भन्छन्– ‘कोरोना संक्रमण नियन्त्रणतर्फ रहेकाले प्रारम्भिक अभियान सफल भयो ।’
बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार कोरोना भाइरस (कोभिड–१९) उद्गमस्थल हुबेई प्रान्तको राजधानी वुहान पुगेका छन् । वुहानबाहेक अन्य क्षेत्रमा थप संक्रमित नदेखिएसँगै राष्ट्रपति सी भाइरस फैलिएको क्षेत्रको भ्रमणका लागि निस्केका हुन् ।
चीनमा मंगलबार १९ जना मात्र नयाँ संक्रमित पुष्टि भएको र ती सबै विदेशबाट आएका व्यक्ति रहेका चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । डिसेम्बरमा भाइरस देखिएयता पहिलो पटक वुहान पुगेका राष्ट्रपति सीले विश्वलाई चीनको अवस्था नियन्त्रणमा रहेको सन्देश दिन खोजेको बीबीसीले उल्लेख गरेको छ । ‘भाइरस संक्रमणका कारण चीनले भोगेको अँध्यारो अवस्था घट्दै गएको संकेत राष्ट्रपति सीको वुहान भ्रमणले दिएको छ,’ चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ ले विज्ञलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
राष्ट्रपति सी हुबेई प्रान्तमा कोरोना प्रकोप रोकथाम तथा नियन्त्रणका लागि गरिएका प्रयासको अनुगमन गर्न वुहान पुगेको राज्य सञ्चालित सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हाल आफैं क्वारेन्टाइनमा बसिरहेका समुदायमा पनि राष्ट्रपति सी पुगेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । भाइरस संक्रमितको उपचारका लागि मात्र १० दिनमा बनाइएको हुवोसेन्सान अस्पतालमा पनि राष्ट्रपति सी पुगेका छन् । कोभिड–१९ संक्रमितको उपचारका लागि वुहानमा बनाइएका सबै अस्थायी अस्पताल मंगलबारबाटै बन्द गरिएका छन् । भ्रमणकै क्रममा सम्बोधन गर्दै सीले हुबेई र वुहानमा संक्रमण फैलन निकै कम भएको घोषणासमेत गरेका छन् । ‘हुबेई र वुहानमा फैलिएको संक्रमण नियन्त्रणतर्फ गएकाले स्थितिलाई स्थिर बनाउने प्रारम्भिक अभियान सफल भएको छ,’ सीले भने ।
भाइरस संक्रमण थप नफैलियोस् भनेर हुबेई प्रान्त र वुहान अझै बन्द अवस्थामै छन् । निजी यातायातका साधनसहित विद्यालय, उद्योग कलकारखाना र सार्वजनिक स्थल अझै खुलाइएका छैनन् । रेन्मिन विश्वविद्यालयका प्राध्यापक झाङ मिङ राष्ट्रपति सी आफैं वुहान पुग्नुको अर्थ अब केही दिनभित्रै चीनले कोभिड–१९ नियन्त्रणमा आएको घोषणा गर्न सक्ने सम्भावना औंल्याउँछन् ।
चीनमा हालसम्म ८० हजार ९ सय २४ जनामा कोभिड–१९ संक्रमण पाइएकोमा ६० हजारभन्दा बढी उपचारपछि निको भएका छन् । भाइरसका कारण हालसम्म ३ हजार १ सय ४० जनाको मृत्यु भएको छ भने बाँकीको अझै पनि अस्पतालमा उपचार चलिरहेको छ ।
