षेत्रमा पाकिस्तानलाई अलग्याउनकै लागि भारत बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) र बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन ‘बीबीआईएन’ लाई मात्रै अघि बढाउन दृढ प्रयत्नरत थियो । तर अहिले आएर नयाँदिल्लीले पाकिस्तानलाई अलग्याएर यस क्षेत्रमा अघि बढ्न सम्भव नभएको अनुभूति गरेजस्तो देखिन्छ । मोदीले अकस्मात् सार्क सम्झनुलाई भारतीय अडानमा आएको परिवर्तनका रूपमा लिन सकिन्छ । त्यसका लागि उनले हालको महामारीलाई मौका बनाएका हुन सक्छन् । यसका धेरै कारण हुन सक्छन् । भारतलाई संकट परेका बेला सार्कको विकल्प रहेनछ भन्ने बोध भएको पनि हुन सक्छ । प्रधानमन्त्री मोदीले पूरै क्षेत्रीय प्रयासले मात्र यस्ता संकटसँग जुध्न सजिलो हुने ठानेका पनि हुन सक्छन् ।


अर्को, पाकिस्तान, अफगानिस्तान र बंगलादेशका अल्पसंख्यकलाई भारतीय नागरिकता दिने कानुनको भारतभित्र र बाहिर व्यापक विरोध भइरहँदा मोदीले ती तिनै देशसमेत सम्मिलित क्षेत्रीय मञ्चको सम्झना गरेका पनि हुन सक्छन्, ताकि थोरै हदसम्म आफ्नो ‘घृणाको राजनीति’ ले पुर्‍याएको क्षति नियन्त्रण गर्न सकियोस् । आफ्नो ट्वीटमा मोदीले प्रत्यक्ष संगठनकै रूपमा सार्कको नाम त लिएका छैनन्, तर जुन रूपमा सार्क मुलुकका नेतृत्वलाई सम्बोधन गरेका छन्, त्यसमा यस उपमहाद्वीप केन्द्रित यो क्षेत्रीय संस्था स्वतः जोडिने बुझ्न सकिन्छ । एउटै भूगोलका मुलुकहरूबीच खास एजेन्डामा सहकार्यको प्रसंग निस्किँदा पहिलेदेखि अस्तित्वमा रहेको संगठनको औचित्य त्यसै स्थापित हुन्छ ।


सार्कको अध्यक्ष रहेको नेपालका लागि यो यसै पनि खुसीको खबर हो । २०७१ मंसिरमा काठमाडौंमा भएको सार्कको १८औं सम्मेलनबाट अध्यक्ष बनेको नेपालले त्यसको दुई वर्षमै पाकिस्तानलाई अध्यक्षता हस्तान्तरण गर्नुपर्ने थियो । पोखरामा २०७२ फागुन ३० मा भएको सार्कको विदेशमन्त्री स्तरीय बैठकले १९औं सम्मेलन कात्तिक २०७३ मा इस्लामावादमा गर्ने निर्णय पनि गरेको थियो । तर, त्यही वर्ष भदौमा भारत, जम्मु–कश्मीरको उरीमा ‘पाकिस्तानी उग्रवादी’ को हमलामा १७ भारतीय सैनिक मारिएपछि भारत–पाकिस्तान सम्बन्ध त तनावपूर्ण बन्यो नै, सार्क सम्मेलन पनि स्थगित भयो । दुई–दुई वर्षमा हुनुपर्ने सम्मेलन पाँच वर्ष बितिसक्दा पनि अझै हुन सकेको छैन । यसबाट संगठनकै भविष्यमाथि प्रश्न उठ्न थालेको थियो/छ । साढे तीन दशक लामो इतिहासमा यो संगठन यति लामो अवधि सम्मेलनविहीन कहिल्यै हुनुपरेको थिएन । नियमित तालिका पछ्याइएको भए अहिले २०औं सम्मेलन पनि सकिएर श्रीलंका अध्यक्ष भइसकेको हुन्थ्यो । त्यसैले अहिले उत्पन्न माहोललाई सार्कअनुकूल बनाउन अध्यक्ष राष्ट्र नेपालले विशेष पहल गर्नुपर्छ । भारत–पाकिस्तानको भूराजनीतिक चपेटामा यस उपमहाद्वीपको क्षेत्रीय संगठनलाई पर्नु दिनु हुँदैन ।


यो बेला प्रत्यक्ष भेटघाट गर्न सक्ने अवस्था त छैन, तर कोरोना भाइरसबारे जुध्ने प्रसंगसँगै सार्कबारे सोच्न र अनलाइन अन्तर्क्रिया गर्न सकिन्छ । यसै अवसरमा कमजोर रूपमा रहेका सार्कका सचिवालय र संरचनाहरूलाई सबलीकरण गरेर यस्ता संकटहरूसँग जुध्न सक्ने बनाउनेबारे गृहकार्य थाल्न सकिन्छ । खास गरेर अहिले यस क्षेत्रका एकअर्का मुलुकले गर्न सक्ने भनेकै अनुभव आदानप्रदान हो । पुस दोस्रो साता चीनको वुहानबाट फैलिएर १ सय ३० भन्दा बढी देशमा पुगिसकेको कोरोना भाइरसको संक्रमण सार्क मुलुकमा पनि बढ्दो छ । भारतमा मात्रै ८२ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा २८ जनामा संक्रमण देखिएको छ । अफगानिस्तान, बंगलादेश, माल्दिभ्समा, श्रीलंका, भुटान र नेपालमा पनि यसबाट संक्रमित भेटिएका छन् ।


नेपालका सीमावर्ती भारतीय प्रान्तमा पनि संक्रमण फैलिएकाले अन्तरमुलुक सहकार्य हाम्रा लागि अझ महत्त्वपूर्ण हुन्छ । नेपाल–भारतबीच खुला सीमा भएकाले भाइरसको सम्भावित जोखिमसँग जुध्न जटिल छ । अर्को, चीन पनि सार्कको पर्यवेक्षक मुलुक भएकाले उसको अनुभव त सार्क मुलुकका लागि झनै महत्त्वपूर्ण हुनसक्छ । किनभने, यो भाइरस चीनबाटै फैलिएको मात्र होइन, यसविरुद्ध चिनियाँ सरकारसित राम्रोसँग काम गरिरहेको अनुभव पनि छ । तसर्थ, उसका सिकाइ, अनुभूति र विज्ञता यो क्षेत्रमा काम लाग्न सक्छन् । यस हिसाबले जुनसुकै अवसरमा भए पनि अहिले सार्कलाई सम्झिइनु अर्थपूर्ण छ । भारतीय प्रधानमन्त्री मोदीले देखाएको यस्तो तदारुकतालाई सबै मुलुकले सार्कलाई ब्युँताउने अवसरका रूपमा प्रयोग गर्नुपर्छ ।

प्रकाशित : चैत्र २, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?