प्रदेश १ का ७ अस्पतालमा ‘आइसोलेटेड बेड’ राख्‍ने तयारी

माघ २१, २०७६

कान्तिपुर संवाददाता

मोरङ — प्रदेश १ सरकारले सात अस्पतालमा नोवल कोरानाका शंकास्पद संक्रमित राख्न ‘आइसोलेटेड बेड’को व्यवस्था गर्ने भएको छ ।

कोसी, मेची, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीएन्डसी, विराट र नोबेल मेडिकल कलेजमा आइसोलेटेड बेडको व्यवस्थापन गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।

‘प्रदेशका १४ वटै जिल्लामा संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सतकर्ता अपनाइनेछ,’ उनले भने, ‘चीनले सीमा नाका बन्द गरेकाले ताप्लेजुङ र संखुवासभामा खाद्यान्नलगायतको अभाव हुन नदिन प्रमुख जिल्ला अधिकारीहरूलाई समन्वय र सहकार्य गर्न पनि निर्देशन दिइएको छ ।’

सामाजिक विकास मन्त्रालयले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसमेत निर्णय गरिएको उनले जानकारी गराए ।

कान्तिपुर

Link copied successfully