कोरोना नियन्त्रणमा खटिएका अधिकारी बर्खास्त

एजेन्सी

बेइजिङ — चीनले कोरोना भाइरस नियन्त्रणमा खटिएका केही वरिष्ठ अधिकारीलाई बर्खास्त गरेको छ । भाइरसको उद्‍गस्थल हुबेई प्रान्तको स्वास्थ्य आयोग प्रमुख झाङ जिन र आयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी सचिव लियु इङ्गीलाई कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै बर्खास्त गरिएको हो । उनीहरूको ठाउँमा राष्ट्रिय स्वास्थ्य आयोगका उपनिर्देशक एवं कम्युनिस्ट पार्टीका प्रान्तीय कमिटी सदस्य वाङ हेसेङलाई ल्याइएको छ ।

कोरोना नियन्त्रणमा खटिएका अधिकारी बर्खास्त

वरिष्ठ अधिकारी झाङ र लियुलाई हटाउनुको ठोस कारणबारे भने दिइएको छैन । ती अधिकारीलाई सत्तारुढ कम्युनिस्ट पार्टीले पनि कारबाही गर्न सक्ने चीनको भ्रष्टाचारविरोधी निकायले जनाएको छ । भाइरसको प्रकोप नियन्त्रणका लागि प्राप्त चन्दा हिनामिना गरेको आशंकामा रेडक्रसका स्थानीय उपनिर्देशक झाङ चीन पनि हटाइएका छन् । वुहानपछि सबैभन्दा धेरै प्रभावित हुआनगाङ सहरस्थित स्वास्थ्य आयोगका प्रमुख पनि पदमुक्त भएका छन् । कोरोना संक्रमण रोकथाममा खटिँदा उचित कार्य नगरेको भन्दै कारबाहीमा पर्नेमध्ये यी वरिष्ठ अधिकारी हुन् । कारोना संक्रमण नियन्त्रणमा प्रशासनले चालेका कदमलाई लिएर चौतर्फी आलोचना बढिरहेकै बेला उच्च अधिकारी कारबाहीमा परेका छन् ।


बेइजिङस्थित केन्द्रीय सरकारले स्थानीय निकायमा रहेर सार्वजनिक सेवाका काम गरिरहेका जो कोहीले आफ्ना कर्तव्य राम्रोसँग पालना नगरेको उदाहरण भए पेस गर्न भनेको छ । उसले आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्नेलाई पदमुक्त गर्ने चेतावनीसमेत दिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।


प्रकोप नियन्त्रणका लागि उचित कार्य गर्न नसकेको भन्दै देशैभर तल्लो तहका दर्जनौं स्वास्थ्य अधिकारी पनि कारबाहीमा परेका छन् । कसैलाई चेतावनी दिइएको छ भने कोहीविरुद्ध अनुसन्धान भइरहेको छ । डिसेम्बरमा भाइरस देखिएसँगै नियन्त्रणमा स्थानीय प्रशासनले चासो नदिएको वा सरकारका उच्च तहमा यसबारे जानकारी नगराएकाले अहिले महामारीको रूप लिएको भन्दै हुबेईका अधिकारीविरुद्ध सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । त्यसरी आलोचित हुनेमा हुबेईका गभर्नर वाङ सियाओडोङ र वुहानका मेयर झोउ सियानवाङ पनि छन् ।

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

फ्लुजस्तै भाइरसबारे गत वर्षको अन्त्यतिर चेतावनी दिएका आठ जनामाथि वुहान सरकारले गरेको व्यवहारप्रति पनि जनआक्रोश छ । कोरोना संक्रमणकै कारण गत शुक्रबार मृत्यु हुने चिकित्सक ली वेनलियाङ पनि सरकारी निसानामा परेका मध्ये एक हुन् । उनले सन् २००३–२००३ मा देखिएको सार्स संक्रमणको जस्तै लक्षण भएका बिरामी भेटिएको भन्दै सचेत रहन सामाजिक सञ्जालको ग्रुप च्याटमा अन्य सात जना साथीलाई भनेका थिए । पछि उनीसहित सातै जनालाई प्रहरीले अफवाह नफैलाउन चेतावनी दिएको थियो ।


सोही विषयलाई लिएर सामाजिक सञ्जालमा स्थानीय सरकारको व्यापक आलोचना भइरहेकै बेला कैयौं अधिकारीलाई पदमुक्त गरिएको छ । साथै, चिकित्सक लीको मृत्यु र उनले उठान गरेका विषयबारे अनुसन्धान गर्न बेइजिङस्थित भ्रष्टाचारविरुद्धको निकायले एउटा टोली वुहान पठाएको छ ।

प्रकाशित : माघ २९, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?