वुहान — चीनको वुहानमा दुई जना नवजात शिशुलाई कोरोना भाइरसको संक्रमण भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार जन्मिएको ३० घण्टामा एक नवजात शिशुलाई कोरोना संक्रमण भएको हो ।
शिशुका आमालाई पनि संक्रमण भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । अर्को शिुशु पनि भर्खरै जन्मिएको बताइए पनि उनी कति दिनका थिए भन्नेबारे जानकारी दिइएको छैन ।कोरोना भाइरसको संक्रमण विशेषगरी पाका उमेरका व्यक्तिलाई भइरहेको तथ्यांक आइरहँदा नवजात शिशुमा पनि संक्रमण देखिएको हो । यसअघि ३६ वर्षका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देेखिएको थियो ।
An infant in #Wuhan has tested positive for the novel #coronavirus just 30 hours after birth, said the city's children's hospital, raising concerns that infection could be contracted in the womb pic.twitter.com/j8FIdqKgAS
ती शिशुलाई कोरोनाको संक्रमण कसरी भयो भन्नेबारे आधिकारिक जानकारी आएको छैन । जन्मिएको केही दिनपछि शिशुमा कोरोना भाइरसको संक्रमण देखिएकाले आमाकै पाठेघरबाट संक्रमण भयो वा बाहिरै आमाको कफ, स्तनपानलगायतका क्रियाकलापबाट संक्रमण भयो भन्न नसकिने बेलायतको युनिभर्सिटी अफ इस्ट एंगिलाकी मेडिकल प्रोफेसर पल हन्टर बताउँछन् । विस्तृत अध्ययनपछि मात्रै यसबारेमा भन्न सकिने प्रोफेसर हन्टर बताउँछन् ।
वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई दर्जनभन्दा बढी मुलुकमा पुगिसकेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण ५६५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २८ हजारभन्दा बढी संक्रमित भएका छन् ।
