अष्ट्रेलिया — कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि अस्ट्रेलियाले अत्यावश्यकबाहेक ५ सयभन्दा बढी व्यक्ति सहभागी हुने कार्यक्रम गर्न नपाउने निर्णय गरेको छ । यो निर्णय आगामी सोमबारबाट लागू हुनेछ ।
शुक्रबार सिड्नीमा सबै राज्यका प्रमुखहरुसहित बसेको बैठकपछि प्रधानमन्त्री स्कट मरिसनले आवश्यक बाहेकका यस्तो ठूलो संख्यामा हुने कार्यक्रम नगर्न निर्देशन दिएका हुन् । यो नियम विद्यालय, कलेज सार्वजनिक यातायात तथा विमानस्थलमा भने लागू हुने छैन । यहाँका मुख्य स्वास्थ्य अधिकारी ब्रान्डन मर्फीको सुझावलाई मध्यनजर गर्दै सर्वसाधारणकाे सुरक्षाका लागि यस्तो नियम लगाइएको मरिसनले बताए ।
मरिसनले पत्रकार सम्मेलन गर्दै आफूहरुको मुख्य उद्देश्य यो भाइरसलाई थप फैलन नदिन र संक्रमणलाई रोक्नु रहेको बताए । सरकारले सम्पूर्ण अष्ट्रेलियालीलाई विदेश भ्रमण गर्नुअघि पुनर्विचार गर्न समेत सुझाएको छ ।
सरकारले कोरोनाबाट खस्किएको अर्थतन्त्रलाई मजबुत बनाउन बिहीबार करिब १८ अर्ब डलर बराबरको आर्थिक कार्यक्रम सार्वजनिक गरिसकेको छ । सेनाले यस भाइरसविरुद्ध लड्न त्यो रकमबाट काम गर्ने निर्णय गरेको बताइएको छ ।
कोरोनाकै कारण मेलबर्नमा हुने विश्वप्रसिद्ध कार रेसिङ रद्द भएको छ भने सिड्नीमा वर्षौंदेखि हुँदै आएको इस्टर शो समेत रद्द गरिएको छ । अस्ट्रेलियामा अहिलेसम्म १ सय ५६ जनामा कोरोना संक्रमण देखिइसकेको छ भने ३ जनाले ज्यान गुमाएका छन् ।
