अमेरिका, फ्रान्स र अजरबैजानद्वारा सीमामा थप कडाइ
वासिंगटन — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि विश्वका कैयौं देशले ठूलो संख्यामा भेला हुन र यात्रामा प्रतिबन्ध लगाएका छन् । कोरोना संक्रमणको त्रास बढिरहेकै बेला रोकथाम तथा नियन्त्रणका लागि कैयन् उपाय पनि अवलम्बन गरिएका छन् ।
अमेरिकाले संक्रमण नफैलियोस् भनेर इटाली र दक्षिण कोरियाबाट भित्रने यात्रुलाई थप स्क्रिनिङ गराउने भएको छ भने कोभिड–१९ प्रभावित राष्ट्रको यात्रा नगर्न चेतावनी जारी गरेको छ । इरान हुँदै आउने वा सबै इरानी यात्रुलाई थप १४ दिन अमेरिका प्रवेशमा रोक लगाइएको छ । मेक्सिकोसँग सीमा पनि बन्द गरिएको छ । कोभिड–१९ संक्रमणले अमेरिकामा पहिलो पटक एक नागरिकको मृत्यु भएपछि अमेरिकाले थप कडाइ गरेको हो । वासिङ्टनका ५० वर्षीय एक व्यक्तिको कोभिड–१९ का कारण मृत्यु भएको थियो । अमेरिकी अधिकारीका अनुसार राज्यमा तीनजना संक्रमित भेटिएका छन् । सोमबार बिहानसम्म अमेरिकामा २ जनाको मृत्यु भइसकेको छ ।
फ्रान्सले पाँच हजारभन्दा बढी मानिसलाई एकै ठाउँमा भेला नहुन भन्दै अस्थायी प्रतिबन्ध लगाएको छ । आइतबारका लागि तय भएको हाफ म्याराथन स्थगित गरिएको छ । हालसम्म १३० जनामा कोरोना भाइरस पुष्टि भएको फ्रान्सले इटलीसँगको सीमामा पनि कडाइ गरेको छ । स्विट्जरल्यान्डले एक हजारभन्दा बढी मानिस सहभागी हुने सबैखाले कार्यक्रममा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । इटालीका कैयौं पर्यटकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्यानरी टापुको एउटा होटलमा रहेका सात सयभन्दा बढी पर्यटकलाई क्वारेन्टाइनमा राखिएको छ । युरोपमा कोभिड–१९ ले सबैभन्दा प्रभावित इटलीका विद्यालय र विश्वविद्यालयहरू लगातार दोस्रो साता पनि बन्द गरिएका छन् । इटालीमा हालसम्म कोभिड–१९ ले ४१ जनाको मृत्यु भएको छ र एक हजार ७ सय एक जना संक्रमित पुष्टि भएका छन् । संक्रमितका आधारमा चीनपछि सबैभन्दा धेरै प्रभावित दक्षिण कोरियाले अर्को सूचना जारी नभएसम्मका लागि सबै चर्च बन्द गरेको छ । साथै, सर्वसाधारणलाई भीडभाडयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ । हालसम्म ४ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको दक्षिण कोरियामा २२ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको उद्गमस्थल चीनपछि धेरै प्रभावित इरानले मंगलबारसम्मका लागि विद्यालय बन्द गरेको छ र एक सातासम्म सबै धार्मिक, सांस्कृतिक र खेलकुदका गतिविधिमा प्रतिबन्ध लगाएको छ । मृतकको संख्या ५४ र संक्रमितको संख्या ९ सय नाघेपछि प्रशासनले अस्पताल र नर्सिङ होमलगायतका क्षेत्रमा समेत मानिसलाई रोक लगाएको छ ।
इरानसँग सीमा जोडिएका अजरबैजानले दुई साताका लागि सीमा बन्द गराएको छ । तेहरान भ्रमण गरेका दुई नागरिकमा कोरोना संक्रमण पाइएपछि अजरबैजानले यस्तो निर्णय गरेको हो । इरानकै छिमेकी इराकमा हालसम्म १९ जनामा कोरोना पाइएको छ भने कतारले पहिलोपटक शनिबार एक संक्रमित पुष्टि गरेको छ । साउदी अरबबाहेक खाडीका लगभग सबै मुलुकमा कोभिड–१९ संक्रमित पाइएका छन् ।
इक्वेडर, अर्मेनिया र मेक्सिकोले शनिबार पहिलोपटक भाइरस संक्रमति पुष्टि गरेको छ । विश्वभर कोभिड–१९ ले लगभग तीन हजार मानिसको मृत्यु भइसकेको छ भने कोरोना फैलिएको चीनमा सबैभन्दा धेरै दुई हजार ९ सय १२ को मृत्यु भएको छ । विश्वभर संक्रमितको संख्या ८८ हजार नाघेको छ ।
