३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना प्रकोप : २२४७ को मृत्यु, ७६ हजार बढी संक्रमित

एजेन्सी

बेइजिङ — चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विहीबारसम्म ७६ हजारभन्दा बढी मानिसमा फैलिइसकेको छ । भाइरसका कारण हालसम्म चीनमा मात्रै २ हजार २ सय ३६ को मृत्यु भएको छ । 

कोरोना प्रकोप : २२४७ को मृत्यु, ७६ हजार बढी संक्रमित

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार चीनमा थप ११५ जनाको मृत्यु भएको छ ।चीनबाहिर विभिन्‍न मुलुकमा ११ जना गरी काेरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ४७ पुगेको छ । चीनबाहिर जापानमा ३, हङकङ र इरानमा २-२, दक्षिण कोरिया, ताइवान, फ्रान्स र फिलिपिन्समा एक-एक जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या भने निरन्तर घटिरहेको स्वास्थ्य आयोगले जनाएको छ । बिहीबार थप ४११ चिनियाँ नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य आयोगले जनाएको छ । त्यस्तै १८ हजार ४ सय ३८ जना निको भइसकेका छन् ।

कोरोना भाइरसका कारण मध्यपूर्वमा पनि दुई जनाको मृत्यु भएको छ । इरानले कोरोना भाइरस संक्रमित दुई जनाको मृत्यु भएको बताएको हो । उसले बिहीबार थप दुईजनामा कोरोना संक्रमण देखिएको जनाएको छ । बुधबारै हङकङले पनि थप एक ७० वर्षीय पुरुषको मृत्यु भएको जनाएको थियो । फ्रान्स, फिलिपिन्स र ताइवानमा एक–एक जनाको मृत्यु भएको छ ।

क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजमा कोरोना भाइरसको संक्रमण पाइएका थप दुई जापानी नागरिकको मृत्यु भएको अधिकारीले बताएका छन् । दुवै जना ज्येष्ठ नागरिक भएको र उनीहरूको उपचारकै क्रममा मृत्यु भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मृत्यु हुनेमा एक ८७ वर्षीय पुरुष र एक ८४ वर्षीया महिला रहेका जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकका नाम भने सार्वजनिक गरिएको छैन । कोरोना भाइरसका कारण यसअघि जापानमा एक जनाको मृत्यु भएको थियो ।

१४ दिन क्वारेन्टाइनमा राखिएको पानीजहाजमा कम्तीमा ६ सय २१ जनालाई कोरोना संक्रमण पाइएको छ । मुख्य भूमि चीनबाहिर सबैभन्दा धेरै संक्रमित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजमै पाइएका छन् । कोरोना भाइरसका कारण पानीजहाजसहित चीनबाहिर एक हजारभन्दा बढी संक्रमित छन् ।

चीनको अथक प्रयासका बाबजुत पनि कोरोना भाइरस अझै नियन्त्रणमा आउन सकेको छैन । डिसेम्बरमा संक्रमण देखिएयता उसले अथक प्रयास गरिरहेको छ । हालसम्म हुबेई प्रान्तमा मात्रै ४० हजार शय्याको अस्पताल बनाइएको छ । देशका विभिन्न भूभागबाट ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी पठाइएका छन् । भाइरसको उद्गमस्थल वुहानमा ११ हजार ‘इन्टेसिभ केयर’ स्वास्थ्य अधिकारी परिचालन गरिएको छ ।

प्रकोप नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री सन चुन्लानकै नेतृत्वमा केन्द्रीय सरकारको टोली भाइरस प्रभावित वुहानमा खटिएका छन् । स्वास्थ्य टोलीलाई ज्वरो आएका बिरामीको पहिचानमा थप सक्रियता अपनाउन भनिएको छ । हुबेईमा कोरोना प्रभावित गम्भीर प्रकृतिका बिरामीलाई मात्रै हेर्ने गरी १९ हजार १ सय ६१ शय्याका ४५ अस्पताल सञ्चालनमा छन् ।

यसका साथै, जिमखाना, सम्मेलन वा प्रदर्शनी केन्द्रजस्ता ठाउँमा १२ वटा अस्थायी अस्पताल निर्माण गरिएका छन् । मध्यम प्रकृतिका संक्रमितलाई उपचार गर्न बनाइएका त्यस्ता अस्पताल २० हजार शय्या क्षमता छन् । वुहान अझै पनि बन्द अवस्थामै छ । अत्यावश्यकबाहेक अन्य बेला स्थानीयलाई घरबाहिर निस्कन दिइएको छैन भने निजी सवारीसाधन पूर्ण प्रतिबन्धित छन् ।

भाइरस नियन्त्रण तथा रोकथाममा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीकै मृत्यु भएको समाचार आइरहेका बेला चीनले उनीहरूलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । संक्रमित पहिचानका लागि नयाँनयाँ मापदण्ड लागू गरिएका छन् । कतियय विरामीलाई परम्परागत विधिबाट पनि उपचार भइरहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ । हुबेई प्रान्तमा जारी बिदा मार्च १४ सम्मलाई लम्ब्याइएको छ । सरकारी अधिकारीले प्रकोप रोकथाम र नियन्त्रणमा संलग्न वा अत्यावश्यक सार्वजनिक सेवा प्रदायक कम्पनीबाहेकलाई बिदा लम्ब्याउन भनेका हुन् ।

दक्षिण कोरियामा पहिलो मृत्यु

चीनको छिमेकी दक्षिण कोरियाली सहर डाइगुमा कोरोना भाइरसले पहिलोपटक एक जनाको मृत्यु भएको छ । कोरियाभर संक्रमितको संख्या १०४ पुगेको छ । डाइगु सहरमा मात्रै बिहीबार कोरोना भाइरसका थप ३५ संक्रमित पाइएपछि त्यहाँका मेयर क्वोन योङ–जिनले बिहीबार २५ लाख नगरवासीलाई घरभित्रै बस्न भनेका छन् । उनले घरभित्र रहँदा पनि सम्भव भएसम्म मास्क लगाउन आग्रह गरेका छन् । मेयर क्वोनले केन्द्रीय सरकारलाई प्रकोप नियन्त्रणका लागि सहयोग गरिदिन आग्रह पनि गरेका छन् । कोरियाको संक्रामक रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार भाइरस परीक्षण पुष्टि भएका ६३ वर्षीया एक महिलाको बुधबारै मृत्यु भएको हो । उनी एक कार्यक्रममा गएकी थिइन् र उनीबाटै अन्यमा पनि संक्रमण फैलिएको अधिकारीले बताएका छन् ।

आसियन राष्ट्रको ढाडस

लगभग दुई महिनादेखि कोरोना भाइरससँग जुधिरहेको चीनलाई दक्षिणपूर्वी एसियाली राष्ट्रले समर्थन गरेका छन् । ती राष्ट्रसँग भाइरस प्रकोपबारे छलफल गर्न बिहीबार आयोजित विशेष बैठकमा चीनले आफूप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको थियो । प्राणघातक कोरोना भाइरस रोकथाम र नियन्त्रणमा चीनले उपयुक्त कदम नचालेको भन्दै आलोचना भइरहेकै बेला दक्षिणपूर्वी एसियाली राष्ट्रका संगठन (आसियान) सँग भियतनामको राजधानी लाओसमामा विशेष छलफल गरेको हो ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?