कोरोना भाइरस प्रकोप : मृतकको संख्या ४२६ पुग्यो, २० हजारभन्दा बढी संक्रमित

माघ २१, २०७६

एजेन्सी

बेइजिङ — चिनियाँ अधिकारीहरुका अनुसार सोमबार कोरोना भाइरसका कारण थप ६४ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको छ । त्यस्तै फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो । सोमबार मात्रै थप दुई हजार ३ सय ४५ मा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

चीनमा मात्रै २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् । सोमबारसाँझसम्म चीनमा मात्रै २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ ।

अमेरिका–चीन तनाव

कोरोना भाइरसबारे अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ । पटक–पटक सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अमेरिकाले सहयोगभन्दा बढी त्रास फैलाएको चिनियाँ विदेश मन्त्रालयले आरोप लगाएको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले जतिसक्दो छिटो अमेरिकाले सहयोगको हात अगाडि बढाउने विश्वास व्यक्त गरिन् ।

आपत्‌का बेला सहयोग गर्नुको साटो अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनले बताएको छ । वासिङ्टनले ‘निरन्तर त्रास उत्पन्न गराउँदै भ्रम फैलाइरहेको छ,’ सोमबार राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चुनिङले बताइन् । उनले विश्व स्वास्थ्य संगठनले व्यापार र यात्रा प्रतिबन्ध नगर्न गरेको आग्रह स्मरण गर्न पनि आह्वान गरेकी छन् ।

दुःखद् घडीमा सहयोग गर्नुको साटो अमेरिकाले ‘त्रास’ फैलाइरहेको छ : चीन

‘विश्व स्वास्थ्य संगठनको सुझावविपरीत प्रकोप रोकथाम गर्न सक्षम अमरिकाजस्तो देशले प्रतिबन्ध लगाउने कार्यको नेतृत्व गरेको छ,’ जवाफयोग्य, शान्त र विज्ञान आधारित विषयवस्तुमा ध्यान दिन आग्रह गर्दै प्रवक्ता ह्वाले बताइन् । 

अमेरिकाले गत शुक्रबार कोरोना भाइरसको संक्रमण रोक्ने भन्दै ‘स्वास्थ्य आपत्काल लगाएको’ थियो । उसले चीन हुँदै अमेरिका प्रवेश गर्ने र सबै चिनियाँ नागरिकलाई कम्तीमा दुई साता प्रतिबन्ध गर्ने घोषणा गरेको थियो । आफ्ना नागरिक र उनीहरूका आफन्तका लागि भने स्वदेश फर्किएपछि १४ दिन विशेष निगरानीमा बस्नुपर्ने वासिङ्टनले जनाएको छ । दुई देशबीच एक वर्षभन्दा बढी समयदेखि चलेको व्यापार युद्ध केही मत्थर भएकै बेला फेरि तनाव बढ्ने देखिएको छ ।

नोवल कोरोना संक्रमण : चीनबाट ल्याएपछि १४ दिन निगरानीमा

यसैबीच विश्‍व स्वास्थ्य स‌ंगठनका प्रमुख टेड्रोस अधानोमले भने अन्तर्राष्ट्रिय यात्रा र व्यापारमै प्रतिबन्ध लगाउनुपर्ने अवस्था नभएको प्रतिक्रिया दिएका छन् । उनले सबै देशलाई प्रमाणका आधारमा कदम चाल्न र अभिव्यक्ति दिन पनि आग्रह गरेका छन् । 

हवाई सेवा सुरु

पाकिस्तानले चीनसँग तीन दिनअघि स्थगन गरेको हवाई सेवा सुचारु गरेको छ । हवाई सेवा सुचारु गरिएकोबारे सोमबार जानकारी दिँदै पाकिस्तानी नागरिक उड्डयनका उपसचिव अब्दुल सट्टार खोकरले भने, ‘हामीले चीनसँगको हवाई यात्रा सुचारु गरेका छौं । १ सय ४५ जना यात्रु बोकेको चाइना साउर्दन एयरलाइन्सको विमान सोमबार बिहान ९ बजे इस्लामाबादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।’

कोरोना संक्रमित महिलाले स्वस्थ शिशु जन्माइन्

दुवैतर्फको उडान सुचारु भएको उनले बताए । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणलाई लिएर विश्वव्यापी आपत्काल घोषणा गरेको एक दिनपछि गत शुक्रबार पाकिस्तानले दुवैतर्फबाट हुने उडान स्थगित गरेको थियो ।  हवाई सेवा सुचारु गर्ने पाकिस्तानको कदम अन्य देशका लागि पाठ हुन सक्ने चिनियाँ अधिकारीले बताएका छन् । कोरोना भाइरस संक्रमणमा वृद्धि भएसँगै कैयौं एयरलाइन्सले चीनमा उडान नगर्ने घोषणा गरेका छन् । 

एजेन्सी

Link copied successfully