सरकारका प्रवक्ताले चीनमा उद्धारको पर्खाइमा रहेकालाई भने- ‘समय लाग्छ, धैर्य गर्नुस्’

माघ २३, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चीनमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार चाँडै नै गर्ने बताएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालमा सबै कुराको प्रबन्ध हुने बित्तिकै उद्धार गर्ने र केही समय धैर्य गर्न आग्रह गरेका छन् ।

उनले भने, 'चीनले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको स्वास्थ्य सुरक्षामा आफ्ना नागरिकसरह संवेदनशील रहेको हामीलाई आश्वास्त पारेको छ । त्यहाँ रहेका सबै नेपालीहरु सुरक्षित छन् ।  '


उनले चीनमा रहेका नेपालीहरुको जीवन रक्षाको जिम्मेवारी सरकारको पनि भएकाले यसमा गम्भीर भएको बताए । उनले उद्धार गरेर ल्याइने नेपालीहरुबाट असुरक्षा हुन्छ जस्तोगरी जीवन खतरा पर्छ भन्ने 'सेन्सेसन' पैदा नगरिदन अनुरोध समेत गरेका छन् ।

अत्याशमा र एक्लो परेको अनभूति भएकाहरुको साथमा सरकार रहेको मन्त्री बाँस्कोटाले बताए । कोरोना विरुद्ध लड्न सबैको आँटिलो साथ चाहिने उनको भनाइ छ । 


मन्त्री बाँस्कोटाले चीनबाट उद्धार गरेर ल्याइनेहरुलाई १४ दिनसम्म आइसोलसेनमा राख्‍ने र यसको तयारी तीव्र भइरहेको जानकारी दिए ।


'सरकारले कुन ठाउँ उपयुक्त हुन्छ भनेर खोज्दैछौँ । उहाँहरुलाई १४ दिनसम्म राख्नपर्छ । एयरपोर्टदेखि जाने ठाउँसम्मको व्यवस्थापन गर्नुपर्ने हुन्छ । परिवारमा सटक्कै जान सक्ने अवस्था हुँदैन,' मन्त्री बाँस्कोटाले भने,'आइसोलेसन कक्ष,मेडिकल कक्ष लगायतका व्यवस्थापन गर्नुपर्छ । हाम्रोमा सबै मानवले गर्नुपर्छ, चीनमा रोबर्टबाट काम भइरहेको छ ।'

यस्तै मन्त्री बाँस्कोटाले उद्धार गरेर ल्याइनेहरुका लागि लक्षित गरेर ३ सय शैय्याको व्यवस्थापन मिलाउने काम तत्काल काम थाल्ने बताए ।  


मन्त्री बाँस्कोटाले चीनले नेपाली विद्यार्थीहरुलाई नियमित निगरानीमा राखिएको बताए । उनले चीनस्थित नेपाली दूतावासले नियमित समन्वय गरेको र उनीहरुलाई नेपाल ल्याएर सुरक्षित बनाउने काम गरिरहेको बताए । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully