काठमाडौँ — गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका ११५ देशमा फैलिइसकेको छ । पछिल्लो समय चीनमा संक्रमित र मृत्युदर भने निकै घटेको छ ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले सोमबार मात्रै चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएको थियो । तर पछिल्लो समय युरोपसहित विश्वका विभिन्न मुलुकमा बढिरहेको संक्रमण भने चिन्ताको विषय बनेको डब्लूएचओले बताएको थियो ।
मंगलबार दिउँसोसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ हजार ८५ पुगेको छ भने विश्वभर एक लाख १५ हजारभन्दा बढी संक्रमित भएका छन् । साथै संक्रमितमध्ये निको हुनेको संख्या ४६४ हजारभन्दा बढी रहेको छ ।
अहिलेसम्म कोभिड–१९ बाट उपचारका लागि कुनै औषधि पत्ता लागेको छैन । अहिलेसम्मका लागि आफ्नै शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता नै यसबाट निको हुने एक मात्र उपाय हो । अहिलेसम्मको तथ्याङ्कअनुसार कोभिड–१९ को संक्रमणबाट पाका उमेरका व्यक्तिहरु जोखिममा रहेका छन् । अहिलेसम्म मृत्यु हुनेमा पनि बढी उमेरकै रहेको डब्लूएचओको रिपोर्टले उल्लेख गरेको छ ।
डब्लूएचओ र चीनको पछिल्लो संयुक्क्त रिपोर्टले उमेरअनुसार कोरोना भाइरसको मृत्यु दरको अवस्था फरक हुने बताएको छ । साथै पहिलेदेखि रोग भएका र निरोगीमा पनि संक्रमणको जोखिम फरक फरक हुने रिपोर्टमा उल्लेख छ ।
कोभिड–१९ बाट कुन उमेर समूह जोखिममा छन् ?
| उमेर समूह | मृत्युदर (पुष्टि भएका केस) | मृत्युदर (समग्र) |
| ८० भन्दा माथि | २१.९ प्रतिशत | १४.८ प्रतिशत |
| ७०–७९ वर्ष | ८ प्रतिशत | |
| ६०–६९ वर्ष | ३.६ प्रतिशत | |
| ५०–५९ वर्ष | १.३ प्रतिशत | |
| ४० –४९ वर्ष | ०.४ प्रतिशत | |
| ३० –३९ वर्ष | ०.२ प्रतिशत | |
| २०–२९ वर्ष | ०.२ प्रतिशत | |
| १०–१९ वर्ष | ०.२ प्रतिशत | |
| ०–९ वर्ष | अहिलेसम्म शून्य मृत्यु |
स्रोत : विश्व स्वास्थ्य संगठन
डब्लूएचओ र चीनको रिपोर्टले कोभिड–१९ को संक्रमण बालबालिकामा एकदमै न्यून रहको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार ९ वर्षसम्मका बालबालिकामा यसको संक्रमणको जोखिम अति न्यून रहेको छ । अहिलेसम्म कोभिड–१९ बाट ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छैन । अहिलेसम्म कोभिड–१९ को संक्रमणको जोखिम ८० वर्षभन्दा माथिका व्यक्तिमा देखिएको छ । अहिलेसम्म मृत्यु भएकामध्ये १४.८० प्रतिशत रहेको छ । त्यस्तै ८ प्रतिशत मृत्यु ७० देखि ७९ उमेर समूहका व्यक्तिको भएको छ ।
संक्रमितमध्ये ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्ति ३.६ प्रतिशत र ५० देखि ५९ वर्ष उमेर समूहका १.३ प्रतिशतको मृत्यु भएको छ । ५० वर्षमुनिका व्यक्तिमा भने कोभिड–१९ को संक्रमणको जोखिम न्यून रहेको छ । अहिलेसम्म ०.४ प्रतिशत मृत्यु ४० देखि ४९ वर्ष उमेर समूहका व्यक्तिको भएको छ । त्यस्तै ०.२ प्रतिशत १० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको छ ।
साथै मर्ने र जोखिमको संख्या पनि पुरुष र महिलामा फरक देखिएको छ । चीनमा महिलाभन्दा पुरुषमा धुमपान गर्ने बढी छन् । धूमपानले श्वासप्रश्वासका समस्या निम्त्याउँछ । त्यसैले पनि मृत्यु हुनेमा पुरुष बढी छन् ।
| लिंग | मृत्युदर (पुष्टि भएका केस) | मृत्युदर (सबै केस) |
| पुरुष | ४.७ प्रतिशत | २.८ प्रतिशत |
| महिला | २.८ प्रतिशत | १.७ प्रतिशत |
त्यसैगरी पहिलादेखि नै कुनै रोगबाट बिरामी छन् भने उनीहरुलाई कोरोनाको जोखिम बढ्न सक्छ ।
| पहिलेदेखिको रोग | मृत्युदर(पुष्टि भएका केस) | मृत्युदर(सबै केस) |
| मुटुसम्बन्धी रोग | १३.२ प्रतिशत | १०.५ प्रतिशत |
| मधुमेह | ९.२ प्रतिशत | ७.३प्रतिशत |
श्वासप्रश्वाससम्बन्धी रोग | ८ प्रतिशत | ६.३ प्रतिशत |
| हाइपरटेन्सन | ८.४ प्रतिशत | ६ प्रतिशत |
| क्यान्सर | ७.६ प्रतिशत | ५.६ प्रतिशत |
| रोग नभएका | ०.९ प्रतिशत |
स्रोत : विश्व स्वास्थ्य संगठन
माथिको तालिकाले पनि पहिलेदेखि नै रोग भएका र नभएकालाई कोभिड–१९ को जोखिममा फरक देखिएको छ । रोग नभएका व्यक्तिमा यसको जोखिम अत्यन्तै न्यून रहेको छ । तथ्याङ्कअनुसार अहिलेसम्म मृत्यु भएकामध्ये यसअघि कुनै पनि रोग नभएका व्यक्तिको संख्या ०.९ प्रतिशत मात्र रहेको छ ।
अध्ययन तथा तथ्याङ्कले कोभिड–१९ बाट मृत्यु हुनेमध्ये पाका उमेर र मुटुसम्बन्धी रोग भएका व्यक्तिहरु छन् । मुटुसम्बन्धी समस्या तथा मधुमेह भएका व्यक्तिहरुमा बढी जोखिम देखिएको छ । वृद्ध अवस्थामा रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने हुँदा पनि जोखिम बढी रहेको चिकित्सकहरुले जनाएका छन् ।
इटालीमा पनि मृत्यु हुनेमध्ये पाका उमेरका धेरै
चीनपछि कोरोना भाइरसले इटालीलाई आक्रान्त बनाएको छ । एकदमै द्रुत गतिमा फैलिरहेको यो भाइरसले इटालीमा मंगलबार दिउँसोसम्म ४६३ जनाको मृत्यु भएको छ भने ९ हजार १७२ जना संक्रमित भएका छन् । इटालीमा पनि सबैभन्दा बढी पाका उमेरका व्यक्तिको नै भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
इटाली विश्वमा सबैभन्दा बढी ज्येष्ठ नागरिक भएका देशमध्येको एक हो । इटालीमा ४० वर्षभन्दा माथिको जनसंख्या ६० प्रतिशत रहेको छ । त्यस्तै इटालीको जनसंख्याको २३ प्रतिशत ६५ वर्षभन्दा माथिको उमेर समूह रहेको छ । सन् २०१८ को जनगणनाअनुसार इटालीको जनसंख्या ६ करोड ४८ लाख रहेको छ ।
इटालीको नेसनल हेल्थ इन्स्टिच्युटका अनुसार मृत व्यक्तिको औसत उमेर ८१ वर्षको रहेको छ र धेरै जना पहिला नै केही रोग लागेका बिरामीहरु थिए । ५ जना कोरोना भाइरस संक्रमितमध्ये एक जना १९ देखि ५० उमेर समूहका रहेका छन् । जसमा के देखिन्छ भने बालबालिकाभन्दा पनि ज्येष्ठ नागरिकहरुमा संक्रमण दर बढी भएको देखाउँछ ।
इटालीले अहिलेसम्म कोभिड १९ का आशंकामा ५४ हजारभन्दा बढी व्यक्तिको स्वास्थ्य परीक्षण गरिसकेको छ ।
सोमबारको तथ्याङ्क हेर्दा इटालीमा विश्वका अन्य देशमा भन्दा मृत्युदर बढी रहेको छ । ९ हजार एक सय ७२ जना संक्रमितमध्ये ४६३ जनाको मृत्यु भएको छ । इटालीमा कोभिड–१९ को मृत्युदर ५ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को विश्वव्यापी मृत्युदर ३.४ प्रतिशत रहेको छ ।
-एजेन्सीहरुको सहयोगमा
