कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !

गोविन्द पोखरेल

काठमाडौँ — चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयलाई पत्र लेख्‍दै चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सहरी विकास मन्‍त्रालयको भवनहरुमा नराख्‍न अनुरोध गरेको छ । 

वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !

नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारीद्वारा हस्ताक्षार गरिएको पत्रमा वडा नम्बर १ मा रहेको उक्त भवन घना बसोबास भएको क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई त्यहाँ नराख्‍ने व्यवस्था मिलाइदिन भन्दै मन्‍त्रालयलाई पत्र लेखेकी हुन् । नगरपालिकाले लेखेको उक्त पत्रमा प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालयलाई बोधार्थ दिइएको छ ।


नगरपालिकाकी उपप्रमुख अधिकारीले भने सञ्चारमाध्यमहरुमा वडा नम्बर १ मा रहेको भवन तथा सहरी विकास मन्‍त्रालयको भवनमा उद्धार गरिएकाहरुलाई राख्‍ने सम्भावित ठाउँ भनेर लेखेपछि उक्त स्थान उपयुक्त नभएकाले मन्‍त्रालयलाई पत्र लेखेको बताइन् । उनले उक्त भवन पुरानो,जीर्ण,सरसफाई नगरिकएको र घना वस्तीको नजिक भएकाले उपयुक्त नभएको बताइन् ।


उनले भनिन्,'यो ठाउँ उपयुक्त छैन । मिडियाहरुमा समाचार आएपछि जनता वडा र नगर कार्यपालिकाको कार्यालयमा आएर राख्‍न दिनु हुँदैन भन्दै हामीलाई दबाब दिए । नगरपालिकाले आफ्‍नो नगरका जनताको कुरा सुन्‍ने भएकाले उनीहरुको माग बमोजिम पत्र लेखिएको हो । '


उपप्रमुख अधिकारीले नगरपालिकाले जनताको आवाज बोलेको प्रतिक्रिया दिइन् । उनले जीर्ण भवनमा रोगी राख्‍ने ठाउँ पनि नभएको बताइन् ।


कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी सरकारले गरेको छ । त्यहाँ रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ । स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने तयारी सरकरको छ ।


चीनबाट फर्किने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी सरकारले गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकले खरिपाटीलाई सम्भावित स्थलका रुपमा छनोट गरेको थियो । सो बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको थियो ।


उक्त निर्णयको विरोधमा नेपाली कांग्रेस क्षेत्र नम्बर-१, भक्तपुर क्षेत्रीय कार्यसमितिले बैठक नै राखेर नोवल कोरोना भाइरसको केन्द्रबाट उद्धार गरी ल्याइएका नेपालीलाई बोडेस्थित कृषि तालिम केन्द्र वा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्‍न चेतावनी दिएको छ।

प्रकाशित : माघ २२, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?