तेलंगानामा पनि अर्का एकजना भारतीयमा भाइरसको संक्रमण रहेको पुष्टि
दिल्ली — चीनको उहानबाट शुरु भएर विश्वभर नै त्रासदी सिर्जना गरेको ‘नोबेल कोरोना भाइरस’ (कोभिड–१९) को भारतको राजधानी नयाँदिल्लीमा पनि संक्रमण देखिएको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले इटालीबाट दिल्ली आएका एकजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेको हो ।
करिब दुई करोड जनसंख्या रहेको नयाँदिल्लीमा कोरोना संक्रमण देखिएको यो नै पहिलो ‘केस’ हो । युरोपेली मुलुकहरुमध्ये इटालीमा कोरोना सक्रंमण अत्यधिक देखिएको छ । त्यहाँ हालसम्म १७०० भन्दा बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ भने ४१ जनाको मृत्यु भएको छ ।
त्यसैगरी मन्त्रालयले दक्षिण भारतीय राज्य तेलंगनामा पनि अर्को एकजनामा कोभिड–१९ भएको फेला परेको छ । मन्त्रालयका अनुसार ती व्यक्ति पछिल्लो समय दुबईबाट स्वदेश फर्केका थिए । पछिल्लो दुईवटा ‘केस’ समेत गर्दा भारतमा हालसम्म पाँजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि केरलाका तीनजनामा संक्रमण देखिएको थियो । र, क्वारान्टाइनमा राखिएको उनीहरु उपचारपछि संक्रमणबाट मुक्त भइसकेका छन् ।
भारत सरकारले काठमाडौंसँगै इण्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत आउने उडानका लागि बृहत् स्वास्थ्य परीक्षण गरिने निर्णय गरेको थियो । यो निर्णय सँगै अब काठमाडौं हुँदै हवाईमार्गबाट भारतका विभिन्न गन्तव्यमा आउने यात्रुहरुको विमानस्थलमै कोरोना भाइरसको संक्रमण छ/छैन भन्ने परीक्षण हुँदै आएको छ । हाल काठमाडौंबाट विभिन्न एअरलाइन्सले भारतका नयाँदिल्ली, मुम्बई र बैंग्लोर र बनारसलगायतका सहरमा सिधा उडान गर्दै आएका छन् ।
भारतले एक महिनादेखि नै नेपालसँगका जोडिएका प्रमुख नाकामा थर्मल स्क्यानर राखेर सिमा ओहोरदोहोर गर्नेहरुको स्क्रिनिङ सुरु गरेको थियो । चीनसँग सीमा जोडिएको हुँदा नेपालबाट आउने यात्रुहरुको समेत स्वास्थ्य परीक्षण हुनुपर्ने माग भारत सरकारअन्तर्गतका विभिन्न सरोकारवाला निकायहरुले केही दिनअघि देखि नै गर्दै आएका थिए । साथै पछिल्लो समय दक्षिण कोरियालगायतका मुलुकमा पनि भाइरसको संक्रमण देखिएको पृष्ठभूमिमा भारत सरकारले कोराना परीक्षणलाई थप सघन बनाएको छ ।
त्यसअघि भारत सरकारले पूर्वसावधानीस्वरुप दुई साता अघि नै विशेष निर्देशन जारी गर्दै चीन, हङकङ, जापान, दक्षिण कोरिया, थाइल्याण्ड र सिंगापुरबाट आउने यात्रुहरुको पूर्ण स्वास्थ्य परीक्षण सुरु गरेको थियो । त्यसअनुसार भारतका विभिन्न २१ वटा विमानस्थलमा त्यस्तो परीक्षण हुँदै आएको छ । कोरोनाको संक्रमणबाट अमेरिकामा समेत एक जनाको मृत्यु भइसकेको छ ।
गत पुसको दोस्रो साता वुहानबाट फैलिएको यो भाइरसको संक्रमण विश्वभरका ८९ हजारभन्दा बढी पहिचान भइसकेको छ । चीनमा मात्र यो संक्रमणबाट २९१२ जनाको र अन्य सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैगरी इरान र कोरियामा पनि कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । अमेरिकामा पनि कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । र, त्यहाँ ८८ जनामा संक्रमणको पुष्टि भएको छ। नेपालमा भने हालसम्म एकजनामा मात्र संक्रमण देखिएको थियो । र, ती संक्रमित व्यक्ति पनि उपचार पछि निको भइसकेका छन् ।
