बेलायतकी सहायक स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

भन्छिन्- ‘मसँगै रहेकी आमाको चिन्ता लागिरहेको छ’

फाल्गुन २८, २०७६

एजेन्सी

लन्डन — बेलायतकी सहायक स्वास्थ्यमन्त्री नदिन डोरिसले आफूलाई कोरोना भाइरस(कोभिड–१९) को संक्रमण भएको बताएकी छिन् । कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आफू चिकित्सकको सल्लाहमा घरमै ‘सेल्फ आइसोलेसन’ मा बसेको उनले बताएकी छिन् ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले ट्वीट गर्दै सहायक स्वास्थ्यमन्त्री नदिनमा भाइरसको संक्रमण देखिएकोमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘नदिनमा कोरोना भाइरसको संक्रमण देखिएकोमा अत्यन्तै दुखी छु । उनले घरमै सेल्फ आइसोलेसनमा बसेर अत्यन्तै उपयुक्त कदम चालेकी छिन् । स्वास्थ्यकर्मीहरुले अत्यन्तै राम्रो काम गरिरहेका छन् । हामी सबै उनको स्वास्थ्यलाभको कामना गर्छौं ।’


सहायक स्वास्थ्यमन्त्री नदिनले पनि ट्वीट गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । आफूलाई ठीक हुँदै गए पनि आफूसँगै रहेकी आमाको भने चिन्ता लागेको उनले बताएकी छिन् । ‘मलाई मसँगै रहनुभएकी ८४ वर्षीया आमाको निकै चिन्ता लागिरहेको छ । उहाँले आजबाट खोक्न थाल्नु भएको छ । भोलि उहाँको स्वास्थ्य परीक्षण हुनेछ । सुरक्षित रहनुहोस्, र सबैले हात धुनुहोस् ।’ कुनै बेला नर्ससमेत रहेकी ६२ वर्षीया नदिन गत बिहीबारदेखि अस्वस्थ महसुस गरेकी थिइन् । 


मन्त्रिपरिषद्कै सदस्यलाई कोभिड–१९ को संक्रमण देखिएपछि प्रधानमन्त्री बोरिस जोनसनले परीक्षण गराउने/नगराउने केही जानकारी दिइएको छैन । तर स्वास्थ्यमन्त्री म्याट ह्यानककलगायतले भने कोभिड–१९ को संक्रमण भए नभएको परीक्षण गराउने भएका छन् । 


बेलायतमा अहिलेसम्म कोभिड–१९ का कारण ६ जनाको मृत्यु भएको छ भने ३८३ मा संक्रमण देखिएको छ । 


युरोपेली संसद् प्रमुख आइसोलेसनमा

युरोपेली संसद्का प्रमुख डेभिड सास्सोलीले मंगलबार आफू आइसोलेसनमा बसेको बताएका छन् । केही दिनअघि कोभिड–१९ बाट प्रभावित इटाली भ्रमण गरेकाले सुरक्षात्मक उपायका लागि ब्रसेल्सस्थित घरमै स्वयं क्वारेन्टाइनमा बसेको विज्ञप्तिमार्फत उनले जानकारी दिएका छन् । ‘संसद् जारी रहनेछ । लोकतन्त्रलाई भाइरसले रोक्न सक्दैन,’ इटालियन नागरिक सास्सोलीले बताए । यसअघि सोमबारै युरोपेली संसद्ले सयौं सांसद एकै ठाउँमा बस्दा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै विस्तारित भेलालाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको थियो । 


विश्व स्वास्थ्य संगठनले  मंगलबारसम्म विश्वका १ सय १९ राष्ट्रमा कोभिड–१९ संक्रमण पुष्टि भएको जनाएको छ । उसका अनुसार १ लाख १९ हजार १ सय ७६ जना संक्रमित पाइएका छन् र तीमध्ये ४ हजार १२ जनाको मृत्यु भएको छ । कोभिड–१९ संक्रमणले चीनपछि सबैभन्दा धेरै प्रभावित इटालीमा दश हजार १ सय ४९ संक्रमित छन् भने हालसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ ।  इटालीमा मंगलबार मात्रै १६८ जनाको मृत्यु भएको छ । उत्तर इटालीका सबै जनतालाई आइसोलेसनमा राखिएको छ । 


दक्षिण कोरियामा ७ हजार ७ सय ५५ संक्रमित पुष्टि भएका छन् भने ६० जनाको मृत्यु भएको छ । इरानमा हालसम्म ८ हजार ४२ संक्रमित पुष्टि भएका छन् र मृतकको संख्या २ सय ९१ पुगेको छ । चीनमा ८० हजार ७ सय ७८ संक्रमित रहेका छन् भने ३ हजार एक सय ५८ जनाको मृत्यु भएको छ । 


फ्रान्सका संस्कृतिमन्त्री संक्रमित

फ्रान्सका संस्कृतिमन्त्री फ्यांक रियस्टर कोभिड–१९ संक्रमित हुने पछिल्लो राजनीतिज्ञ भएका छन् । स्वास्थ्यमन्त्री ओलिभियर भेरानले यसबारे पुष्टि गर्दै मन्त्री फ्यांकसहित ५ जना सांसदमा पनि संक्रमण पुष्टि भएको सोमबार बताए । मन्त्री रियस्टरको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र घरमै आराम गरिरहेको बीएफएम टेलिभिजनसँगको कुराकानीमा उनले जानकारी गराए ।


मंगलबार बिहानसम्म फ्रान्समा ३३ जनाको मृत्यु भएको छ भने एक हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएको छ ।

कोरोना भाइरस

एजेन्सी

Link copied successfully