बेइजिङ — चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मात्रै मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार थप ८ जनाको मृत्यु भएको र २१ जनामा संक्रमण देखिएको छ ।
चीनमा पछिल्लो समय कोभिड–१९ को प्रकोप घटिरहेको छ । बुधबार चीनमा ११ जनाको मृत्यु भएको थियो भने १५ जनामा संक्रमण देखिएको थियो ।
बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १ सयय ७६ पुगेको छ भने ८० हजार ८ सय १४ मा संक्रमण पुष्टि भएको छ । चीनमा ६४ हजारभन्दा बढी निको भएको पनि स्वास्थ्य आयोगले जनाएको छ ।
इटाली आक्रान्त
चीनमा कम हुँदै गरेको कोभिड–१९ को प्रकोप इटालीम भने बढिरहेको छ । शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या एक हजार १६ पुगेको छ भने १५ हजार एक सय १३ जनामा संक्रमण देखिएको छ । इटालीमा बिहीबार मात्रै थप १८९ जनाको मृत्यु भएको छ भने थप २ हजार ६ सय ५१ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै इरानमा बिहीबार थप ७५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७५ जनामा संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्म इरानमा ४२९ जनाको मृत्यु भएको छ भने १० हजार ७५ जनामा संक्रमण देखिएको छ ।
स्पेनमा बिहीबार थप ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानसम्म स्पेनमा ८६ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ४६ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै अमेरिकामा बिहीबार थप ३ जनाको मृत्यु भएको छ भने थप ४४६ जनामा संक्रमण देखिएको छ । शुक्रबार बिहानसम्म अमेरिकामा ४१ जनाको मृत्यु भएको छ भने एक हजार ७ सय ४७ जनामा संक्रमण देखिएको छ ।
तत्काल आवश्यक कदम चाल्न आग्रह
यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई फोन गरी कोभिड–१९ विरुद्ध तत्काल कदम चाल्न आग्रह गरेका छन् । महासचिव गुटेरेससँग राष्ट्रपति सीले अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्न आवश्यक रहेको बताए । कुराकानीमा अवसरमा राष्ट्रपति सीले विश्व स्वास्थ्य संगठनलाई २० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने जानकारी पनि दिए ।
कहाँ कति मृत्यु ?
चीन – ३,१७७
इटाली –१,०१६
इरान – ४२९
दक्षिण कोरिया – ६७
स्पेन – ८६
फ्रान्स – ६१
अमेरिका – ४१
जापान – २६
बेलायत – १०
इराक – ८
स्विजरल्यान्ड – ७
जर्मनी – ६
नेदरल्यान्ड्स, सान मारिनो, फिलिपिन्स – ५/५ जना
बेल्जियम, अस्ट्रेलिया, हङकङ, लेबनान – ३/३ जना
इजिप्ट, अल्जेरिया – २/२ जना
नर्वे, स्विडेन, अस्ट्रिया, क्यानडा, ग्रीस, भारत, आयरल्यान्ड, थाइल्यान्ड, पोल्यान्ड, ताइवान, इन्डोनेसिया, अर्जेन्टिना, अल्बानिया, बुल्गेरिया, अजरबैजान, पानामा, मोरक्को, गायना – १/१ जना
