सिड्नी — अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । डट्टनले एक विज्ञप्तिमार्फत आफूलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि गरेका हुन् । क्विन्स्ल्यान्डको एक अस्पतालमा उनको उपचार भइरहेको स्थानीय सञ्चारमाध्यम एबीसीले जनाएको छ।
डट्टन गत मंगलबार सिड्नीमा आयोजना गरिएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएर सोही दिन व्यावसायिक विमानबाट क्विन्स्ल्यान्ड फर्किएका थिए । आफूलाई सन्चो नभएपछि स्थानीय अस्पतालमा जचाँउन गएका उनलाई कोभिड-१९ को संक्रमणको पुष्टि भएको हो ।
उनले सार्वजनिक गरेको विज्ञप्तिमा क्विन्स्ल्यान्ड सरकारको नियमअनुसार भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना हुनुपर्ने भएकोले आफूले त्यस्लाई पालना गरेको बताएका छन । बिहान त्यति सन्चो नभएपछि क्विन्स्ल्यान्डको स्वास्थ्य विभागलाई जानकारी गराएको र कोभिड-१९ को जाँच गराएको उनले उल्लेख गरेका छन् । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन् ।
— Peter Dutton (@PeterDutton_MP) March 13, 2020
डट्टन कोरोना भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका पहिलो राजनीतिज्ञ हुन् । अस्ट्रेलियामा अहिलेसम्म १५७ जना यस भाइरसबाट संक्रमित भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् ।
