१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी

बेइजिङ — कोरोना भाइरसका कारण चीनमा अर्को एक जना डाक्टरको मृत्यु भएको छ । गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने ३४ वर्षीय डाक्टर ली वेनलियाङको शुक्रबार बिहान मृत्यु भएको हो ।

कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

यसअघि माघ ११ गते हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

वुहान सेन्ट्रल अस्पतालले लीको मृत्यु शुक्रबार बिहान भएको पुष्टि गरे पनि केही चिनियाँ सञ्चारमाध्यमले भने बिहीबार राति नै लीको मृत्यु भएको बताएका थिए ।

‘कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि लड्दै गर्दा हाम्रो अस्पतालका आँखा रोग विशेषज्ञ ली वेनलियाङलाई कोरोना संक्रमण भएको थियो । उनलाई बचाउनका लागि हामीले निकै प्रयास गर्यौं । तर शुक्रबार बिहान २ः५८ मा उनको मृत्यु भयो,’ अस्पतालले विज्ञप्तिमार्फत भनेको छ ।

घन्टौंसम्म लीको मृत्युका बारेमा विभिन्न समाचार आइसकेका थिए । अस्पतालले लीको अवस्था अत्यन्तै गम्भीर भएको तर मृत्यु नभएको भन्ने विज्ञप्ति प्रकाशित गरेपछि केही चिनियाँ सञ्चार माध्यमले पहिले गरेका ट्वीट हटाएका थिए । अस्पतालले पछि मात्रै लीको मृत्यु पुष्टि गरेको हो ।

वुहानका ‘ह्विसलब्लोअर’

लीले भाइरसको प्रकोपका बारेमा चेतावनी दिएका थिए, तर त्यही भाइरसले उनकै ज्यान लियो । डिसेम्बरमा उनले मेडिकल कलेजको एलुम्नाई ग्रुपमा यसको बारेमा जानकारी गराएका थिए । वीच्याटमा उनले सिफुडका कारण सात जना बिरामी भएको र यसको लक्षण सार्सको जस्तो भएको उनले बताएका थिए । उनले ती सात जनालाई वुहान अस्पतालमा राखिएको पनि बताएका थिए ।

पछि वुहान प्रहरीले लीले हल्ला फैलाएको आरोप लगायो । लीलगायत अन्य केही स्वास्थ्यकर्मीलाई पनि प्रहरीले अनावश्यक हल्ला फैलाएको आरोप लगायो । ली जनवरी १२ मा अस्पताल भर्ना भएका थिए । फेब्रुअरी १ मा उनमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।

सामाजिक सञ्जालमा आक्रोश

लीको मृत्युपछि सामाजिक सञ्जालमा चिनियाँ नागरिकले आक्रोश पोखेका छन् । ‘डाक्टर लीको मृत्युमा वुहान सरकारले माफी माग्नुपर्छ’, ‘हामी अभिव्यक्ति स्वतन्त्रता चाहन्छौं’, लगायतका पोस्टहरु चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ट्रेन्डिङमा छ ।

वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म ६१८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै झन्डै २९ हजार कोरोनाबाट संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार अहिलेसम्म एक हजार ३ सय ४१ जना निको भइसकेका छन् ।

प्रकाशित : माघ २४, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?