सम्मेलन र भोजभतेर नगर्न सरकारको आग्रह 

फाल्गुन १८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले यस्तो आग्रह गरेको हो । 

आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गर्दै त्यस्तो आग्रह गरेका हुन् । 

सरकारले कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न चरणमा पूर्व तयारी गरिरहेको मन्त्री ढकालले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा खुला सीमानाबाट आउने र जाने प्रत्येक व्यक्तिहरुलाई चेकचााजमा कडाई गर्ने तयारी गरेको उनको भनाइ छ ।

ढकालले देश बाहिर जाने व्यक्तिहरुलाई चेकजाँच गरी कोरोना संक्रमण छैन भनेर एकिन गरेपछि मात्रै पठाउने तयारी पनि सरकारले गरेको बताए । कुनै व्यक्तिमा संक्रमण देखिएमा विभिन्न अस्पतालमा उपचारको आवश्यक व्यवस्था गरिएको ढकालले बताए । 

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जनशक्ति बढाउने तयारी पनि गरेको छ । सरकारको यो निर्णयले आगामी चैतमा हुने भनिएको सगरमाथा सम्वाद पनि प्रभावित हुने देखिएको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully