चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण छैन: चिनियाँ राजदूत 

माघ २१, २०७६

जगदिश्वर पाण्डे

काठमाडौँ — चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका कुनैपनि नेपालीमा कोरोना संक्रमण नभएको बताएकी छन् । चिनियाँ दूतावासले मंगलबार सञ्चार माध्यमलाई दिएको जानकारीमा राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको प्रष्ट पारेकी छन् । उनले चीनमा रहेका सबै नेपालीहरू सुरक्षित रहेको बताइन् । 

उनले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन बेइजिङमा रहेको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र वुहानमा रहेका नेपाली विद्यार्थीको कठिन अवस्थालाई समाधान गर्न सहयोग गरेको पनि बताइन् ।


चीनको हुबेइ प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको फैलिएको हो । त्यहाँ रहेका करिब १ सय ८० नेपाली विद्यर्थाीहरूले बेइजिङस्थित नेपाली राजदूतावासमा नेपाल फर्कनका लागि आवेदन दिएका छन् । राजदूत होउले सम्बन्धित प्रान्त र सहरमा विदेश मन्त्रालयले अधिकारीहरू तथा सम्बन्धित विश्वविद्यालयहरूले विद्यार्थीहरुलाई उचित बसोबासको व्यवस्था मिलाएको पनि बताइन् ।


यस्तै, राजदूत होउले नेपाल सरकारले आफ्ना नागरिकलाई चीनबाट ल्याउने योजना बनाएको भए चीनले आवश्यक सहयोग गर्ने तर त्यसको लागि आवश्यक पर्ने सम्पूर्ण कुराहरुको तयारी गर्नुपर्ने बताइन् । ‘यदि नेपाली पक्षले आफ्ना नागरिकहरुलाई ल्याउने भए, हाम्रो सल्लाह के छ भने नेपालको सम्बन्धित पक्षले पूर्ण रुपमा तयारी भइ विमानस्थलमा क्वारेन्टाइन, भाइरसको रक्षा र नियन्त्रणसहित नेपालमा हरेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सल्लाह अनुसार काम गर्नुपर्छ,’ उनले भनेकी छन्।


उनले केही नेपालीलाई चीनबाट उड्न रोकिएको सम्बन्धमा पनि प्रष्ट पारेकी छन् । ‘उनीहरूको स्वास्थ्यको तापक्रम सामान्यभन्दा बढी रहेको भेटियो । जसले गर्दा उनीहरुको यात्रालाई पछि धकेल्नुपर्ने भयो। किनकी उनीहरूको स्वास्थ्य मुख्य कुरा हो,’ होउले भनेकी छन्,‘उनीहरूसँगै अन्य व्यक्तिहरूको स्वास्थ्यको कुरा पनि हो । जुन अन्तर्राष्ट्रिय चलन अनुसार छ ।’


नेपालमा रहेको विश्व स्वास्थ्य संगठनको प्रतिनिधिसँग पनि राजदूतावास नजिकमा रहेको उल्लेख गर्दै उनले दूतावासका केही कर्मचारीहरूलाई संयुक्त कार्य समूह गठन गरी नेपालका सम्बन्धित विभागहरूसँग सूचना आदान–प्रदान गर्दै भाइरसलाई नियन्त्रण गर्न संयुक्त पहल गर्न लागिसकेको बताइन्।

जगदिश्वर

Link copied successfully