१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोना प्रकोप : चीनमा एकैदिन ६५ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

एजेन्सी

बेइजिङ — चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण चीनमा मंगलबार मात्रै ६५ जनाको मृत्यु भएको जनाएको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै कोरोना भाइरसका कारण ४९० जनाको मृत्यु भइसकेको छ । त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ ।

कोरोना प्रकोप : चीनमा एकैदिन ६५ जनाको मृत्यु, २४ हजार बढी संक्रमित

मंगलबार मात्रै थप ३ हजार ९ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा २४ हजार ३ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ । चीनबाहिर झन्डै १८० जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै चीनले कोरोना भाइरस संक्रमितमध्ये ९११ जना निको भएको जनाएको छ ।


चीनद्वारा कमजोरी स्वीकार

प्राणघातक नोवल कोरोना भाइरस प्रकोप रोकथाम तथा नियन्त्रणमा ‘कमजोरी भएको’ चीनले स्विकारेको छ ।


सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटी बैठकले भाइरस नियन्त्रणमा उचित कदम चाल्न नसकेको जनाएको हो । देशको आपत्‌कालीन व्यवस्थापन प्रणालीमा सुधारको आवश्यकता रहेको समेत उसले बताएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च राजनीतिक अंगले विरलै यस प्रकारको अभिव्यक्ति दिन्छ ।


वन्यजन्तुको गैरकानुनी बजारलाई पूर्ण बन्द गर्न पनि पोलिटब्युरोले निर्देशन दिएको छ । कोरोनाको संक्रमण वन्यजन्तुको गैरकानुनी बजारबाटै सुरु भएको अनुमानकै बीच पछिल्लो निर्देशन आएको हो । ‘यस्ता कमजोरी हटाउन आपत्कालीन व्यवस्थापन प्रणालीलाई सुधार गर्नुपर्छ र जटिल कार्य सम्हाल्न राष्ट्रिय क्षमतामा सुधार गर्नुपर्छ,’ पोलिटब्युरोले भनेको छ ।


बजार अनुगमन बलियो बनाउन पनि निर्देशन दिइएको छ । भाइरसलाई लिएर सरकारको सुरुवाती कदमबारे चीनमा व्यापक आलोचना भइरहेको छ । अधिकारीहरूले सुरुमा भाइरस संक्रमणलाई गम्भीर रूपमा नलिएको र केही अवस्थामा सूचना लुकाएको आरोप खेपिरहेका छन् ।


गत वर्ष वुहानस्थित एक चिकित्सकले आफ्ना सहकर्मीलाई भाइरस प्रकोपबारे सचेत गराउन खोज्दा उनीमाथि ‘झूटा प्रतिक्रिया दिएको’ आरोप लगाइएको थियो । प्रहरीले ती चिकित्सकलाई ‘गैरकानुनी गतिविधि’ रोक्नसमेत भनेका थिए । भाइरस संक्रमण तीव्र भएपछि मात्रै चीनले हुबेई प्रान्तमा यातायातलगायत मानिसको भीडभाड हुने सबै क्षेत्र बन्द गरेको थियो ।

संक्रमण फैलन नदिन भन्दै चीन स्वशासित विश्वकै ठूलो ‘ग्यामब्लिङ हब’ मकाउले दुई साताका लागि सहरभित्रका सबै क्यासिनो बन्द गरेको छ ।


यसैबीच, भाइरसबाट धेरै प्रभावित वुहानमा जिम्नासियम हल, प्रदर्शनी केन्द्र र सांस्कृतिक कम्प्लेक्सलाई पनि अस्थायी अस्पतालमा रुपान्तरण गरिएको छ । ती क्षेत्रमा ३ हजार ४ सय शय्याको अस्थायी अस्पताल बनाइएको छ, जसमा साधारण संक्रमितलाई राखिने चाङजियाङ डेलीले उल्लेख गरेको छ ।


चीनले विश्वका अन्य देशलाई पनि यो प्रकोपमा सहयोग गर्न आग्रह गरिरहेको छ । उसले सोमबारमात्रै अमेरिकामाथि अनावश्यक त्रास फैलाएको आरोप लगाएको थियो । तर मंगलबार भने अमेरिकाले दिने सहयोग लिने उसले बताएको छ । भाइरसको अध्ययन र रोकथामका लागि विश्व स्वास्थ्य संगठनले नेतृत्व गर्ने ‘मिसन’ मा अमेरिकी विज्ञ पनि राख्न गरिएको अनुरोधलाई चीनले स्वीकारेको ह्वाइटहाउसले पुष्टि गरेको छ ।


अफवाह फैलाउने नियन्त्रणमा

कोरोना भाइरसबारे विश्व स्वास्थ्य संगठन र चिनियाँ अधिकारीले दिएका विवरणबाहेक अन्य विवरण काल्पनिक भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध एसियाका केही सरकारले आक्रामक कदम चालेका छन् ।


अनावश्यक अफवाह फैलाएको आरोपमा मलेसिया, भारत, थाइल्यान्ड, इन्डोनेसिया र हङकङमा कम्तीमा १६ जना पक्राउ परेका छन् । केही राष्ट्रले जरिवाना लगाएका छन् । केहीले ‘झूटा समाचारविरुद्धको कानुन’ लागू गरेका छन् । सिंगापुरले विवादित ‘झूटा समाचार’ कानुनलाई कार्यान्वयनमा ल्याएको छ । जसले, सामाजिक सञ्जाल प्रयोगकर्तालाई कोरोना भाइरसबारे नकारात्मक अफवाह फैलाउन रोक लगाउनेछ ।


भारतमा कम्तीमा ५ जना पक्राउ परेका छन् । दक्षिणपश्चिमी राज्य केरलाका ती व्यक्तिलाई ह्वाट्सएपमा गलत सन्देश प्रवाह गरेको आरोपमा पक्राउ गरी जमानतमा छोडिएको भारतीय अधिकारीले बताएका छन् । झूटा समाचार फैलाएको आरोपमा मलेसियामा ६ जनालाई पक्राउ गरिएको छ । भियतनाममा कम्तीमा ९ जनालाई जरिवाना गरिएको छ भने ३ जना सेलिब्रेटीलाई सामाजिक सञ्जालमा उनीहरूले राखेका पछिल्ला विवरणबारे प्रस्ट्याउन भनिएको छ ।


थाइल्यान्डले ‘एन्टी फेक न्युज सेन्टर’ सुचारु गरेको छ, जसले कोरोनाबारे गलत विवरण सार्वजनिक गर्नेको लगत राखिरहेको अधिकारीले बताएका छन् । दक्षिण कोरिया र इन्डोनेसियाले पनि सामाजिक सञ्जालमा गलत विवरण सार्वजनिक गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित : माघ २२, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?