दुःखद् घडीमा सहयोग गर्नुको साटो अमेरिकाले ‘त्रास’ फैलाइरहेको छ : चीन

माघ २०, २०७६

एजेन्सी

बेइजिङ — अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो । सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ ।

‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन । उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन् । 

 

अमेरिकाले शुक्रबार स्वास्थ्य संकटकाल घोषणा गर्दै पछिल्लो समय चीन भ्रमण गरेका सबै विदेशी नागरिकको प्रवेशमा रोक लगाएको थियो । अमेरिकी प्रतिबन्ध आफ्नै नागरिकमाथि पनि लाग्नेछ । कोरोना भाइरसको उद्गमस्थल रहेको हुबेईबाट फर्कने अमेरिकी नागरिकले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा निगरानीमा बस्नुपर्छ । सोमबारसम्म अमेरिकामा ११ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । वुहानबाट सुरु भएको कोरोनाको प्रकोप अहिले विश्वका २७ मुलुकमा फैलिइसकेको छ ।

 

कोरोना संक्रमितको उपचारका लागि १० दिनमा चीनले बनायो यस्तो अस्पताल

यसअघि चीनले अमेरिकी व्यापार सचिव विल्बर रोसको अभिव्यक्तिको कडा आलोचना गरेकाे थियो । रोसले कोरोना भाइरसका कारण अमेरिकामा थप रोजगार सिर्जना हुने विवादास्पद अभिव्यक्ति दिएका थिए । चीनले अमेरिकीले दुःखद घडीमा सहयोग गर्नुको साटो गलत उदाहरण स्थापना गरेको बताएको थियो ।  

कोरोना भाइरस प्रकोप : मृतकको संख्या ३६२ पुग्यो, चीनमा मात्रै १७ हजार संक्रमित

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ । अहिलेसम्म कोरोना भाइरसका कारण ३६२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १७ हजारभन्दा बढीमा यसको संक्रमण भएको छ । 

 

आइतबार चीनबाहिरत पहिलो पटक फिलिपिन्समा कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको थियो । 

एजेन्सी

Link copied successfully