विश्वभर ३ हजार ५३ को मृत्यु, ८८ हजारभन्दा बढी संक्रमित
वासिंगटन — कोरोना भाइरस(कोभिड–१९) का कारण अमेरिकामा स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो
किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो । कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ । यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो ।
सोमबार बिहानसम्म अमेरिकामा ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विश्वभर ३ हजारभन्दा बढीको मृत्यु, ८८ हजारभन्दा बढी संक्रमित
कोभिड–१९ का कारण चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार चीनमा आइतबार थप २०२ जनामा संक्रमण देखिएको छ । चीनमा पछिल्लो समय मृत्यु हुने र संक्रमितको संख्या घट्दै गएको छ । सोमबार बिहानसम्म चीनमा दुई हजार ९सय १२ जनाको मृत्यु भएको छ भने ८० हजार २६ जनामा संक्रमण देखिएको छ ।
चीनपछि सबैभन्दा बढी इरानमा ५४ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्म इरानमा ९सय ७८ जनामा संक्रमण देखिएको छ । त्यस्तै चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन् । दक्षिण कोरियामा सोमबार बिहानसम्म संक्रमितको संख्या ४ हजार २ सय १२ पुगेको छ भने मृतकको संख्या २२ पुगेको छ ।
इटालीमा पनि संक्रमण बढ्दो
युरोपेली मुलुक इटालीमा आइतबार मात्रै थप ५ सय ७३ जनामा संक्रमण देखिएको छ । सोमबार बिहानसम्म इटालीमा एक हजार ७ सय १ जनामा संक्रमण देखिएको छ । इटालीमा ४१ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै डायमन्ड प्रिन्सेस पानीजहाजमा ७ र अन्य ठाउँमा ६ गरी जापानमा १३ जनाको मृत्यु भइसकेको छ । जापानमा संक्रमितको संख्या ९ सय ६१(पानीजहाजमा ७०५) रहेको छ ।
त्यस्तै कोभिड–१९ का कारण अमेरिका, फ्रान्स र हङकङमा २–२ जनाको मृत्यु भएको छ । त्यस्तै थाइल्यान्ड, ताइवान, अस्ट्रेलिया, सान मारिनो, र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।
