कोरोना प्रभाव
काठमाडौँ — सुदर्शन थापा निर्देशित 'म यस्तो गीत गाउँछु २'ले हालै फिल्मको प्रदर्शन मिति स्थगित गर्यो । कोरोना भाइरस (कोभिड-१९)को त्रासका कारण फागुन ३० मा प्रदर्शन गर्ने भनिएको फिल्मको मिति स्थगित गरिएको हो ।
यो फिल्मको नयाँ प्रदर्शन मिति तय हुन नपाउँदै पत्रकार फूलमान वल निर्देशित 'नीरफूल'को प्रदर्शन पनि स्थगित गरियो । चैत ७ गते फिल्म प्रदर्शनमा ल्याउने तयारीमा थिए निर्माण टिम । तर अब यी दुई फिल्म कहिले प्रदर्शनमा आउला अझै टुंगो भइसकेको छैन ।
'म यस्तो गीत गाउँछु २' र 'नीरफूल' कोरोनाबाट प्रभावित प्रतिनिधि फिल्म मात्र हुन् । यी दुईलाई मात्र होइन प्रदर्शनको तयारीमा रहेको फिल्ममा कोरोना प्रभाव परेको छ । 'लक्का जवान'का निर्माता किरण केसी अहिले तनावमा छन् । फिल्मलाई चैत २१ मा प्रदर्शनमा ल्याउन उनका टिम तमतयार थिए । दर्शकको राम्रो प्रतिक्रिया पाउनेमा आशावादी पनि । तर बीचमा कोरोनाको प्रभावले अहिले फिल्मको प्रदर्शन अलमलमा परेको उनी बताउँछन् ।
'कोरोनाले हाम्रो फिल्मलाई धेरै प्रभाव पार्यो नि । रुनु न हाँस्नु भएको छ । यो कोरोना किन आएको होला । हामीले त्यसको परिवारको के चाहिँ गरिदिएका थियौं । हाम्रो फिल्म रिलिज हुने बेलामा आइदियो,' उनले ठट्यौली शैलीमा आफ्नो दुखेसो पोखे, 'अब फिल्म चैत २१ मै रिलिज गरिदियौं भने दर्शक नआइदिनु होला भन्ने पीर । धेरै तनाव भएको छ । के गर्ने के गर्ने, अलमलमा परियो ।'
उनी अहिले हलवाला, वितरक अनि विभिन्न फिल्मकर्मीकहाँ सल्लाह लिन दौडधुप गर्दैछन् । धेरैले त उनलाई फिल्मको प्रदर्शन सार्न सल्लाह दिएका छन् । तर उनी अझै दोधारमा छन् ।
'परिवारका सबै सदस्य स्वस्थ हुँदा सबै आनन्द मनाउन आउने ठाउँ हो हल । तर अहिले त परिवारमा कोरोना त्रास छ । अब फेरी फिल्म हलमा गुम्सेर फिल्म हेर्नुपर्ने हुन्छ नि त ! त्यसैले फिल्मको रिलिजलाई लिएर म दोधारमा छु । अब चैत ३० गते मिटिङ गरेर निर्णय लिन्छौं,' उनले सुनाए ।
हल नै बन्द भयो भने 'चपली हाइट ३' प्रदर्शन स्थगित हुने निर्माता अर्जुन कुमारले बताए । 'फिल्मलाई अहिलेसम्म 'कोरोना' लागिसकेको छैन । हल नै बन्द भयो भने कसले के गर्न सक्छ र ? हाम्रो फिल्म पनि सर्छ । हल बन्द भएन भने चारजनालाई पनि फिल्म देखाउँछौं,' अर्जुनले भने, 'फिल्म प्रदर्शनमा आउन अब एक महिना मात्रै बाँकी छ । नेपालमा हल्ला मात्र बढी भइरहेको छ ।'
फिल्मको प्रदर्शन नजिकँदै जाँदा कोरोनाको प्रभाव पनि कम हुनेमा उनी आशावादी छन् । '१ महिनासम्ममा गुड न्यूज आउला नि,' उनले भने ।
यस्तै, प्रदर्शनको तयारीमा रहेको अर्को फिल्म हो 'प्रेमगीत ३' । कोरोनाको प्रभाव गम्भीर भए मात्र फिल्म सार्ने निर्देशक छेतेन गुरुङ बताउँछन् । 'हाम्रो फिल्मलाई प्रभाव परेको छैन । नेपालीहरुको डराउने बानी छ । तर डराइ हाल्नुपर्ने अवस्था देख्दिँन । अब कोरोना लागेर मान्छे मर्न थाल्यो भने चाहीँ फिल्म सार्छौं ।'
