तिब्बतबाट भागेकालाई संक्रमणको आशंका

कान्तिपुर संवाददाता

हुम्ला — तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण भएको आशंका गरिएको छ । 

तिब्बतबाट भागेकालाई संक्रमणको आशंका

ती युवक ताक्लाकोटबाट हिल्सा हुँदै पाँच हजार मिटर अग्लो नारालेकको हिउँ छिचोलेर घर फर्कने तयारीमा थिए । उनलाई नाम्खा गाउँपालिका–५ स्थित यारी क्षेत्रमा प्रहरीले बिरामी अवस्थामा फेला पारेको थियो । प्रहरीका अनुसार बाक्लो हिमपात छिचोल्दै आएकाले उनको शरीर र अनुहार नीलो भएको छ । ताक्लाकोटबाट भागेर आएका उनलाई खोज्न चिनियाँ प्रहरी हिल्सासम्म आएको थियो ।


कोभिड–१९ को आशंकामा नाम्खा गाउँपालिका–५ मुचुका बासिन्दाले उनलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार गर्न दिएका छैनन् । स्थानीयको अवरोधपछि उनको प्रहरी चौकीनजिकै उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी रामप्रसाद घर्तीमगरले बताए । ‘स्वास्थ्यचौकीमा भर्ना गर्न खोज्दा स्थानीयले अवरोध गरेपछि अन्यत्रै राखेर उपचार भइरहेको छ,’ उनले भने, ‘बिरामीलाई चौबिसै घण्टा प्रहरी र स्वास्थ्यकर्मीको निगरानीमा राखेका छौं ।’


स्थानीय स्वास्थ्यकर्मीले मास्क, उपकरण र औषधिबिनै उनको उपचार गरिरहेको घर्तीले जनाए । उनका अनुसार उपकरण अभावमा ती युवामा कोभिड–१९ भए/नभएको यकिन हुन सकेको छैन । प्रहरीका अनुसार उनी गत जेठमा आफन्तसहित मजदुरीका लागि ताक्लाकोट पुगेका थिए ।

प्रकाशित : फाल्गुन १९, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?