१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कोरोनाले तर्सिएको खाडी

होम कार्की

काठमाडौँ — कफीप्रेमी स्वदेशी तथा विदेशी नागरिकको बाक्लो उपस्थिति रहने कुवेती सहर अर्दिया केही दिनयता सुनसान छ । झन्डै दुई हजार अन्तर्राष्ट्रिय ब्रान्डका रेस्टुराँ रहेको अर्दियामा कफी बनाउने काम गर्छन् कपिलवस्तुका वसन्त थापा । उनका अनुसार कोभिड–१९ को संक्रमण फैलिएको समाचारसँगै पछिल्लो समय यो सहरमा चहलपहल निकै कम भएको हो । 

कोरोनाले तर्सिएको खाडी

‘हाम्रो रेस्टुराँमा दैनिक कम्तीमा ५ सय दिनार (करिब १ लाख ८५ हजार रुपैयाँ) बराबरको कफी बिक्री हुन्थ्यो । अहिले दैनिक २ सय दिनार पुर्‍याउन पनि कठिन छ । मानिसले पहिलाजस्तो आनन्दले बसेर कफी पिउन छाडिसके । आइहालेका धेरैजसोले कफी लिएर गाडीमै गएर पिउँछन्,’ थापाले आइतबार साँझ फोनमा भने ।


कुवेतमा कोभिड–१९ बाट संक्रमितको संख्या सोमबार बिहानसम्म ४६ पुगेको छ । कुवेत सरकारले मानिसहरूलाई भीडभाडमा नजान र मनोरञ्जनात्मक कार्य नगर्न सूचना जारी गरेको छ भने दुई साताका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि कुवेतमा कार्यरत नेपाली कामदार पनि त्रासमा छन् । कुवेतमा झन्डै ८५ हजार नेपाली छन् ।


‘मार्केटमा काम गर्ने हामीजस्तामा बढी नै त्रास छाएको छ । हाम्रो सधैं एउटै मानिससँग भेट हुने होइन । कफी पिउन दिनहुँ फरकफरक मानिसहरू आउँछन्,’ थापाले भने । आफूहरूलाई मास्क, पञ्जा र हेयर नेट अनिवार्य गरिएको उनले बनाए ।

आफूहरूमा सामान्य रुघाखोकी वा ज्वरो आउँदा पनि सरकारले लैजान्छ कि भनेर डर लाग्ने गरेको उनको भनाइ छ ।


सार्वजनिक ट्याक्सी चलाउँदै आएका सिन्धुपाल्चोकका सुनबहादुर तामाङका अनुसार सडकमा गाडीहरू निकै पातलिएका बताए । ‘पहिला जामले ४५ मिनेट लाग्ने ठाउँमा अहिले १० मिनेटमै पुगिन्छ । एकजना यात्रु चढेर ओर्लिएपछि ट्याक्सीभित्र औषधि स्प्रे गर्ने गरिएको छ । झ्याल एकछिन खुला राखिदिन्छौं,’ उनले भने । उनका अनुसार सप्ताहन्तमा सडकमा यात्रु भेट्नै मुस्किल हुने गरेको छ ।


धेरैजसो कम्पनीले कामदारलाई बाहिर निस्कन बन्देज लगाएका छन् । ‘हामीलाई ड्युटी लैजान्छ । ड्युटी सकिएपछि क्याम्पभित्रै राख्छ । बाहिर निस्किने होइन भनेर उर्दी जारी गरेको छ,’ कुवेतको अल मुत्लामा कार्यरत सिरहाका बिल्टुकुमार साहले भने । साहले काम गर्ने हो । चिनियाँ कम्पनीमा ठूलो संख्यामा चिनियाँले सँगै काम गर्छन् । उनका अनुसार एक साताअघि सरकारी स्वास्थ्य टोलीले सबैको स्वास्थ्य परीक्षण गरेको थियो । ‘सबैको अवस्था ठीक छ भनेपछि नयाँ मान्छे पस्न दिएको छैन,’ उनले भने ।


कोभिड-१९ को संक्रमण कुवेतमा भन्दा बहराइनमा अझ धेरै छ । सोमबारसम्म बहराइनमा ४७ जनामा संक्रमण पुष्टि भइसकेको छ । तर आप्रवासी कामदारमा संक्रमण भइनसकेकाले त्रास कमै छ । बहराइन सरकारले पछिल्लो दुई महिनामा इरान भ्रमणबाट फर्केर आफन्त साथीभाइ भेट्नेलाई खोजेर स्वास्थ्य परीक्षण गरिरहेको छ । बहराइनमा झन्डै २५ हजार नेपाली कार्यरत छन् । इरानमा अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ भने ९ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।


कतारमा सरकारले कोभिड–१९ फैलिन नदिन विशेष ढंगले काम गरिरहेको बताइएको छ । कतारमा इरानबाट फर्केका एक जना र अन्य २ गरी ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसपछि इरानबाट फर्केका सबै नागरिकलाई एउटा होटलमा राखिएको छ,’ हमाद विमानस्थलका एक अधिकारीले कान्तिपुरलाई भने, ‘कोरोना नदेखिएको पुष्टि भएपछि मात्रै घर जान वा काममा फर्किन दिइएको छ ।’ कतारमा झन्डै ३ लाख ७५ हजार नेपाली कार्यरत छन् । कतारमा कार्यरत नेपाली भने त्यति त्रसित देखिँदैनन् । ‘कतार सरकारले विभिन्न समयमा सूचना तथा सन्देशहरू दिइरहेको छ । हामीले त्यसलाई फलो गरिरहेका छौं,’ तनहुँका करिमबक्स मियाँले भने । उनका अनुसार सार्वजनिक स्थलमा भीडभाड खासै घटेको छैन । त्यस्तै ओमानमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


झन्डै ४ लाख कार्यरत साउदी अरबमा भने कोभिड–१९ को संक्रमण देखिएको खबर सार्वजनिक भइसकेको छैन । साउदीको अलकसिम क्षेत्रमा कार्यरत गैरआवासीय नेपाली संघका उपाध्यक्षसमेत रहेका विशाल श्रेष्ठले आफूहरूले सामान्य रूपमै काम गरिरहेको जनाए । ‘विमानस्थलतिर बढी सावधानी अपनाइएको सुनिएको छ । काम गर्ने कामदारलाई खासै मतलब छैन ।’ भिजिट भिसामा आउनेलाई साउदी सरकारले कडाइ गरेको सुनेको उनले बताए ।


डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ का कारण अहिलेसम्म ३ हजार ५२ जनाको मृत्यु भइसकेको छ भने ८८ हजारभन्दा बढी संक्रमित भएका छन् ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?