लन्डन — बेलायतले कोभिड–१९ नियन्त्रणका लागि १२ अर्ब पाउन्ड खर्च गर्ने भएको छ । अर्थमन्त्री ऋषि सुनाकले बुधबार संसद्मा पेस गरेको यस वर्षको बजेटमार्फत कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १२ अर्ब पाउन्ड छुट्टयाइएको हो ।
भाइरसले अर्थतन्त्रमा पार्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंक अफ इंग्ल्यान्डले बुधबार बिहानै हाल रहेको ब्याजदरमा ०.५ प्रतिशत घटाएर ०.२५ बनाएको छ । बेलायतमा कोरोना भाइरसका कारण बिहीबारसम्म १० जनाको मृत्यु भएको छ भने ५ सय ९६ जनामा संक्रमण भेटिएको छ ।
बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्री नदिन डोरिज पनि भाइरसबाट संक्रमित छन् । बेलायतमा २५ हजार बढीले यसको परीक्षण गराइसकेका छन् । नेसनल हेल्थ सर्भिस (एनएचएस) बेलायतले प्रत्येक दिन १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने योजना बनाएको छ भने नतिजा सरदर २४ घण्टाभन्दा अगाडि नै दिने लक्ष्य लिएको छ ।
बेलायत सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चारवटा चरणको योजना तय गरेको छ । जसअनुसार अहिले रोकथाममा विशेष ध्यान दिइए पनि मृतक र संक्रमितको संख्यामा वृद्धि भएपछि दोस्रो चरण ‘डिले’ लागू गर्ने तयारी गरिएको छ ।
