वुहानबाट ल्याइने नेपालीलाई नागार्जुनमा निषेध !

माघ २२, २०७६

गोविन्द पोखरेल

काठमाडौँ — चीनको वुहानबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई नागार्जुन नगरपालिकाले आफ्‍नो नगरपालिकाभित्र राख्‍न नदिने निर्णय गरेको छ । नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयलाई पत्र लेख्‍दै चीनबाट उद्धार गरी ल्याइने नेपालीहरुलाई सहरी विकास मन्‍त्रालयको भवनहरुमा नराख्‍न अनुरोध गरेको छ । 

नगरपालिकाकी उपप्रमुख सुशिला अधिकारीद्वारा हस्ताक्षार गरिएको पत्रमा वडा नम्बर १ मा रहेको उक्त भवन घना बसोबास भएको क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई त्यहाँ नराख्‍ने व्यवस्था मिलाइदिन भन्दै मन्‍त्रालयलाई पत्र लेखेकी हुन् । नगरपालिकाले लेखेको उक्त पत्रमा प्रधानमन्‍त्री तथा मन्‍त्रिपरिषद्को कार्यालयलाई बोधार्थ दिइएको छ । 


नगरपालिकाकी उपप्रमुख अधिकारीले भने सञ्चारमाध्यमहरुमा वडा नम्बर १ मा रहेको भवन तथा सहरी विकास मन्‍त्रालयको भवनमा उद्धार गरिएकाहरुलाई राख्‍ने सम्भावित ठाउँ भनेर लेखेपछि उक्त स्थान उपयुक्त नभएकाले मन्‍त्रालयलाई पत्र लेखेको बताइन् । उनले उक्त भवन पुरानो,जीर्ण,सरसफाई नगरिकएको र घना वस्तीको नजिक भएकाले उपयुक्त नभएको बताइन् । 


उनले भनिन्,'यो ठाउँ उपयुक्त छैन । मिडियाहरुमा समाचार आएपछि जनता वडा र नगर कार्यपालिकाको कार्यालयमा आएर राख्‍न दिनु हुँदैन भन्दै हामीलाई दबाब दिए । नगरपालिकाले आफ्‍नो नगरका जनताको कुरा सुन्‍ने भएकाले उनीहरुको माग बमोजिम पत्र लेखिएको हो । '


उपप्रमुख अधिकारीले नगरपालिकाले जनताको आवाज बोलेको प्रतिक्रिया दिइन् । उनले जीर्ण भवनमा रोगी राख्‍ने ठाउँ पनि नभएको बताइन् । 


कोरोना भाइरसको संक्रमण फैलिएको चीनको हुबेइ प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउने तयारी सरकारले गरेको छ । त्यहाँ रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काइँदैछ । स्वदेश फर्काएपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने तयारी सरकरको छ । 


चीनबाट फर्किने नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राख्‍ने तयारी सरकारले गरेको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको सुरक्षा निकायका प्रमुखहरु सहभागी बैठकले खरिपाटीलाई सम्भावित स्थलका रुपमा छनोट गरेको थियो । सो बैठकले तालिम केन्द्रको पूर्वाधार र अन्य वस्तुस्थितिबारे निरीक्षण गरेर अन्तिम टुंगो लगाउने पनि निर्णय गरेको थियो । 


उक्त निर्णयको विरोधमा नेपाली कांग्रेस क्षेत्र नम्बर-१, भक्तपुर क्षेत्रीय कार्यसमितिले बैठक नै राखेर नोवल कोरोना भाइरसको केन्द्रबाट उद्धार गरी ल्याइएका नेपालीलाई बोडेस्थित कृषि तालिम केन्द्र वा खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा नराख्‍न चेतावनी दिएको छ।

कोरोना भाइरस

गोविन्द पोखरेल विज्ञान, वन, वातावरण, प्रविधि लगायतका क्षेत्रमा कलम चलाउँछन् ।

Link copied successfully